आलङ्कारिक हिसाबले कैँची चलाएर जीवन गुजारा गर्नेहरू, घन ठोकेर कृषिको मेरुदण्ड बन्नेहरू, छाला जोडेर यात्रालाई सहज बनाउनेहरू सङ्गठित भई श्रम शोषणको विपक्षमा लाग्ने दिन आएकोतर्फ यहाँ प्रस्तुत छ । लाखौँ श्रमिकहरू आफ्नो रगत–पसिना किन र कहाँ बगिरहेको छ भन्ने थाहा नपाई वा थाहा पाएर पनि मुख नखोली बाँच्न बाध्य रहेका छन्
शीर्षक त्यति आकर्षक नलाग्दा नलाग्दै पनि ‘कैँची’ कविता सङ्ग्रह किनेर ल्याएँ । कविको नाम सुनेर र उनको काव्य प्रवृत्ति बुझ्न पुस्तक खरिद गरेको हूँ । पढेलेखेका तर पनि राज्यले गरेको दमन र दलनको बारेमा राम्रो चेतना भएका एउटा विचारका कवि हरिशरण परियारको काव्ययात्रा र त्यसबाट मिश्रित चेतनाको पाठकीय खोजी गर्नु यस छोटो लेखको उद्देश्य रहेको छ ।
‘कैँची’ २०७९ कविता सङ्ग्रह बेला पब्लिकेसनले बजारमा ल्याएको हो । यस कविता सङ्ग्रहमा जम्मा बयालीस ओटा गद्य कविता रहेका छन् । कवि एवं माक्र्सवादका एक गहिरा अध्येता आहुतिको छोटो भूमिकाले कविता सङ्ग्रहभित्रका कविताहरू पढूँ वा के गरौँ ? भन्ने बनाउँछ । यस सङ्ग्रहभित्र कवि स्वयम्ले भोगेको दुःखको दृश्यचित्र स्पष्ट रहेको छ । नेपालकै कानुनले पनि दलन विरुद्धमा आधा शताब्दी लामो समय पार गरेको वर्तमान समयमा अरुले सुन्दा दलन छ र ! भन्ने स्थिति बन्न सक्छ । कानुन बोल्दैन, दमितको पीडा न्यायालयले सुन्दैन । पञ्चायतको पछिल्लो दशक भनेको सुनिन्थ्यो ‘राजा ढोकामा, नियम पोकामा’ अर्थ धेरै गहिरो लाग्छ । आज पनि यही अवस्थामा दलित र गैरदलित निम्न वर्गीयजन बाँचिरहेको छ । सत्ता सक्नेको निमित वा सक्नेले सत्तामा पुगेर जे–जस्तो कर्म गरे पनि वैध हुन्छ ।
लमजुङमा जन्मेर सङ्घर्ष गर्दै शिक्षा आर्जन र जीवन भोगाइका अनेकन उकाली ओरालीमा आफूलाई खार्दै ल्याएका हरिशरण परियारले थोक कृतिसहित कविको परिचयलाई अभिलेखमा उतारेका छन् । उनका फुटकर कविताहरू प्रशस्त छापिएका छन् । विभिन्न विषय–सन्दर्भमा चोटिलो प्रस्तुति दिने हरिशरणले नेपाली समाजमा फैलिरहेको अन्यायको जालो काट्न कैँची लिएर आएका छन् । उनी कहिले प्रतिविम्बमा आफैँलाई उतार्दछन् त कहिले देशसँग आफ्नो अधिकारका सवाल उठाउँछन् । उनको चरम असन्तुष्टि त्यहाँ छ जहाँ मान्छेले मान्छेलाई व्यवहार गर्दा थाहा हुन्छ मान्छेभित्र अर्कै तत्त्व केही छ जो अरु जाति प्रजातिमा छैन ।
सबैभन्दा पहिले खुट्टा हेर्छ
बाँझो खेत फोर्दा फोर्दा
कुर्कुच्चामा परेको चिरा देख्छ
र, देख्छ
पैतालाभरि कहिल्यै पखालिन नसकेका माटोका कणहरू (प्रतिविम्ब, पृ. ११)
श्रम गर्ने मानिसहरू अर्कैको भकारी भर्दा भर्दै खाली पेट सुत्नु पर्छ । अर्काको कपडा सिलाउँदा सिलाउँदै जाडोले कठ्याङ्ग्रिएर मर्नुपर्छ । मान्छे हो जीवन गुजारा गर्न केही त गर्नै पर्छ तर मानिसले नै अपमान यति धेरै भएको थाहा पाउँदा पनि सङ्गठित हिसाबले राज्यसत्तालाई जनमैत्री तुल्याउन सकेको छैन । समाजमा जातीय, लिङ्गीय र क्षेत्रीय उत्पीडनको जञ्जाल यति ठुलो छ त्यो वर्गीय पक्षधरताको समग्र लडाइँविना समाधान गर्न सकिँदैन । जनताको बलमा स्थापित गणतन्त्रमा पनि महाराजा र महारानी जन्मिएकाले कत्ति सुख छैन ।
ए ! रोकिऊ
तिमीहरू सबै रोकिऊ
स्कुल जाने नानीहरू
जहाँ छौ, त्यहीँ टक्क उभिनू
यो गणतान्त्रिक सडकमा
आज
महामहिम राष्ट्रपतिको सवारी छ
जहाँ छौ, त्यहाँबाट हल्लँदै नहल्लनू । (महामहिमको सवारी, पृ. ६४)
नेपालको राजधानी काठमाडौं कति धेरै सुरक्षा चुनौतीमा छ ? वा राज्यका नाममा झन्डा हल्लाएर हिँड्नेहरूको व्यवहार कति सामन्ती कति जनविरोधी छ एकचोटि राम्ररी घोत्लिएर हेर्न कवि अनुरोध गर्दछन् । श्रम गर्नेहरू, बिरामीवाहक साधन, ज्ञान आर्जन गर्न विद्यालय जाँदै गरेका नानीहरू सबै सबैले एउटा धार्मिक अनुष्ठानमा निस्किएको राष्ट्रपतिलाई असुरक्षा हुन्छ भनेर रोकिनु पर्ने ? कवि लाखौँ नेपालीले लडेर ल्याएको गणतन्त्रबाट प्राप्त, सङ्घीय शासन प्रणाली, धर्मनिरपेक्षता, समानुपातिक–समावेशी प्रतिनिधित्वको सिद्धान्त जस्ता विषयलाई बदनाम गराउन पर्याप्त तथाकथित महामहिमको गतिविधि निन्दा लायक रहेको प्रमाण पेश गर्दछन् । कवितामार्फत् कविले भोग्नेको जीवनयात्राले नलेखेको काव्य दैनिकी लेखिदिएका छन् । एउटा शिक्षित व्यक्ति जात व्यवस्था विरोधी भएन भने राज्य व्यवस्थाले सत्रौँ शताब्दीको झलक दिन सक्छ । नेपाली समाज र खासगरी दक्षिण एसियाका केही मुलुकले लाजै हुने गरी जात व्यवस्थालाई पालिराखेका छन् । श्रमको सम्मान नहुने राज्यमा जातको बढी चर्चा महत्त्व देखापर्दछ । जात व्यवस्था नै धार्मिक अन्धविश्वासलाई टिकाइ राख्ने आधार हो । कवि परियारका कवितामा मानवताको पक्षमा, श्रमको पक्षमा, रुढिवादको विपक्षमा प्रभावकारी ढङ्गले अन्वेषण गर्ने काम भएको छ । जब स्रष्टाले निर्धक्क भएर विचार सम्प्रेषण गर्छ तब हल्लन्छन् विभेदका कमजोर पर्खालहरू त्यसैले पनि यी विभेदरूपी पार्खाल कुनै पनि अर्थमा राख्नु वाञ्छनीय छैन ।
नेपालको राजनीतिमा देखिएको छेपारे प्रवृत्तिप्रति कटाक्ष गर्दै उनी अगाडि भन्छन्;
आफैँले कोरेको बाटोलाई भुलेर
छेपारोले रङ फेरेझैँ
रातारात फेर्दै छन् मान्छेहरू बाटो (बाटो, पृ. २१)
उनी ढुक्कसँग आफू नदीजस्तै निरन्तर बगेर असमानता, अन्याय र अत्याचारको जरैसम्म न्यायपूर्ण आवाज सिंचन गर्न तल्लीन रहेको अभिव्यक्ति दिन्छन् । दलित र दलनको पीडा उनी र उनी जस्तै भुक्तभोगीले मात्र अभिव्यक्त गर्न सक्छन् ।
संसारको नक्सामा दौडेर
बनाउन सक्छ
सिङ्गो देशको आकार । (कैँची, पृ. ५६)
कैँची त एउटा साधन हो, यसले कलात्मक झन्डा सिलाउन आवश्यक आकार निर्माण गर्ने कार्यमा मद्दत गर्छ । आलङ्कारिक हिसाबले कैँची चलाएर जीवन गुजारा गर्नेहरू, घन ठोकेर कृषिको मेरुदण्ड बन्नेहरू, छाला जोडेर यात्रालाई सहज बनाउनेहरू सङ्गठित भई श्रम शोषणको विपक्षमा लाग्ने दिन आएकोतर्फ यहाँ प्रस्तुत छ । लाखौँ श्रमिकहरू आफ्नो रगत–पसिना किन र कहाँ बगिरहेको छ भन्ने थाहा नपाई वा थाहा पाएर पनि मुख नखोली बाँच्न बाध्य रहेका छन् । सचेत लेखकले यी र यस्ता विषयलाई गहिरो ढङ्गले नउठाए समाजमा रहेको रुढिले हामीलाई सर्लक्कै निल्ने मात्र होइन एक्काइसौँ शदीमा मानव सभ्यताको कलङ्कको रूपमा अभिलेख रहने विचार कविता सङ्ग्रहभित्र समवेत स्वर बनेर घन्किएको छ ।
प्रतिक्रिया