काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणको क्रममा सँगै गएका केही व्यक्ति नेपाल नफर्किएको समाचारहरू आएको विषयमा प्रतिनिधिसभामा प्रश्न उठेको छ । प्रधानमन्त्री ओली ‘संयुक्त राष्ट्रसंघीय विकास वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असार १४ मा स्पेन गएका थिए ।
स्पेन गएकामध्ये केही व्यक्ति भने उतै बसेको भन्ने हल्ला र समाचारहरू आएको भन्दै संसद्लाई जानकारी गराउन सांसदहरूले माग गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रधानमन्त्रीसँग स्पेन गएकाहरू नफर्किएका समाचारहरू आएको भन्दै यो गम्भीर विषय भएको बताइन् । ‘प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिस कार्यक्रममा सहभागी हुने बहाना गरेर गएको, तर नफर्किएको भन्ने समाचारहरू पनि आइरहेका छन्,’ उनले भनिन्, ‘यो व्यक्ति विशेष कसैप्रति पनि हाम्रो आरोप छैन, तर यो विषय अत्यन्तै गम्भीर विषय हो ।’
प्रधानमन्त्रीमाथि प्रश्न उठेपछि सत्तारुढ एमालेले भने सो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेको छ । एमाले मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीसँग स्पेन गएका व्यक्तिहरू नफर्किएको भन्ने भनाइ निराधार, कपोलकल्पित र भ्रामक भएको बताए ।
‘यस्ता कुराहरूलाई सभामुखले गम्भीरताका साथ नोटिसमा लिनुपर्छ । तथ्यहीन, भ्रमपूर्ण विषयहरूलाई यो संसद्को रेकर्डबाट हटाइनुपर्छ,’ उनले भने । बर्तौलाले को–को व्यक्तिहरू फर्किएनन् भन्ने कुरा संसद्लाई जानकारी गराउन चुनौतीसमेत दिए ।
यता, बर्तौलाको भनाइप्रति नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आपत्ति जनाए । उनले संसद्मा उठेका प्रश्नको जबाफ प्रधानमन्त्री वा मन्त्रीले दिनुपर्ने भन्दै आफूहरूले सांसदसँग जबाफ नमागेको बताए । ‘सांसदहरूको प्रश्नको जबाफ सरकारले दिनुपर्छ । हामीले माननीयहरूसँग मागेका छैनौँ,’ उनले भने, ‘जबाफ सांसदहरूबाट आइरहेको छ । यो संसद्लाई हेपिएको हो ।’
सभामुख देवराज घिमिरेले सांसदहरूले उत्तरदायीपूर्ण ढंगबाट अभिव्यक्ति दिने कुराको विश्वास आफूले राखेको भन्दै संसद्मा उठेका कुराहरूप्रति आफ्नो ध्यानाकृष्ट भएको बताउँदै बैठक अघि बढाए । प्रधानमन्त्रीको भ्रमणप्रति प्रश्न उठेसँगै परराष्ट्र मन्त्रालयले सरकारी प्रतिनिधिमण्डलका २८ जनाको मात्रै नामावली सार्वजनिक गरेको छ ।
प्रतिक्रिया