राष्ट्र बैंकको गलत नीतिका कारण पुँजीबजारका लगानीकर्ताले खर्बौं रकम गुमाइरहेक छन् : हरि ढकाल

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले राष्ट्रि बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्रीको कुरा पनि सुन्न छोडेको बताएका छन् । गभर्नर अधिकारी सरकार र अर्थ मन्त्रालय मातहत हो कि कसको भन्ने प्रश्न सांसद ढकालले गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद ढकालले राष्ट्र बैंकका गभर्नर लगायतका नियामक निकायहरूलाई राज्यको नियन्त्रणमा राख्नुपर्ने बताए । राष्ट्र बैंकको गलत नीतिका कारण पुँजीबजारका लगानीकर्ताले महिनामै खर्बौं रकम गुमाइरहेको उनको भनाइ थियो ।

उनले भने, ‘अर्थमन्त्रीले भन्नुहुन्छ, मैले भन्या गभर्नरले टेर्नुहुन्न । कसले चलाउने हो गभर्नर ? गज्जब छ यो ! कसले हो नियामक निकाय चलाउने, अर्थ मन्त्रालयले हो कि राष्ट्र बैंकले हो ? को हो ठूलो ?’ मुलुक आर्थिक मन्दीमा गइरहेको तर अर्थ मन्त्रालय र राष्ट्र बैंकले त्यसतर्फ ध्यान नदिएको सांसद ढकालको भनाइ थियो । ‘देशको आर्थिक अवस्थाको बारेमा सदनमा विभिन्न समयमा सांसदहरूले आवाज उठाइरहेका छन् । देश आर्थिक मन्दीमा जाँदैछ, धसिँदैछ । आर्थिक मन्दिमा जाँदैछ भनेर सुझाव अर्थ मन्त्रालयमा दिँदा सुनुवाइ हुने गरेको छैन । नियामक निकायहरूले सुन्ने गरेका छैनन्,’ उनले भने, ‘लगानी योग्य रकम प्रशस्त छ । लगानीयोग्य रकम प्रशस्त हुँदाहुँदै लगानी हुन सकेको छैन । बैंकहरूको अस्वस्थ प्रतिस्पर्धा र राष्ट्र बैंकको गलत नीतिले लगानी हुन सकेको छैन ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले सेयर बजारमा लगाएको १२ करोडको ‘क्याप’को प्रसंग उठाएको तर गभर्नर महाप्रसाद अधिकारीले लगाएको कुरा उल्लेख नगरेको सांसद ढकालले बताए । ‘केपी ओलीले १२ करोड भन्नुभयो । सेयर बजारको १२ करोडको क्याप कसले लगाएको ? गभर्नरले लगाएको हो,’ उनले भने, ‘त्यो हटाउनुस् भनेर भन्न को लाग्या छैन ? अहिले पूर्व अर्थमन्त्रीहरू लाइन लागेर यो मुद्दा उठाइरहनुभएको छ ।’

प्रतिक्रिया