थ्री नेसन्स कपको उपाधिका लागि आज नेपाल र लाओस खेल्दै

काठमाडाैं । प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिको लागि आज घरेलु टिम नेपालले लाओससँग प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशालामा नेपाल र लाओसबीचको खेल बेलुकी ५ः३० बजे सुरु हुनेछ ।

किरण चेम्जोङको कप्तानीमा रहेको नेपाल लाओसलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्यमा छ । त्यसो त, लाओस पनि नेपालसँग यसअघि भोगेको हारको बदला लिँदै उपाधि जित्ने लक्ष्यमा छ ।

यसअघि समूह चरणको खेलमा नेपालले लाओसलाई २–० गोलले पराजित गरेको थियो । त्यो खेलमा नेपालका लागि अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरेका थिए ।

यता, लाओसले भुटानलाई २–१ गोलले पराजित गरेको थियो । नेपालले आफ्नो अन्तिम खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै फाइनलमा स्थान बनाएको थियो । नेपाल भुटानसँग बराबरी खेलेसँगै लाओस पनि फाइनलमा पुगेको हो ।

लाओसविरुद्ध जितको लागि नेपाली टिम हरेक रूपमा तयार रहेको यसअघि नै कप्तान किरणले बताई सकेका छन् ।

प्रतिक्रिया