लमजुङ । पछिल्लो समय देशका विभिन्न स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि कार्यक्षेत्रमै कुटपिट तथा अभद्र व्यवहारका घटनाहरू बढेसँगै जिल्लाको बेसीशहर नगरपालिकामा पनि उक्त घटना घटेको छ ।
बेसीशहर नगरपालिका– ७ का वडाध्यक्ष ऋषि बस्नेतले सोमबार राति करिब ११ बजेको समयमा लमजुङ अस्पतालका डा. सन्दीप अधिकारीमाथि हातपात गरेको घटनाले यतिखेर सदरमुकाम मात्रै नभइ जिल्ला नै तातेको छ । हुनत केही समय यता लमजुङ अस्पतालमा राजनीति चल्यो भन्ने हल्ला पनि नआएको होइन ।
यस घटनाको विषयमा बस्नेत आफूलाई मादक पदार्थले मातेको भए पनि अन्य चिकित्सकहरुलाई गर्ने व्यवहार यति सुहाउँदो नभएको प्रत्यक्षदर्शीहरू बताउँछन् । जिल्ला प्रसशानका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रामकृष्ण अधिकारीको पहलमा गत सोमबार छ्लफल गरेर बस्नेत पक्षका नेताहरूले मिलाउन खोजे पनि अस्पतालका चिकित्सकहरूले आफूहरुमाथि दोस्रो पटक यस्तो व्यवहार गरेको हुँदा मिल्न नसक्ने बताएपछि केही निचोड निस्कन सकेन ।
घटनामा संलग्न बस्नेत भने प्रहरीको हिरासतमा रहेका छन् । पीडित डा. अधिकारीले उनका विरुद्धमा सार्वजनिक स्वास्थ्य ऐनअन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरेका कारण उनलाई अनुसन्धानका लागि प्रहरीले अदालतबाट पाँच दिनको अनुसन्धानका गर्न म्याद पाएको छ । कतिपयले त राजनीतिक ढंगले आरोप बढी लगाएको समेत दाबी गरेका छन् भने कतिले माफी मगाएर छाड्नुपर्ने बताएका छन् ।
आरोपित बस्नेतले आफूले गरेको कुव्यवहार स्वीकार गरे पनि अन्य आरोप हावामा लेखिएको समेत उल्लेख गरेका छन् । सो घटनामा बस्नेतमाथि राजनीति नै प्रयोग भएको हो त ? आम सर्बसाधारणको चासोको विषय बनेको छ । यस्ता घटना जिल्लामा मात्रै होइन जिल्ला बाहिर पनि अहिले चिकित्सकहरुले कुटपिट सहनुपरेको छ । अर्को यस्तै घटना गण्डकी प्रदेशको कास्कीस्थित मणिपाल अस्पतालमा पनि घटेको छ ।
उपचारका क्रममा लमजुङको सुन्दरबजार नगरपालिकाकी एक महिलाको ज्यान गएपछि पीडित परिवारले उक्त अस्पतालका चिकित्सक अनिल शाहमाथि कुटपिट गरेका हुन् । स्वास्थ्यकर्मीमाथि यस्ता घटनाले उनीहरूलाई त्रसित र निरुत्साहित गर्ने भन्दै नियमनकारी निकायहरूले यस्तो परिस्थितिको उचित सम्बोधन गर्न नसेकेको जिल्लावासीहरुको गुनासो छ । साथै राष्ट्रव्यापी स्वास्थ्यकर्मीहरुको आन्दोलनमा ऐक्यबद्धता पनि व्यक्त गरेका छन् ।
‘यी घटनाक्रमले गर्दा देशभरिका सम्पूर्ण स्वास्थ्यकर्मीहरुमा भय तथा निरुत्साहनको अवस्था उत्पन्न भएको छ । अरु पेसाकर्मी झैँ स्वास्थ्यकर्मीले पनि आफ्नो कार्यस्थलमा सुरक्षित रुपमा कार्य गर्न पाउनु उसको संविधानप्रदत्त मौलिक अधिकार हो ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०७९ बमोजिम स्वास्थ्य संस्थामा तोडफोड र कुटपिटजस्ता कार्य गर्ने व्यक्तिहरुलाई पक्राउ गरी यथाशीघ्र कारबाही गरिनुपर्छ भन्ने कैयौँ नागरिकको माग छ । यस्तै यस्ता घटना नदोहोरिने अवस्था सुनिश्चित गर्न हरेक स्वास्थ्य संस्थाले पनि आफ्नो कमिकमजोरी र बिरामीहरूसँग गर्ने व्यवहारमा सुधार ल्याउनु आवश्यक देखिन्छ ।
बिरामी तथा बिरामीका आफन्तहरुले चिकित्सा पेसाको संवेदनशीलतालाई ध्यानमा राखी स्वास्थ्यकर्मीहरुको मनोबल कायम गर्ने गरी जिम्मेवार तथा संयमित व्यवहार गर्नुपर्ने अस्पताल प्रसाशनले माग गरेको छ ।
पछिल्लो झण्डै दुई साताको अवधिमा हेटौँडा, पोखरा र लमजुङमा बिरामीका आफन्तले चिकित्सकमाथि कुटपिट गरेका घटना सार्वजनिक भएका छन् । कयस्ता कुटपिट तथा अभद्र व्यवहारका घटनाको विषयलाई लिएर देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले विरोध जनाएका छन् ।
लमजुङ
प्रतिक्रिया