“मोफसलका स्रष्टा पछि परेका छन्”

प्रगतिशील लेखन र साहित्यका क्षेत्रमा कलम चलाउँदै आएका केएल पीडितले गीत–संगीतको क्षेत्रमा पनि पाइला चालेका छन् । उनको गीत रहको एल्बम आह्वान बजारमा आइसकेको छ ।
साहित्य क्षेत्रमा ०४४/४५ सालदेखि अनवरत लागेका पीडितका आधा दर्जन कृति प्रकाशित छन् । ‘समयको कथा’ संग्रह, ‘सहर पसेपछि’, ‘झोला र सपनाहरू’ कविता संग्रह तथा ‘ह्दयका सरगमहरू’ गीति संग्रह प्रकाशित भइसकेका छन् ।
उनी पेसाले पत्रकारिता गर्छन् । उनको पत्रकारिताको पेसा भने ०५० देखि सुरु भएको हो । हाल उनी पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष र प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य पनि छन् ।
थारू भाषाको ऐतिहासिक चलचित्र ‘भुइँह्यार’ निर्माण तथा निर्देशन गर्न पनि पीडितले भ्याइसके । दाङको सौडियार–४, फचकपुरमा जन्मिएका पीडित नाटकमा अभिनय गर्न र लेखनमा पनि उत्तिकै रुचि राख्छन् ।
न माग सुनका, चुरा म सँग ।
नसोध उनका, कुरा मसँग ।
खोलेर आँखा यो, परिवेश हेर ।
कति रुग्ण छ, यो देश हेर ।
उदास छ आकाश, तारा जून छैन ।
रित्ता छन् बस्ती, पिठो नुन छैन ।
राष्ट्रियता र जनजीविकासँग जोडिएको यो भावनासँगै उनी एल्बमको दुनियाँमा प्रवेश गरे । मनको भाव छुने यही गीतलाई राखेर उनले ‘आह्वान’ रेकर्ड गराए । यसलाई स्रोताले मन पनि पराइदिएका छन् ।
एल्वमका सबै गीत उनी आफँैले सिर्जना गरेका हुन् । एल्बममा सातवटा गीत राखिएका छन् । रामकृष्ण ढकाल, शिशिर योगी, प्रमोद खरेल, रूपक डोटेल, बेदु सारुमगर, सुधा रत्न, निर्मला घिसिङ, दीपा महर्जनले एल्बममा स्वर दिएका छन् । सन्तोष श्रेष्ठ, माइला लामा, विकास चौधरी, यादव योगी र माधव अनुरागी चौधरीका संगीत छन् ।
आफ्ना गीत र सिर्जनामा सामाजिक, क्षेत्रीय, जातीय विभेदको अन्त्यका गरिनु पर्ने सन्देश रहने गरेको पीडितको दाबी छ । ‘गीतले मानिसहरूमा आकांक्षा, सपना, भावना जागृत गराउँछ,’ उनी भन्छन्, ‘मेरा गीत देशलाई माया गर्ने र माटोको सुगन्ध आउने खालका छन् ।’
उनले पत्रकारिता, साहित्य र कला क्षेत्रलाई समान रूपमा हिँडाएको छु भन्छन् उनी । ‘आर्थिक अवस्था नाजुक छ,’ उनको भनाइ छ, ‘थारू भाषाको चलचित्र बनाउँदा लागेको ऋण अझै चुकाउन सकेको छैन ।’
मोफसलका स्रष्टाहरू उपेक्षित रहेको उनको गुनासो छ । ‘क्रियाशील, क्षमता र साधना हुँदाहुँदै पनि मोफसलका सृष्टा पछिपरेका छन्,’ पीडित भन्छन्, ‘राजधानीले मोफसललाई स्थान दिनु पर्छ ।’
आर्थिक जोह भएमा उनले सामाजिक मुद्दालाई उठाएर चलचित्र बनाउन धोको रहेको बताए । यो उनको सानैदेखिको उद्देश्य हो ।
उनका आफ्ना गीतमा दु:ख, भोगाइ, विचार दर्शन, झल्कने उनी बताउँछन् । दु:ख र वेदनाबाट सिर्जिएका गीत सरल र सहजताबाट प्रफुष्टित भई सरर बग्छ भन्ने उनको मान्यता छ । ‘गीत–संगीतमा साहित्य बगेन भने सिर्जना राम्रो हुँदैन,’ उनले भने ।

प्रतिक्रिया