एमालेको उम्मेदवार राष्ट्रपति नभए सरकार छाड्छौं : योगेश भट्टराई

रुकुम पश्चिम । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एमालेको उम्मेदवार राष्ट्रपति नभए एमाले सरकारबाट बाहिरिने बताएका छन् । बिहिवार प्रेस चौतारी रुकुम पश्चिमले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले यस्तो बताएका हुन् । सत्ता गठबन्धन टुटाउन एमाले नलागेको र माओवादीले सत्ता गठबन्धन बाहिरका उम्मेदवारलाई समर्थन गर्ने हल्ला चलेपछी एमालेका उम्मेदवार राष्ट्रपति नभए सरकारबाट बाहिरिने बताएका हुन् ।

आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनसँग सम्बन्धित रहेर भट्टराईलाई सञ्चारकर्मीले प्रश्न गरेका थिए । जवाफमा उनले भने, ‘सत्ता समिकरणमा भएको सहमति लाई निरन्तरता दिनुपर्छ । तर माओवादीले गठबन्धन टुटाउन कसर गर्यो भने त्यो ठुलो दुर्घटना हुनेछ ।’ गत पुस १० गते सरकार गठन गर्ने बेलामा नेकपा एमाले, माओवादी केन्द्रलगायतका सात राजनीतिक पार्टीबीच उच्चस्तरीय सहमति भएको र एमालेले त्यहि सहमति अनुसार पाँच वर्षसम्म सरकार चलाउने बताउदै पूर्वमन्त्री एवम् एमाले सचिव भट्टराईले सत्ता गठबन्धन भित्र फाटो ल्याउन कसैलाई पनि छुट नभएको बताए ।

नेकपा एमालेले सञ्चालन गरेको दुई महिने ‘मिसन ग्रास रुट’ अभियानको उद्घाटन गर्न विहिवार रुकुम पश्चिम पुगेका सचिव भट्टराईलेअस्थिर राजनीतिले कसैलाई पनि फाईदा नहुने भन्दै स्थिरताको राजनीति गर्न माओवादीलाई सुझाव दिए । प्रचण्डले यो गठबन्धन टुटाएर अवसर खोजिरहेको उनले आरोप लगाए ।

एमालेले प्रधानमन्त्रीलाई दिएको समर्थन र गठबन्धन जोगाउने जिम्मेवारी प्रचण्डको काधमा रहेको जानकारी दिए । सरकार निर्माणकालागि गत पुस १० मा भएको सहमति कार्यान्वयन नभए गठबन्धन भत्कने र एमाले सरकारबाट बाहिरिने भट्टराईको चेतावनी छ । उनले, ‘पुस १०गतेको छलफल र सहमति पछी एमालेले प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गरेको हो । त्यो सहमति भनेको, राष्ट्रपति एमालेलाई दिने, प्रधानमन्त्री र सभामुख आलोपालो गर्ने थियो। हामी त्यही सहमतिमा अडिग छौं ।’

भट्टराईले एमालेकै उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने बताए भट्टराईले सत्ता गठबन्धनको तर्फबाट एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने र त्यसमा राष्ट्रिय सहमति कायम हुनेगरी अन्य दलहरुले पनि सहभागिता जनाउने धारणा राखे । राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्य दलहरुसँग छलफल चलाइरहेको भन्दै सरकार गठनको बेला भएको सहमतिका आधारमा एमालेबाटै राष्ट्रपति हुने उनले बताए ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया