चर्को व्याजदरको विरोधमा कालोपट्टी बाँधेर प्रदर्शन

बाँके । जिल्लाको कोहलपुर नगर क्षेत्रका व्यवसायीहरू प्रदर्शनमा उत्रिएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले अस्वभाविक रूपमा वृद्वि गरेको व्याजदर र नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा निर्देशिका २०७९ परिमार्जनको माग गर्दै बुधबार कोहलपुरमा उद्योगी, व्यवसायीहरू विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

मंगलबार संघको कार्यालयमा बसेको बैठकको निर्णयअनुसार बैंक वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जाको व्याजदरले ढिलो चाँडो सबै उद्योगी व्यवसायीहरू सडकमा आउने परिस्थिति सिर्जना भएको हुँदा उद्योग वाणिज्य संघ कोहलपुरको अगुवाइमा व्यवसायीले विरोध प्रदर्शन गरेका हुन् । कोहलपुर न्युरोड चोकमा जम्मा भएका यस क्षेत्रका व्यवसायीहरूले ‘बैंक आतंक बन्द गर’, व्याजदर स्थिर गर, व्याजदर चर्को भो गरी खान गाह्रो भो’ लगायतका नारा सहितको प्ले कार्ड बोकेर व्यवसायीहरू नगरका विभिन्न भाग परिक्रमा गर्दै पुनः न्युरोड चोकमा पुगेर विरोध सभा गरेका थिए ।

विरोध सभालाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य एवं कोहलपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष चक्र अधिकारीले केन्द्रमा रहेका महासंघका केही केन्द्रीय पदाधिकारीहरू नै व्यवसायीहरूको खुन पसिना चुसेर बैंक वित्तीय संस्थाहरूलाई पृष्ठपोषण गर्न तल्लीन रहेको भन्दै महासंघको केन्द्रीय नेतृत्वको आलोचना गरे । बैंक वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जाको व्याजदरले सबै उद्योगी व्यवसायीहरू सडकमा आउने परिस्थिति सिर्जना भएको भन्दै आन्दोलनको विकल्प नरहेको बताउँदै अहिले कुनै पनि राजनीतिक दल व्यवसायीहरूको पक्षमा नदेखिएकाले व्यवसायीहरू नो भोटको अभियान चाल्न पछि नपर्ने चेतावनी दिएका छन् । हरेक राजनीतिक परिवर्तन तथा राजनीतिक गतिविधि सञ्चालन गर्न व्यवसायीहरूलाई नोट र भोटमा मात्र प्रयोग गर्ने तर व्यवसायीहरू मारमा पर्दै गर्दा कुनै मतलव नगर्ने प्रजातन्त्र र गणतन्त्रबाट व्यवसायीहरू आजित भइरहेको उनको भनाइ छ । व्यवसायीहको पक्षमा र हक हितका लागि अनसन बस्न तयार रहेको उनले बताएका छन् ।

यस्तै उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश सदस्य नरेन्द्रप्रसाद शर्माले बैंक वित्तीय संस्थाहरूले मनपरी रूपमा व्याजदर वृद्वि गर्ने परिस्थिति सरकारले सिर्जना गरेकाले सरकार यस विषयमा संवेदनशील बन्नुपर्नेमा जोड दिए । महासंघ लुम्बिनी प्रदेश सदस्य शर्माले सीमित १० देखि १२ जनाको चंगुलमा पुगेको देशको अर्थतन्त्र धरासायी भएको भन्दै कडा आलोचना गरेका छन् । ‘राष्ट्र बैंकले आर्थिक तरलताको विषयलाई प्रमुख मुद्दा बनाउँदा इतिहासमै धेरै मुनाफा अहिले बैंक वित्तीय संस्थाहरूले गरिरहेका छन्, यस विषयमा सम्बन्धित संयन्त्र मौन छ, अब कडा आन्दोलनको विकल्प नभएकाले हामी सडकमा उत्रन बाध्य भएका हौँ’, उनले भने ।

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति एवं चालु पुँजी कर्जा निर्देशिका ०७९ व्यवसायीहरूलाई धरासयी बनाउँदै बैंक वित्तीय संस्थाहरूको हितमा मात्र भएकाले अविलम्ब परिमार्जन नभएसम्म चरणबद्ध आन्दोलनको तयारी भइसकेको उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मणराज पौडेलले विरोध सभालाई सम्बोधन गर्दै व्यवसायीहरूलाई उठिबास लगाउने गरी गरिएको चर्को व्याजदर अबिलम्ब फिर्ता नभएसम्म आन्दोलित भइरहने प्रतिबद्वता जनाएका छन् । आन्दोलनको कार्यक्रमअन्तर्गत बिहीबार (आज) नेपाल राष्ट्र बैंकमा धर्ना र प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ध्यानाकर्षण सहितको पत्र बुझाउने कार्यक्रम रहेकाले बिहीबारको विरोध कार्यक्रममा सहभागी हुन सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई आग्रह अध्यक्ष पौडेलले गरेका छन्

प्रतिक्रिया