पाल्पा । बजारमा आएका उन्नत जातका बिउको प्रयोगले परम्परागत बिउ पाउन मुस्किल परेको छ । परम्परादेखि नै लगाउँदै आएका अन्नबाली, तरकारी तथा फलफुलका बिरुवा हिजोआज किसानले लगाएको खासै देखिँदैन । छोटो समयमा धेरै उत्पादन लिन बजारमा आएका उन्नत तथा हाइब्रिड जातका बिउमा धेरैको आकर्षण बढेको छ । थोरै जग्गामा अन्नबाली, तरकारी, फलफूल लगाएर उत्पादन धेरै लिन किसानले रैथाने बाली लगाउन छाडेर उन्नत बिउ रोज्न थालेका हुन् । परम्परागतरूपमा लगाउँदै आइएका बाली क्रमशः हराउँदै गएको र हिजोआज उन्नत र हाइब्रिड सबैले प्रयोग गर्न थालेको रामपुरकी सीता देवकोटाले बताइन् ।
‘व्यावसायिकरूपमा खेती गर्न पुरानो जातका बिउले बढी उत्पादन लिन सकिँदैन, घरायसी प्रयोजनका लागि मात्रै खेती गरेर भएन,’ उनले भने, ‘धान, मकै तथा तरकारीको खेतीमा नयाँ जातको बिउ नै लगाउने गरिएको छ ।’ विगत एक दशयता तरकारी, धान, मकै, गहुँबालीमा उन्नत नै बिउ लगाउँदै आएको छ । स्थानीय जातको बिउ लगाउँदा लगानीअनुसारको उत्पादन लिन नसकिने कृषक देवकोटाले सुनाए । किसानले बजारका एग्रोभेटबाट नयाँ जातका बिउबिजन खरिद गरेर लगाउने गरेका छन् । गाउँ–गाउँमा एग्रोभेट खुलेपछि नयाँ जातका बिउबिजन खरिद गर्न सहज भएकाले स्थानीय जात हट्दै गएका हुन् ।
बाहिर बजारमा पुगेर बिउ खरिद गर्ने झण्झटले कतिपयले स्थानीय बिउ नै लगाउने गरेपनि पछिल्लो समय एग्रोभेटले नयाँ–नयाँ जातका बिउबिजन ल्याउन थालेकाले बिउ खरिद गर्न सजिलो भएको अगुवा किसान दिलबहादुर थापाले बताए । उनले करिब दस रोपनी भाडामाको जमिनमा तरकारी लगाउँदै आएका छन् । ‘जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्नेलाई स्थानीय जातको बिउ लगाएर हुदैन, स्थानीय जातमा धेरै रोगकीराले सताउने गर्दछ, बजारमा आएका नयाँ जातका बिउ बेला बेलामा खरिद गरेर तरकारी खेती गरिरहेको छु, उत्पादन राम्रै दिइरहेको छ,’ उनले भने ।
स्थानीय जातका बिउ लगाउँदा मिहिनेत र लगानीअनुसारको उत्पादन लिन नसकिने तर उन्नतले उत्पादन वृद्धि र रोगकीरा पनि कम लाग्ने गरेको कृषक थापाले सुनाए । उनले हरेक वर्ष बिरुवा राख्नु अगावै कृषि प्राविधिकसँग सल्लाह लिएर नयाँ जातका बिउ लगाउँदै आएका छन् । भण्डारण गरिएको गुणस्तरको बिउ पाइएपछि किसान यसतर्फ आकर्षित हुन थालेका हुन् । किसानले बर्सेनि एकै जातको भण्डारण नगरिएका धान, तरकारी बालीको बिउ प्रयोग गर्दा लगानी उठाउन समस्या परेको थियो ।
बजारमा पछिल्लो समय तरकारी, धान, मकै, गहुँ, र फलफूलमा नयाँ जातको गुणस्तरको बिउ आएपछि खेती गर्न सहज र धेरै उत्पादन लिन पाइने भएपछि पुरानो जात छाडेर नयाँ जातको बिउ धेरैले प्रयोग गर्न थालेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए ।
उनले भने, ‘रैथाने बाली केही ठाउँमा बिउ जोगाउन छिटफुट मात्रामा लगाउने गरिए तापनि सबैले बर्सेनि नयाँ र उन्नत जातका बिउ प्रयोग गर्ने गरेको पाइन्छ, राम्रोसँग भण्डारण गरिएको गुणस्तरको बिउ पाइने हुँदा उत्पादन धेरै लिन पुरानो बाली छाडेर नयाँ जातका बालीमा किसान आकर्षित छन् ।’
अहिले धानबालीअन्तर्गत सावित्री, सावा मन्सुली, यू यस ३१२ च्यापियन, राजा गोरखनाथजस्ता जातका बिउ चलनचल्तीमा छन् । पाल्पाको दोस्रो खाद्यान्न बालीका रूपमा रहेको धान बाहिरबाट निर्यात हुँदै आएको छ ।
प्रतिक्रिया