थारू संस्कृतिमाथि बहस

काठमाडौं । थारू संस्कृतिका विविध आयामबारे बहस भएको छ । काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो संस्करणमा बदलिँदो थारु संस्कृतिका बारेमा लेखक तथा अधिवक्ता शान्ति चौधरी, थारू संस्कृति अध्येता कृष्णराज सर्वहारी र रंगकर्मी सरस्वती चौधरीबीच बहस गरिएको हो । ‘थारू संस्कृतिः हिजो र आज’ विषयमा भएको उक्त कार्यक्रमको सहजीकरण सञ्चारकर्मी बुनू थारूले गरेकी थिइन् ।

थारू समुदाय पछिल्लो समय सांस्कृतिक रुपमा उदार बन्दै गएको अधिवक्ता शान्ति चौधरीले बताइन् । उनले पहिला अशिक्षा, अन्धविश्वास र रूढीवादी परम्परा रहेको बताउँदै विगतमा भन्दा पछिल्लो समय सांस्कृतिक रुपमा परिवर्तन हुँदै आएको विचार व्यक्त गरिन् । उनले भनिन्, ‘काठमाडौंमा छँदा मैले सबै सेवा सुविधा पाएँ । तर, मेरो परिवारले थारू चलन परिवर्तन गर्न सकेन । उहाँहरूले बाराकै केटासँग मेरो बिहे गरिदिनुभयो । त्यहाँ गएर निकै दुःख भोग्नुप¥यो । शौचालय पनि राति जानुपर्ने । सबैले नखाएसम्म खाना खान नपाइने । तर, अहिले त्यस्तो छैन ।’

अधिवक्ता चौधरीले पछिल्लो समय थारू समुदाय र अन्य समुदायबीच संस्कृति आदानप्रदान हुँदै गइरहेको बताइन् । उनले पहिले थारूहरू अरू समुदायसँग घुलमिल नहुने सुनाउँदै आफ्नो समुदायभित्र रमाउने हुँदा संस्कृति पनि उनीहरूबीच सीमित रहेको धारणा राखिन् । उनले भनिन्, ‘आधुनिक र वैज्ञानिक युगले गर्दा थारू संस्कृति र अन्य संस्कृतिबीच आदानप्रदान भएको छ । उनीहरू छोरीलाई पढाउने भएका छन् । रूढिवादी परम्परा पनि हराउँदै गएको छ ।’

सो कार्यक्रममा थारु संस्कृतिविद् सर्वहारीले थारू समुदायभित्र विविधता रहेको बताए । उनले पूर्वी नेपाल र पश्चिम नेपालका थारूको संस्कृति फरक फरक रहेको धारणा राखे । सर्वहारीले भने, ‘पूर्व र पश्चिमका थारूको संस्कृति फरक भएकैले पाठ्यक्रम निर्माणमा समस्या भयो ।’ उनले लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई थारू भाषा लागू गर्नुपर्छ भनेर सरकारले सिफारिस गरेको सुनाउँदै तर, कैलालीको एउटा गाउँपालिकाबाहेक कसैले पनि लागू नगरेको गुनासो गरे । उनले भने, ‘कैलालीले एक कक्षामा राखे पनि निरन्तरता दिएको छैन । एकदेखि पाँच कक्षासम्मको जनक शिक्षामा म पनि लेखक हुँ । त्यसमा पूर्वको एउटा र पश्चिमका थारूको भाषा फरक हुँदा पनि पाठ्यक्रम निर्माणमा समस्या आएको छ ।’

सर्वहारीले थारू लेखक संघ बनाएर थारू संस्कृति र साहित्यको संरक्षणमा योगदान गरिरहेको सुनाउँदै पूर्व र पश्चिमका थारू समुदायको भाषा र संस्कृतिमा विविधता रहेको विचार व्यक्त गरे । उनले थारू भाषालाई पाठ्यक्रममा समेट्नुपर्नेमा जोड दिए ।
सरस्वती चौधरीले थारु समुदायमा एकता हुन नसक्दा संस्कृति संरक्षणमा समस्या आएको जिकिर गरिन् ।

उनले कला र रंगमञ्चले थारू संस्कृतिको विस्तारमा सहयोग गरे पनि नाटकमा भने काम गर्न नसकेको सुनाइन् । उनले भनिन्, ‘थारू समुदायमा एकता नहुँदा पहुँचमा पुगेका थारूको पनि साथ पाउन सकिएन ।’ आइतबारसम्म चल्लने महोत्सवमा नेपालका विभिन्न संस्कृति र साहित्यका बारेमा बहस हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया