काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पुनः पुरानै पार्टी एमालेमा फर्कन सार्वजनिक रूपमा आग्रह गरेका छन् । सुर्खेतमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाललाई एमालेमै फर्कन आग्रह गरेका हुन् ।
एमालेबाटै विभाजित भएर नेपालले एकीकृत समाजवादी पार्टी स्थापना गरेका हुन् । एमाले विभाजन भएपछि ओलीले पहिलोपटक नेपाललाई एमालेमै फर्कन आग्रह गरेका हुन् । तत्कालीन नेकपाभित्रको विवाद र एमाले विभाजनपछि नेपालप्रति कटाक्ष गर्दै आएका ओलीले चुनावको मुखमा नेता नेपाललाई एमालेमा फर्कन आग्रह गरेका हुन् ।
ओलीले एमालेमा फर्किएमा नेपाललाई महत्वपूर्ण जिम्मेवारी दिने पनि बताए । तर, यसपटक पनि ओलीले सर्त भने तेर्साएका छन् । उनले एमालेमा फर्कनुअघि नेपालले विगतमा भएका गल्ती सच्याउनुपर्ने सर्त राखेका छन् । विगतमा भएका गल्ती सच्याएर एमालेमा आए अध्यक्ष नेपाललाई विगतका तिता कुरा बिर्सिएर महत्वपूर्ण जिम्मेवारी दिन एमाले तयार रहेको ओलीको भनाइ छ । नेपालले छुट्टै पार्टी स्थापना गरेपछि त्यसको असर एमालेमा पनि परेको छ ।
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा समेत त्यसको असर देखिएको थियो । स्थानीय तह निर्वाचनमा थुप्रै स्थानमा एमालेका उम्मेद्वार थोरै अन्तरले पराजित भएका थिए । एमालेले एउटा पनि महानगरको प्रमुखमा जित हासिल गर्न नसक्दा नेपाल नेतृत्वको एकीकृत समाजवादीले पोखरा महानगरमा प्रमुख जितेको थियो ।
यसैबीच, दैलेखमा आयोजित चुनावीसभामा भने एमाले अध्यक्ष ओली भीम रावलप्रति भने खरो रूपमा प्रस्तुत भएका छन् । रावलको विषयमा स्थानीयले चासो व्यक्त गरेपछि अध्यक्ष ओली रुष्ट बनेका हुन् । आफ्नो सम्बोधनका क्रममा स्थानीय कार्यकर्ताले ‘भीम रावल खोई’ भन्दै प्रश्न गरेका थिए ।
कार्यकर्ताले पटकपटक रावलको विषयमा प्रश्न गरेपछि ओली रुष्ट बनेका थिए । त्यसपछि रावलको विषयमा चासो देखाउनेहरूलाई ओलीले जवाफ फर्काए, ‘भीम रावलको त्यति धेरै माया लाग्या भए अछाम त्यहीँ पारिपट्टि छ, जानुस् ।’
रावल अछाम–१ बाट प्रतिनिधिसभाको उम्मेद्वारका आकांक्षी थिए । उनको नाम सर्वसम्मत एकल उम्मेद्वारका रूपमा सिफारिस पनि भएको थियो । तर, एमाले अध्यक्ष ओलीले रावललाई टिकट दिएका थिएनन् ।
प्रतिक्रिया