पराजुलीको ‘चित्रलेखाको चौरासी’

काठमाडौं । लेखक प्रज्वल पराजुलीद्वारा लिखित दोस्रो कृति ‘चित्रलेखाको चौरासी’ बजारमा आएको छ । लेखक नारायण वाग्लेलाई पुस्तक उपहार दिँदै उनले उक्त कृति सार्वजनिक गरेका हुन् । यो कृति ‘ल्याण्ड ह्वेर आइ फ्ली’ को नेपाली अनुवाद हो । यसअघि उनले लघुकथा संग्रह ‘द गुर्खाज डटर’ ल्याइसकेको छन् । सार्वजनिक कार्यक्रममा लेखक सगुना शाहले यो उपन्यास अंग्रेजी भाषामा पढिसकेकी सुनाइन् । उनले भनिन्, ‘कुशलतापूर्वक गरिएको नेपाली अनुवादमा भने यसका पात्र र परिवेशले अझ विविधता समेटेको पाएँ ।’

विभू लुइँटेलले नेपाली भाषामा अनुवाद गरेको यो कृतिलाई नेपालयले प्रकाशन गरेको हो । लेखक प्रज्वलले उपन्यास हजुरआमाको चौरासीका लागि संसारभरबाट भेला भएका सन्तानको भोगाइमा केन्द्रित रहेको बताए । उनले भने, ‘यो उपन्यास हजुरआमाको चौरासीका लागि संसारभरबाट भेला भएका सन्तानको भोगाइमा आधारित छ । त्यसैले अंग्रेजी पुस्तकमा प्रयोग गरिएको नाम ‘ल्याण्ड ह्वेर आइ फ्ली’ भन्दा नेपाली अनुवाद पुस्तकको नाम ‘चित्रलेखाको चौरासी’ अझ बढी सान्दर्भिक भएको महसुस गरेँ ।’

नेपालीमा अनुवाद गरिएको यो कृतिलाई विश्वभरका पाठकले अमेजनबाट खरिद गर्न सक्न् भने थुप्रै डट कमबाट यसको इबुक पनि किन्न सकिने नेपालयले जनाएको छ । यो उपन्यास तीन वर्षअघि ‘इमिल गिमेट प्राइज’ मनोनयनमा परेको थियो । यसको फ्रान्सेली अनुवादसमेत त्यसै वर्ष उक्त मुलुकको ‘फस्र्ट नोबल प्राइज’ को मनोनयनमा पर्न सफल भएको छ । यसैगरी बेलायतको ‘इन्डिपेन्डेन्ट’, अमेरिकाको ‘अ कान्सास सिटी स्टार’ र भारतको ‘हिन्दूस्तान टाइम्स’ ले आफ्ना समीक्षामा यसलाई वर्षकै उत्कृष्ट पुस्तकको सूचीमा समेत राखेको थियो । ३ सय ८८ पृष्ठको यस पुस्तकको मूल्य आठ सय ७५ रूपैयाँ राखिएको छ ।

प्रतिक्रिया