काठमाडौं । साहित्यकार एवं पत्रकार राजेन्द्र पराजुलीको निमोनियाका कारण मंगलबार बिहान निधन भएको छ । गएराति छातिमा समस्या देखिएपछि ललितपुरको ग्वार्काेस्थित बिएण्डबी अस्पतालमा उनलाई भर्ना गरिएको थियो । सघन उपचार कक्षमा उपचाररत् पराजुलीलाई बिहान ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । पिताको निधनपछि भारतको गोवामा रहेका उनका छोरा स्वदेश फर्किएका छन् । उनको मंगलबार पशुपति आर्यघाटमा अत्येष्टि गरिएको छ ।
कथा, उपन्यास र कविता तीन वटै विधामा कलम चलाउने साहित्यकार पराजुली आर्थिक मामिलासम्बन्धी पत्रकारिता र सम्पादनमा दख्खल राख्थे । पत्रकारको रुपमा उनले राजधानी, नेपाल समाचारपत्र, नागरिक र आर्थिक दैनिक पत्रिका तथा बाह्रखरी लगायतका अनलाइनमा समेत काम गरेका थिए ।
उनले केही समयअघि कथासंग्रह जन्तरमन्तर प्रकाशनमा ल्याएका थिए । पराजुलीका अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चश्मा, अनायिका, सपनामा माक्र्स, जाडोमा भोक, भ्रष्ट संवेदना, विकल्प यात्रालगायत पुस्तक प्रकाशित छन् । साहित्यकारले पराजुलीलाई समाजप्रति प्रतिबद्ध स्रष्टा भएको बताएका छन् । लेखक तथा साहित्यकार अभय श्रेष्ठले पराजुलीमा साहित्यसँगै राजनीति र अर्थक्षेत्रमा समेत राम्रो ज्ञान राख्ने व्यक्तित्व भएको सुनाए । उनले पत्रकारको रुपमा पराजुलीले आफूले देखेको विषयमा सम्झौता नगर्ने किसिमको निडरता राख्ने जिकिर गरे । उनले मिडियामा साहित्य संयोजन कसरी गरिन्छ ? भन्ने विषय पराजुलीले उदाहरणकै रुपमा प्रस्तुत गरेको बताए ।
श्रेष्ठले भने, ‘उहाँ संयोजक रहँदा म आफैँ स्तम्भकारको रुपमा पनि रहेँ । उहाँमा के प्रवृत्ति थियो भने आफूले देखेको कुरामा सम्झौता नगर्ने ।’ उनले पराजुलीमा लेखनको विविधता रहेको सुनाउँदै साहित्यमा राम्रो दख्खल राख्ने व्यक्तित्व रहेको बताए । उनले भने, ‘राजनीति राम्रोसँग बुझ्नुहुन्थ्यो । अर्थ क्षेत्रको राम्रो ज्ञान थियो ।’
श्रेष्ठले साहित्यकारले नेपाली सञ्चार माध्यममा साहित्य रचनालाई प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गराउनसमेत पराजुलीले विशिष्ट भूमिका खेलेको बताए । कवि श्यामलले समाजलाई नियालेर सत्य र यथार्थ साहित्य रचना गर्न सक्ने स्रष्टाको रुपमा पराजुलीलाई लिनुपर्ने विचार व्यक्त गरे । उनले समाजको अन्तरकुन्तरमा पुगेर पात्रको चयन गरी साहित्य सिर्जना गर्नसक्ने खुबी स्वर्गीय पराजुलीमा रहेको बताए । कवि श्यामलले भने, ‘साहित्यमा एकदमै प्रतिबद्ध व्यक्तित्वका रुपमा पराजुली परिचित छन् ।
धेरैजसोले उहाँलाई कविभन्दा कथाकारको रुपमा सम्झिन्छन् । उहाँ चाहिँ आफ्नो समाज वरतिर, परतिरको र आफ्नो पुस्ताको मनोविज्ञानको बारेमा लेख्ने, अलि विद्रोहका कन्टेन्ट, आफ्ना कथामा विद्रोही चरित्र, पात्रहरु राख्ने गर्नुहुन्थ्यो र त्यसमा उहाँ लोकप्रिय पनि हुनुहुन्थ्यो ।’ उनले पराजुलीको पछिल्लो समय शुक्रराज शास्त्रीको चस्मा भन्ने शीर्षकबाट पुस्तक निकालेको जनाउँदै केही समय पहिले अर्को निकाल्नु भयो । श्यामलले भने, ‘उहाँ बडो क्रियाशील, समाजप्रति प्रतिबद्ध, नेपाली समाजको अन्तरकुन्तरमा पसेर, चरित्रलाई खोजेर कथामा प्रवेश गराउने उहाँमा विशेष खुबी थियो ।’
उनले पराजुलीसँग लामो संगत गरेको स्मरण गर्दै कसैलाई बिझाउने सरल व्यक्तित्वको रुपमा चिनेको बताए । उनले भने, ‘बहुत सरल, हषमुख, त्यसकारण उहाँका साथीहरू धेरै भए । उहाँले सम्पादनको क्षेत्रमा पनि धेरै राम्रो काम गर्नुभएको छ । समग्रमा उहाँ धेरै राम्रो प्रतिबद्ध साहित्यकारका रुपमा परिचित हुनुहुन्थ्यो ।’ श्यामलले कथा र उपन्यास पराजुलीको विशेष क्षेत्र रहेको सुनाए । उनले थपे, ‘कविता, कथा र उपन्यासका तीन वटै विधामा कलम चलाउन सक्ने उहाँ गतिशील साहित्यकारको रुपमा पनि स्थापित हुनुहुन्थ्यो । उहाँको कविता, कथा र उपन्यासमा पनि कलम चल्थ्यो । डाइनामिक टाइपको थिएँ ।’
प्रतिक्रिया