निःशुल्क स्वास्थ्य शिविरमा २४३ जनाले लिए सुविधा

कालिकोट । खाँडाचक्र नगरपालिका– ५ को चुलिमालिका माध्यमिक विद्यालय दाडिमबोटमा निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । कालिकोट जिल्लामा सञ्चालित डिआर कर्णाली हेल्थ अस्पतालको आर्थिक तथा भौतिक सहयोग, खाँडाचक्र नगरपालिका–५ को समन्वयमा निःशुल्क स्वास्थ शिविर सञ्चालन गरिएको हो ।

कालिकोट जिल्लामा सेवा दिँदै आएको डिआर कर्णाली हेल्थ अस्पतालले कालिकोट जिल्लाका विभिन्न वडा तथा पालिकामा निःशुल्क शिविर राख्ने अस्पतालका सञ्चालक तथा भुपु जिविस सभापति दिपबहादुर शाहीले बताए । बिकट कालिकोट जिल्लामा उपचार नपायर ज्यान गुमाउनुपर्ने अवस्था यहाँका नागरिकको छ ।

समयमै औषधि खान नपाएर सुर्खेत, नेपालगञ्ज र काठमाडौंलगायतका शहरमा जानुपर्ने अवस्थामा डिआर कर्णाली हेल्थ अस्पतालले गरेको यो महत्वपूर्ण शिविर फलदायी भएको खाँडाचक्र नगरपालिका– ५ का वडाध्यक्ष देउराम विश्वकर्माले बताए ।

उनले जिल्ला अस्पताललगायत स्वास्थ्य संस्थामा गएर बिरामीले पालो कुर्नुपर्ने, समयमै औषधि नपाइने, यातायातलगायत खाना खर्चमै धेरै रकम खर्च हुने गरेको विगत सम्झिँदै टोलटोलमा निःशुल्क स्वास्थ्य शिविर राखेकोमा डिआर कर्णाली हेल्थ अस्पताललाई धन्यवादसमेत दिए ।

शिविरका संयोजक तथा युवा व्यवसायी हिरामणि चौलागाँईले टोलटोलमा डिआर कर्णाली हेल्थ अस्पतालले निःशुल्क शिविर राख्दा वृद्धदेखि बालकसम्मको आफ्नै गाउँमा उपचार भएको छ । उपचार नपाएर भौतारिइरहेका नागरिकको गाउँमै उपचार हुँदा नागरिकको उद्धार भएको शिविरका संयोजक चौलागाँईले बताए ।

चौलागाँईले बेलायतमा रहेका दिपबहादुर शाहीका छोरा तुलसी वीर बिक्रम शाहीलाई कालिकोटमा रहेका बिरामीको अवस्थाबारे जानकारी दिएपछि शिविरको आयोजना गरिएको बताए । उक्त शिविरमा २४३ जनाले सेवा लिएको एमबिबिएस डाक्टर अनिल भुसालले बताए ।

डाक्टर भुसालले हातखुट्टा झमझमाउने, ज्यान दुख्ने, महिलाको तल्लो पेट दुख्ने, सेतो पानी बग्नेजस्ता समस्याका बिरामी बढी रहेको बताए । उनका अनुसार बच्चाको कान पाक्ने, कान दुख्ने र ज्येष्ठ नागरिकहरुमा दमको समस्या रहेको छ । धेरै बिरामी २०–५० वर्ष उमेर समूहका रहेका छन् ।

बालबालिका १ वर्षदेखि ११ वर्ष उमेर समूहका रहेको डाक्टर भुसालले बताए । भुसालले भने, ‘सम्पूर्ण बिरामीलाई निःशुल्क औषधिसँगै सुझाव–सल्लाह दिएका छौँ ।’ बेलायतमा रहेका ईन्जिनियर तुलसी वीर बिक्रम शाहीले डिआर कर्णाली हेल्थ अस्पताल आफैमा एक सेवामुलक अभियान भन्दै यो अभियानमा जोडीने सम्पूर्णलाई धन्यवाद दिए ।

उनका अनुसार डिआर कर्णाली हेल्थ अस्पतालसँग जोडिएर आफ्नो जन्मभूमिको सेवा गर्न चाहन्छन् भने डिआर कर्णाली हेल्थ अस्पतालमा एमबिएस जर्मा शाहीलाई भेटेर शिविरलगायत अन्य सल्लाह लिन अनुरोध गरेका छन् । बेलायतमा रहेका शाहीले सानातिना रोगहरुदेखि ठूला रोगहरुको समेत उपचार गर्ने र जिल्लामा उपचार हुन नसकेका रोगहरुको लागि जुनसुकै शहरमा लिनका लागि डिआर कर्णाली हेल्थ अस्पताल सधैभर लागिपर्ने बताए ।

डिआर कर्णाली हेल्थ अस्पतालले योभन्दा अगाडि खाँडाचक्र नगरपालिका– ११ मासमेत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । डिआर कर्णाली हेल्थ अस्पतालले कालिकोटका ९ वटै स्थानीय तहले अनुरोध गरे निःशुल्क शिविर सञ्चालन गरिदिने सञ्चालक दिपबहादुर शाहीले बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया