काठमाडौं । नेपालमा दलित समुदायभित्रका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारलाई मूल प्रवाहीकरण गर्ने उद्देश्यले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) मा कला कार्यशाला सम्पन्न भएको छ । सामरी उत्थान सेवाको आयोजना र प्रतिष्ठानको हस्तकला विभाग र समसामयिक चित्रकला विभागको सहकार्यमा ‘जात व्यवस्था र यौनिकता : कला प्रतिरोध’ शीर्षकमा दुईदिने चित्रकला कार्यशाला भएको हो ।
कार्यशालाको शुभारम्भ गर्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलामार्फत सामाजिक जागरण ल्याउन कार्यशाला सफल हुने विचार व्यक्त गरे । उनले भने, ‘दलित समुदायले विशेष रुपान्तरण खोजेका छन्, कार्यशालामा पक्कै पनि यस्ता प्रकारका बिम्ब आउने छन् । कार्यशालाले जनचेतना फैलाउने आशा राख्न सकिन्छ । साथै कलामार्फत समानता र सरलताको स्थान बनाउनुपर्दछ र त्यसको सशक्त माध्यम कला हो ।’
पूर्वराजदूत पदम सुन्दासले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले यस किसिमको कार्यक्रम गरेकोमा खुसी व्यक्त गर्दै कार्यशालाले दलितको भावनालाई समेट्ने बताए । उनले कलाकारले सोहीअनुसार चित्रको निर्माण गर्ने अपेक्षा आफूले राखेको बताए । प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले सामाजिक विभेदका बारेमा कलाले बोल्नुपर्ने र चित्रमार्फत मानव प्रवृत्ति, जात व्यवस्था र यसले समाजमा पारेको प्रभावलाई सम्बोधन गर्ने बताए ।
प्राज्ञपरिषद् सदस्य एवं हस्तकला विभाग प्रमुख अरुणा हिङ्माङले दलित र परलैङ्गिक समुदाय पनि यो समाजको हिस्सा भएको तथा उनीहरूलाई पनि समान व्यवहार गरिनुपर्नेमा जोड दिइन् । उनले उनीहरूका आवाजलाई स्थान दिन आयोजना गरिएको दुईदिने कार्यशाला प्रभावकारी हुने जिकिर गरिन् ।
प्राज्ञपरिषद् सदस्य सञ्जय वान्तवाले समाजमा व्याप्त विभेद अन्त्य गर्न कलामार्फत चालिएको अभियान सार्थक बन्ने विचार व्यक्त गरे । उनले पानीभित्रका अनेकन बिम्ब र त्यसले अवरोध सिर्जना गरेका सामाजिक कूरीति तथा कुसंस्कार धेरै भएकाले कलामार्फत कुसंस्कार हटाउने अभियानमा अगाडि बढ्नुपर्नेमा जोड दिए । सामरी उत्थान सेवाका अध्यक्ष विमला गायकले आफूले विभिन्न सङ्घसंस्थामा बसेर काम गर्दा भोगेको तीतो यथार्थ बताउँदै प्रतिष्ठानसँग मिलेर महत्वपूर्ण काम गर्न पाउँदा खुसी लागेको बताइन् । कार्यशालामा २५ कलाकारले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया