काठमाडौं । नेपाली ग्रामीण भेगको समसामयिक कथामा निर्माण गरिएको डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ नेपालका मुख्य सहरसँगै बाहिरी देशमा पनि विशेष प्रदर्शन गरिने भएको छ । सबै नेपालीले मनन् गर्नुपर्ने कथामा डकुमेन्ट्री सर्ट फिल्म बनेको हुनाले यसलाई स्वदेशसँगै नेपालीको बसोबास रहेको अन्य देशमा पनि विशेष प्रदर्शन गर्न लागिएको निर्देशक रामजी ज्ञवालीले जानकारी दिए । ‘अहिले हाम्रो गाउँ एक्लो छ । एक्लो गाउँमा धेरै कथा छन्, हामी एउटा कथा बोल्दैछौं, जुन कथा असाध्यै दर्दनाक छ’ ज्ञवालीले भने, ‘यो कथालाई सबैले मनन् गरुन भन्ने सोँचले नै विशेष प्रदर्शन गर्न लागेका हौं ।’ आनन्द राज प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको ‘रित्तो गाउँ’ को फस्टलुक पोस्टर सार्वजनिक गरेसँगै निर्माण टिमले आफ्नो योजना सार्वजनिक गरेको हो । आनन्द राजले राम्रो इन्टरटेनमेन्टसँगको सहकार्यमा निर्माण गरेको चलचित्रको यसको पोस्टरमा एक महिलाले टुकी बालेर केही खोज्दै गरेको देखिन्छ । उक्त भूमिकामा कलाकार हिउँवाला गौतमलाई मात्रै देखाइएको छ । पोस्टर सार्वजनिक भएपछि निकै चर्चा चलेको छ । ‘रित्तो गाउँ’ ले नेपालका धेरै पहाडी भेगमा भोग्नुपरेको कठोर यथार्थलाई गहिरिएर प्रस्तुत गर्न खोजेको निर्माण पक्षले जनाएको छ । ‘रित्तो गाउँ’ मा अभिनेता मुकुन भुषाल, कलाकार सुभास गजुरेल र नवअभिनेत्री सविना राउतलाई पनि फिचर गरिएको छ ।
निर्माण टिमले फस्टलुक पोस्टरबाहेक कुनै पनि प्रकारको प्रमोसनल सामग्री सार्वजनिक नगर्ने जानकारी दिएको छ । रामजी ज्ञवालीको कथा तथा निर्देशनमा निर्माण भएको यस चलचित्रका सहायक निर्देशक दिनेशबहादुर रावत हुन् भने डिओपी निरज कँडेल हुन् । निर्देशक ज्ञवालीले यसअघि डार्कमुन, हनिमुन, आराध्याजस्ता चर्चित सर्टफिल्म निर्माण तथा केही गीति भिडियो निर्देशन गरिसकेका छन् । उनी एक दशक बढी समयदेखि पत्रकारिता पेशामा समेत आबद्ध छन् ।
‘रित्तो गाउँ’ लाई आनन्दराज शर्मा वाग्लेले निर्माण गरेका हुन् । यसमा प्रेम भुर्तेल, नारायण कँडेल, कुनाल कायल लगायत कार्यकारी निर्माता रहेका छन् । निर्माता आनन्दराजले पहिलो विशेष प्रदर्शन काठमाडौंबाट हुने र यसबाट उठेको सम्पूर्ण रकम नेपाली क्रिकेट टोलीलाई हस्तान्तरण गर्ने जानकारी दिए । उनले भने, ‘हामी अहिले के कसरी गर्ने भनेर सल्लाह गर्दैछौं । तर, पहिलो सोबाट उठेको रकम क्रिकेट क्षेत्रमा योगदान गर्ने योजना छ । त्यसपछिका हरेक सोबाट उठेको रकमको केही प्रतिशत हामीले समाजसेवामा लगाउने तयारी गरेका छौं ।’
आठ दिन छायांकन गरिएको यस डकुमेन्ट्री फिल्म तत्कालै युट्युबमा सार्वजनिक नहुने निर्माण टिमले जनाएको छ । राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको यस चलचित्रलाई नहकुल खड्काले सम्पादन गरेका हुन् । यस प्रोजेक्टका लागि निर्माण टिमले २० लाखभन्दा धेरै लगानी गरेको निर्माता आनन्दराजले जानकारी दिए ।
प्रतिक्रिया