पहिरोले लघु जलविद्युतमा क्षति पुग्दा टुकिमै फर्किए खानीखोलावासी

काभ्रे । जिल्लाको खानीखोला गाउँपालिकाको लघु जलविद्युतमा बाटोको कारण पहिरोले खानीखोला नदी थुनिँदा पावर हाउसमा क्षति पुगेको छ । लघु जलविद्युतका अध्यक्ष फडिन्द्र तिमल्सिनाको अनुसार तत्कालीन साल्मेचाकल गाउँविकास समिति र साल्धारा गाउँ विकास समिति वडा न. ५ र ६ को समन्वयमा तत्कालीन जिल्ला विकास समिती काभ्रेको सहयोगमा ग्रामीण उर्जा विकास कार्यक्रम REDP को आर्थिक सहयोग तथा रिमरेक सस्थाको सामाजिक परिचालनमा मिति २०५७ साल देखि शुरूवात भइ मिति २०५८ साल देखि निरन्तर सञ्चालित थियो । उनका अनुसार खानीखोला दोस्रो लघु जलविद्युत उपभोक्ता समितीको विधुतको पावर हाउस हिजो देखि परेको अविरल वर्षाको कारण क्षति पुगेको हो ।

वाग्मती प्रदेशको आर्थिक सहयोगमा खानीखोला गाउँपालिकाद्वारा स्यार्ते देखि जन्ते सम्म खानीखोला कोरिडोरबाटो निर्माणको कारण पहिरो गएकाे बताइएकाे छ । खानीखोला उर्लेर करिव ३०० घरधुरीका उपभोक्ताहरु सँधैका लागि विधुतबाट बन्चित भएको बताइएको छ । खानीखोलाका स्थानीय निर्वाचित प्रतिनिधिहरुलाई पटकपटक पावर हाउस संरक्षण गर्न पहल गरिदिन अनुरोध गर्दा पनि बेवास्ता गरेको कारण आज आम उपभोक्ताहरुले टुकि बाल्ने अवस्था आइपरेको अध्यक्ष तिमल्सिनाले बताए ।

केन्द्रीय प्रसारण लाइन समेत नपुगेको सो ठाउँमा हालसम्म सोही लघु जलविद्युतकै भरमा गाउँपालिकाका, प्रशासन र बैंक समेत चलेको थियो । स्थानीयहरूले अब सो विद्युत अवरुद्ध हुँदा पुन ०५८ साल अघिकै हालतमा आफूहरु फर्किन विवश भएको बताए । उनीहरूले भने, ‘खानीखोला सरकारले न केन्द्रीय प्रसारण लाइनलाई प्राथमिकता दिन्छ, न स्थानीय लघु जलविद्युतलाई प्रमोट गर्छ । आज अरु छिमेकी कहाँ पुगिसके हामी पुनः टुकी बत्तिमा फर्किएका छौँ ।’

प्रतिक्रिया