प्रधानमन्त्री हुने लालसा छैन : कोइराला

काठमाडौं, १७ पुस । कांग्रेस सभापति सुशील कोइरालाले आफूलाई प्रधानमन्त्री हुने कुनै लोभ नभएको बताएका छन् । ३७औँ राष्ट्रिय एकता तथा तथा मेलमिलाप दिवसको अवसरमा बिपी संग्रहालय सुन्दरीजलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सहमतीय सरकारको बाहेक आफू प्रधानमन्त्री नहुने उद्घोष गरे ।

राजनीतिक शक्ति निर्माणको आधार विचार भएकाले अरूलाई छक्याउने र झुक्याउने राजनीति नगर्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई कोइरालाले सुझाव दिए । ‘सहमतिको सरकारबाहेक म अरू सरकारमा प्रधानमन्त्री हुन्न’ कोइरालाले भने, ‘मलाई प्रधानमन्त्री हुने लालसा छैन ।’ राष्ट्रियतामाथिको संकट महसुस गरेर बिपी कोइराला ३७ वर्षअघि भारत प्रवास छोडेर मेलमिलापको नीति लिई स्वदेश फर्केको उदाहरण दिँदै कोइरालाले अहिले मुलुकको राष्ट्रियता इतिहासमै सबैभन्दा कमजोर बन्न पुगेको बताए । ‘नेपालको राष्ट्रियता यति कमजोर कहिल्यै भएको थिएन, दलहरूको बैठकमा पनि मैले भन्ने गरेको छु, मुलुक थङथिलो भयो’ कोइरालाले भने, ‘हामी मिल्न नसके मुलुकको अस्तित्व पनि रहन्छ कि रहँदैन भन्ने ठाउँमा पुग्नेछ ।’
कांग्रेस एकता सहकार्य र मेलमिलापको बाटोवाट हिँड्न चाहेको तर, त्यसलाई कमजोरी ठानेर माओवादीले ढाँट–छलको र छक्याउने राजनीति गरेको बताए । ‘प्रचण्डजी पनि सुन्दरीजल आएर भावुक बनेको भन्ने मैले सुनेको छु’ कोइरालाले भने, ‘भावुक बनेर मात्र भएन मेलमिलापको नीति अपनाउनु पर्‍यो छक्याउने उद्देश्यले काम गरेर हुँदैन, एकचोटी छक्याएर हुँदैन विचार ठूलो कुरा हो त्यो पराजित हुँदैन ।’
कोइरालाले धम्क्याउने, तर्साउने र छक्याउने खेल बन्द गर्न पनि सुझाव दिए । ‘अब कोही डराउँदैनन्, तपाईंहरू धम्क्याउने तर्साउने र छक्याउने काम अव छोड्नुस्’ कोइरालाले भने । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले इतिहासमै राष्ट्रियता कमजोर अवस्थामा पुगेको बताउँदै प्रधानमन्त्री र प्रमुख दलहरूलाई मेलमिलाप र सहमतिको बाटोमा हिँड्न सुझाव दिए ।

प्रतिक्रिया