गीतकार लक्ष्मणकृष्ण ताम्राकारका पनि केही गीतहरू हृदयस्पर्शी छन् । हृदयबाट प्रस्फुटन भएका ती गीतहरूमा प्रेमको याचनादेखि विरहको विलौनासम्म छन् । मनको भित्री तहसम्म छुन सफल यी गीतहरूले मिठो आवाजको साथ पाउन सके भने जीवन्त र कालजयी गीत बन्नेमा सन्देह छैन
अक्सर गीत गाउनका लागि लेखिन्छन् । तर सबै गीत गाउनकै लागि लेखिन्नन् । पढ्नका लागि लेखिएका गीत पनि गीत नै हुन् । कति गीत नलेखिएका पनि छन् । लेखिएका गीत सबै गीत नै हुन् भन्ने पनि छैन । नलेखिएका कति गीतहरू लोकप्रिय भएका छन् । लेखिएका र गाइएका धेरै गीतहरू गुमनाम छन््, ओझेल परेका छन् । नगाइएका गीतहरू गीत होइनन् भन्न पनि मिल्दैन । नगाइएका गीतहरू धेरै छन् भने कवितालाई गीत बनाएर गाइएका पनि छन् । जस्तोः महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘यात्री’ कविता, अनि युगकवि सिद्धिचरण श्रेष्ठको ‘मेरो प्यारो ओखलढुङ्गा’ कविता । ‘यात्री’ कवितालाई गायक रविन शर्माले गाएका छन्, जुन नेपाली चलचित्र ‘वासुदेव’ मा समावेश गरिएको छ भने ‘मेरो प्यारो ओखलढुङ्गा’ कवितालाई स्वरसम्राट नारायण गोपालले गाएका छन् । चर्चित यी दुई कविता गाइएपछि झनै चर्चित गीत भएका छन् । यस अर्थमा पनि गीत गाउनकै लागि लेखिन्छ भन्ने मान्यताले थप बल पाएको देखिन्छ । तर लेखिएका सबै गीत गाउन सम्भव हुँदैन । त्यसैले सबै गीत गाउनकै लागि लेखिन्नन् भन्ने मान्यता पनि उत्तिकै सत्य हो ।
पुरुष होस् अथवा महिला, सम्भवतः जीवनमा एकपटक आफ्नै सुर र तालमा नगुनगुनाउने र नसुसेल्ने कोही हुन्नन् । बैँशको बेला जोसुकैले पनि गुनगुनाउने र सुसेल्ने गरेकै हुन्छन् प्रियतम अथवा प्रियसीलाई सम्झेर । तर गीत गनुगुनाउने सबै गायक हुन्नन् । सङ्गीतबद्ध गरिएको गीतमा आवाज दिने अथवा स्वर भर्ने व्यक्तिलाई मात्रै गायक भन्ने चलन छ । तर गीत लेख्ने जोसुकैलाई गीतकारको सम्मान प्राप्त छ । त्यसैले गीत लेख्ने अथवा गीत सिर्जना गर्ने सबै गीतकार हुन् । गीत कस्तो लेखिएको छ भन्ने कुरा गौण रहँदै आएको छ । क्षणिक वाहवाही लुट्ने सस्ता गीत लेख्ने पनि गीतकार नै हुन् भने कालजयी गीत लेख्ने पनि गीतकार नै हुन् ।
गीतकारहरूको जमातमा केही गीतहरू लेखेर आफूलाई गीतकारको रूपमा परिचय स्थापित गर्न आइपुगेका छन् लक्ष्मणकृष्ण ताम्राकार । यसो त उनका सबै गीतहरू गाइएका छ्रैनन् । अझ भन्नैपर्दा उनका कुनै पनि गीत गाइएका छैनन् । त्यसैले उनले आफ्नो गीतसङ्ग्रहको शीर्षक नै ‘नगाइएका गीतहरू’ राखेका छन् । ‘नगाइएका गीतहरू’ मा ३० को दशकदेखि २०७९ सालसम्म अर्थात् झण्डै ४९ वर्षको अवधिमा लेखिएका ८७ थान विविध विषयका गीत समाविष्ट छन् । नगाइएका यी गीतहरूको आवाज भने बुलन्द छ । पाठकको हृदयमा यी गीतहरूले मिठोसँग स्पर्श गर्नेछन् र पाठकलाई पठनको मिठो आनन्द प्रदान गर्नेछन् । यो सङ्ग्रहलाई सिर्जना अभियान समाज, भक्तपुरले प्रकाशन गरेको छ ।
प्रायःजसो गीतहरू प्रेमकै विषयमा लेखिन्छन् अथवा लेखिएका छन्, अपवादको रूपमा धार्मिक गीतलाई छोडेर । यसो त धार्मिक गीत पनि प्रेमकै विषयमा लेखिएका हुन्छन् भगवान र भक्तका बीचको प्रेमका बारेमा । सबै धार्मिक गीत भगवानको जयजयकारमा मात्रै लेखिएका छैनन् । गीत जीवनका बारेमा पनि लेखिन्छन्, लेखिएका छन । प्रकृतिका बारेमा पनि लेखिन्छन्, लेखिएका छन् । मान्छे बाँचेको समयका बारेमा पनि लेखिन्छन्, लेखिएका छन् । गीतकार लक्ष्मणकृष्ण ताम्राकारले यी सबै खाले गीत लेखेका छन्, तर भगवानको जयजयकार गरेर धार्मिक गीतचाहिँ लेखेका छैनन् । बरु प्रेमको जयजयकार गरेर गीत लेखेका छन् । प्रेमको वर्णन गरेर गीत लेखेका छन् । प्रियसीको प्रेम र उनको सुन्दरताको वर्णन गरेर गीत लेखेका छन् । गीतमा प्रेमभाव प्रकट गरेका छन् । प्रेममिलनको खुसी व्यक्त गरेका छन् । अनि विछोडको विरह र वेदना पनि पोखेका छन् । कतै प्रियसीसँग प्रेमको याचना गरेका छन् त कतै आफैँलाई समपर्ण गरेका छन् । कतै निष्ठुरी प्रियसीसँग गुनासो पनि पोखेका छन् । प्रेमको आनन्द मात्रै होइन, प्रेमको पीडा पनि पोखेका छन् । साँच्चै भन्नुपर्दा गीतहरूमा जताततै आफ्नो प्रेमानुभूति पोखेका छन् । जीवनको उहापोहलाई सुन्दर शब्दहरूको मालामा उनेर गीत लेखेका छन् । सकेसम्म गीतको संरचना र गेयात्मकतालाई पनि ध्यान दिएका छन् । त्यसैले पनि यी नगाइएका गीतहरूको आवाज बुलन्द भएर आएको छ । गाइएका गीतहरू कर्णप्रिय होलान्, तर गीतकार ताम्राकारका नगाइएका गीतहरू हृदयस्पर्शी छन् र पठनीय छन्, जसले पठनको मिठो आनन्द प्रदान गर्दछन् ।
हो, मान्छेको मनोभावना र जिन्दगीको रङ सधैँ एक नासको हुँदैन । फरक समय, फरक परिवेश र फरक परिस्थितिमा मान्छेको विचार, मनोभाव र संवेगमा पनि फरक तरङ्ग उत्पन्न हुन्छन् । यिनै फरक समय, फरक परिवेश र फरक परिस्थितिमा उत्पन्न भएका आफ्ना फरक–फरक मनोभाव र संवेगका तरङ्गलाई गीतमार्फत् अभिव्यक्त गरेका छन् । त्यसैले फरक–फरक गीतहरूमा फरक–फरक स्वाद पाउन सकिन्छ । गीतकारको मनोभाव र संवेगअनुकूलका गीतहरूमा प्रेममिलनको खुसी, सुख, आल्हाद, आशा र उत्साहको भाव व्यक्त भएको पाइन्छ भने मनोभाव र संवेग प्रतिकूल समयमा लेखिएका गीतहरूमा चाहिँ प्रेमको पीडा, विछोडको व्यथा र वेदना, असन्तुष्टि, निराशा, गुनासो र आफ्नो प्रियतम अथवा प्रियसीप्रति दोष र आरोपको भाव व्यक्त भएको पाइन्छ ।
मान्छेले आफ्नो मनोभाव पोख्ने सजिलो माध्यम गीत हो । धनी, गरिब, शिक्षित, अशिक्षित अनि सबै वर्ग र लिङ्गले आफ्नो खुसी र दुःख पोख्ने मुख्य माध्यम कि गीत हो कि सुस्केरा हो । अक्षरसँग अपरिचित मान्छेले पनि आफ्नो खुसीको मनोभावलाई आफ्नै गीतमा व्यक्त गर्छ गुनगुनाइ र सुसेलीमार्फत् । अनि आफ्नो दुःखलाई व्यक्त गर्छ लामो सुस्केरामार्फत् । त्यसैले गीत मान्छेको हृदयको नजिक हुन्छ र कोमल भावको हुन्छ । हृदयबाट प्रस्फुटन भएका स्ुकोमल भावका गीतहरूले पाठक र स्रोताको मनमा स्पर्श गर्छन् र ओठमा चुम्छन् । हृदयबाट प्रस्फुटन भएका र हृदयलाई स्पर्श गर्ने गीतहरू नै अनन्तसम्म बाँचिरहन्छन्, कुनै आवाज बनेर त कुनै बिना आवाज शब्दहरूको पूञ्जमा ।
गीतकार लक्ष्मणकृष्ण ताम्राकारका पनि केही गीतहरू हृदयस्पर्शी छन् । हृदयबाट प्रस्फुटन भएका ती गीतहरूमा प्रेमको याचनादेखि विरहको विलौनासम्म छन् । मनको भित्री तहसम्म छुन सफल यी गीतहरूले मिठो आवाजको साथ पाउन सके भने जीवन्त र कालजयी गीत बन्नेमा सन्देह छैन । गीतकार लक्ष्मणकृष्ण ताम्राकारले आफ्ना गीतहरूमा प्रेमभावलाई प्रधानता दिए पनि जातीय विभेद, रोजगारीका लागि विदेसिनुपर्ने बाध्यता, कोरोना कहरदेखि देशमा मौलाएको सामाजिक–राजनीतिक बेथितिसम्मलाई उठान गर्न भ्याएका छन् ।
जस्तैः
यौवन चल्ने पानी नचल्ने
माया चल्ने छायाँ नचल्ने…. (पृष्ठ ५८)
जहाँ जिन्दगीसँग खुसी रमाउँदैन
जहाँ यौवनसँग रङ्ग रमाउँदैन
देश नै बिरानो बनायौ
तिमी त परदेशी भयौ…. (पृष्ठ ६०)
कर्तब्यको बन्धन सबै टुट्यो
सिमानाभित्र सबै बस्न छोड्यो
लाचार समाज लाचार मान्छेहरू
आज आफ्नै घरभित्र कैद भयो…. (पृष्ठ ६४)
यो माटोमा अन्नको बदला
भ्रष्टाचारको बिउ रोपिएको छ
जे रोप्यो त्यही फल्ला
शिष्टाचार कहाँ रोपिएको छ….. (पृष्ठ ६५)
केही गीतहरू भने केही लोकप्रिय नेपाली गीतहरूको प्रभावमा परेर लेखेको भान हुन्छ ।
जस्तैः
तिम्रो आँखाको नानीमा बस्न आएँ
राख या नराख तिम्रो खुसी…. (पृष्ठ ६६)
यो गीतमा लोकप्रिय गायिका तारादेवीले गाएको निम्न गीतको प्रभाव देखिन्छः
आऊ नआऊ तिम्रो खुसी म त सधैँ पर्खिरौँला
आए पनि हेरिरौँला गए पनि हेरिरौँला….
यसैगरी ‘खुला किताब’ शीर्षकको ‘यो जिन्दगी खुला किताब हो, जसले जसरी पढे हुन्छ’ (पृष्ठ २९) भन्ने गीत पनि गायिका डेजी बराइलीले गाएको ‘एउटा खुला किताब हुँ म, तिमीले पनि पढे हुन्छ…’ भन्ने गीतको प्रभावमा लेखिएको भान हुन्छ । अनि ‘वाचा’ शीर्षकको ‘भोलि नपिउने वाचा गरेर पिएँ, जिन्दगीलाई सधैँ ढाँटेर पिएँ, आफ्नै कथामा हाँसेर पिएँ’ (पृष्ठ २) भन्ने गीत चाहिँ स्वरसम्राट नारायण गोपालले गाएको ‘आज भोलि हरेक साँझ मात्तिन थालेछ, जिन्दगीदेखि जिन्दगी आत्तिन थालेछ’ को प्रभावमा लेखेको भान हुन्छ । जसको अन्तरासँग गीतकार ताम्राकारको यो गीतको अन्तराको भाव उस्तैउस्तै लाग्छ । जस्तै नारायण गोपालले गाएको उक्त गीतको एउटा अन्तरा यस्तो छ, ‘मन्दिरमा बसेर पिएँ, मसानमा लडेर पिएँ, नाचेर पिएँ हाँसेर पिएँ, एकान्तमा कहिलेकाहीँ रुँदै पिएँ…’ । यो संयोग मात्रै पनि हुनसक्छ । यसो त लेखनको प्रारम्भमा कसैको प्रभाव पर्नु स्वाभाविक मानिन्छ । यस अर्थमा गीतकार ताम्राकारको गीत लेखनको प्रारम्भिक चरणमा यसरी कुनै गीतको प्रभाव पर्नुलाई स्वाभाविक मान्न सकिन्छ ।
गीतकार लक्ष्मणकृष्ण ताम्राकारका पछिल्लो चरणमा लेखिएका गीतहरूमा तुलनात्मकरूपमा निकै सुधार आएको देखिन्छ । गीतकारको भावना र कल्पना अनि गीतको संरचना र गेयात्मकतामा पनि सुधार आएको पाउन सकिन्छ । शब्दसंयोजनमा पनि सुधार आएको पाउन सकिन्छ । यस्तै प्रयत्न जारी रहे गीतकार ताम्राकार अब्बल दर्जाको गीतकार बन्न सक्षम हुनेछन् । शुभकामना ।
प्रतिक्रिया