काठमाडौं । गायक तथा सर्जक जेबी ओलीले नयाँ गीत ‘राजा मार्ने देश’ बजारमा ल्याएका छन् । सोमबार गायक ओलीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको उक्त गीतमा गायक जबीकै शब्द, संगीत र एकल आवाज रहेको छ ।
गीत शब्दमा २०७८ सालमा पूर्वराजा विरेन्द्र परिवारको हत्यादेखि मदन भण्डारी र जिवराज आश्रीतको हत्या भएको समेत उठान गरिएको छ । साथै, माओवादीसँगको युद्धमा १७ हजार नेपाली मारिएको, निर्मला पन्तको हत्यारा पत्ता नलागेको र भागरथी भट्टको हत्यासम्मको विषय पनि गीतको शब्दमा उनिएको छ ।
त्यसैगरी राम्रो मान्छेको प्रशंसा नभइ खुट्टा तान्ने प्रवृत्ति, केही गर्छु भन्नेलाई सिध्याउने गरेको विषयलाई पनि गीतमा उतारिएको छ । उक्त गीतको भिडियोमा गायक जेबी ओलीले नै निर्देशन गरेका छन् भने दुर्गा पौडेलको छायांकन रहेको छ ।
नविन घर्ती मगरको सम्पादन रहेको उक्त गीतको भिडियोमा कलाकार सुरविर पण्डित (दाह्री बा), रश्मी भट्ट, बालकलाकार आयुशा गौतम, आशिका गौतम, आरुष भुसाल, भुवन खत्री, होमसिंह विश्वकर्मा लगायतले अभिनय गरेका छन् ।
गीतको भिडियो सार्वजनिक कार्यक्रममा गायक जेबीले आफ्नो कुनै व्यक्तिगत स्वार्थ नभइ देशमा भइरहेको व्यथिति र राजनीतिक विषयलाई शब्दमा उतारेको बताए । ‘मलाई कुनै व्यक्तिगत स्वार्थ छैन, जे मैले हाम्रो देशमा देखिरहेको छु, त्यही विषय गीतमा समावेश गरेको छु’, गायक ओलीले भने, राम्रो गर्छु भनेर देशमा जो अघि बढ्छ उसैको खुट्टा तानिन्छ, यस्तै विषय मैले समावेश गरेको हो ।’
साथै, उनले पूर्व पत्रकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले १२ भाई मिलेर आफूलाई अघि बढ्न नदिएको भनिएको प्रसंग पनि गीतको शब्दमा जोडेका छन् ।
गीत सार्वजनिक कार्यक्रममा गायक जेबीले भने, ‘रावि लामिछानेले १२ भाइले आफ्नो खुट्टा तानिरहेको आरोप लगाइरहँदा उहाँको भनाइ पनि गीतमा समावेश गरेको हुँ, कलाकारले समाजमा जे देख्छन्, त्यही कलामा उतार्छन्, मैले पनि त्यही गरेको हो ।’
उनले यसभन्दा अघि पनि विभिन्न मौलिक गीत बजारमा ल्याएको जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि एवं अधिवक्ता देनेश त्रिपाठीले उक्त गीतको शब्द र भावनाले देशमा भइरहेको विभिन्न व्यथितिलाई यथार्थपन बोलेको बताए । उनले गीतको यथार्थपनलाई समाजले पचाउन पर्ने पनि उल्लेख गरे ।
‘गीतले देशको यथार्थपन बोलेको छ, समाजले यथार्थ पचाउनुपर्छ’, अधिवक्ता त्रिपाठीले भने, ‘तर, हाम्रो समाज यथार्थपनबाट टाढै भाग्ने गरेको छ ।’ साथै, उनले गीतले केही विवादीत बनाए पनि कलाकारले सामना गर्न सक्नुपर्ने बताए ।
सोही गीतमा अभिनय गर्ने कलाकार रश्मी भट्टले देशको लागि आवाज उठाएको गीतको भिडियोमा अभिनय गर्न पाउनुमा आफूलाई भग्यमानी ठानेको बताइन् । कार्यक्रमलाई सम्बेधन गर्दै अभिनेत्री भट्टले भिडियोमा भनिय गर्ने क्रममा पनि आफू भावुक बनेको अनुभव सुनाइन् ।
उनले भनिन्, ‘मैले गीतको शब्द सुन्नासाथ भावुक बनेकी थिएँ, झन् अभिनय गर्न प्रस्ताव आएपछि आफैंलाई भाग्यमानी ठानेँ’, अभिनेत्री भट्टले भनिन्, ‘हाम्रो समाज यस्तै छ, राम्राको खेदो खनेर सिध्याइन्छ, त्यसैले देशले खोजेको राजनेता हामीले पाउँदैनौँ ।’
गीतको भिडियोमा आफूलाई अभिनयको मुख्य पात्रका रुपमा रोेजेकोमा गायक जेबी ओलीलाई उनले ध्न्यवाद समेत दिइन् । कार्यक्रममा कलाकार सुरविर पण्डितले पनि गीतले यथार्थ आवाज उठाएको भन्दै यसलाई सकारात्मक रुपमा लिन सबैलाई आग्रह गरे ।
प्रतिक्रिया