पाँचथर । नेकपा माओवादी केन्द्र पाँचथरले संविधान दिवसको अवसरमा जिल्ला अस्पताल सरसफाई गरेको छ ।
माओवादीको तीन महिने विशेष रुपान्तरण अभियानअन्तर्गत संविधान दिवसको अवसर पारेर मंगलबार बिहान पाँचथर अस्पताल परिसरमा सरसफाई गरिएको जनाएको छ ।
सरसफाई अभियानमा सहभागी भएका नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्वप्रदेश कृषिमन्त्री झलक दर्लामीले यो अभियानले जनतासँगको सम्बन्ध अझ नजिक हुने बताए । उनले जनताको समस्या र गुनासो सुनी समाधानको पहल गर्दै जाने बताए ।
त्यस्तै नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपानेले पार्टीको अभियानअन्तर्गतको सरसफाई अभियानले अस्पताल परिसरमा स्वच्छ वातावरण कायम राख्न तथा महामारीका रुपमा बढिरहेको डेंगु संक्रमण पनि कम गर्न सहयोग पुग्ने बताए ।
त्यस्तै नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको संयोजक विशाल रसाईलीले अभियानअन्तर्गत जनताको घरघरमा पुगेर पार्टीले गरिरहेका सकरात्मक कामको जानकारी दिँदै जनताको समस्याहरु पहिचान गर्ने बताए । अस्पताल परिसर सरसफाई कार्यक्रममा पार्टी सबै जनवर्गिय संगठनका पदाधिकारी, स्थानीय जनप्रतिनिधी र स्थानीयको उपस्थिति रहेको थियो ।
नेकपा माओवादी केन्द्रले गएको भदौ १६ गतेदेखि ‘घर घरमा माओवादी, जन जनमा माओवादी’ भन्ने नाराका साथ तीन महिने विशेष रुपान्तरण अभियान सुरु गरेको छ । अभियानअन्तर्गत पार्टीका नेता तथा कार्यकर्ताहरु गाउँ गाउँमा गएर जनताका कामहरु गरिरहेका छन् ।
प्रतिक्रिया