एमाले जीतको ‘ह्याक्ट्रिक’ मा र प्रभाव क्षेत्र तोड्ने गठबन्धनको दाउ

म्याग्दी । जिल्लामा ०५६ सालमा नेपाली कांग्रेसका नारायणसिंह पुन र ०६४ सालमा नेकपा माओवादीका गोविन्द पौडेलले सांसदको चुनाव जिने । ०७० सालमा एक्लै र ०७४ मा वाम गठबन्धन गरेर प्रतिनिधिसभा जितेको एमालेले म्याग्दीमा जितको ‘ह्याट्रिक’ गर्ने दाउमा छ ।
कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्वुजा (खम्बिर) तेस्रोपटक चुनावी मैदानमा उत्रिएका छन् । यसअघिको निर्वाचनमा दुईपटक पराजीत गर्बुजालाई यसपालि सत्तारूढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ । गर्बुजा र नेकपा एमालेका गण्डकी प्रदेश कमिटी सदस्य हरिकृष्ण श्रेष्ठबीच प्रतिनिधिसभा सदस्यमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । ०७० को दोस्रो संविधानसभाको निर्वाचनमा एमालेका नवराज शर्मासँग झिनो मतले पराजित भएका गर्बुजा ०७४ सालमा नेकपा एमालेका भूपेन्द्र थापासँग करिब २ हजार ३ सय मतले पराजित भए ।

गत स्थानीय तह निर्वाचनमा एमालेले चार वटा पालिका प्रमुख, तीन उपप्रमुख, २२ वडाध्यक्ष, कांग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष, १७ वडाध्यक्ष, माओवादीले दुई उपप्रमुख र ६ वटा वडामा अध्यक्ष जितेका थिए । स्थानीय निर्वाचनमा एमालेका वडाध्यक्षका उम्मेद्वारले २३ हजार ९०, कांग्रेसले १९ हजार ८ सय ७० र माओवादीले ८ हजार ५ सय ९२ मत ल्याएका थिए ।

दुई कार्यकाल जिल्ला अध्यक्षको नेतृत्व गरेर संसदीय चुनाव जिताएका श्रेष्ठलाई एमालेले सर्वसम्मत रूपमा प्रतिनिधिसभा सदस्यको उम्मेद्वार सिफारिस गरेको थियो । गत स्थानीय तह चुनावको नतिजा, बलियो संगठन, प्रभावशाली उम्मेद्वारका कारण चुनाव जित्ने आधार भएको एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवाल बताउँछन् । प्रदेशसभाको क्षेत्र (१) बाट कटुवाल उम्मेद्वार छन् । जिल्ला सदरमुकाम बेनी बजार अवस्थित तत्कालीन अर्थुंगे गाविसको एक कार्यकाल अध्यक्ष भएका श्रेष्ठले बेनी खानेपानी, रेडक्रस, म्याग्दी पुस्तकालयलगायत सामाजिक संघसंस्थाको पनि नेतृत्व गरेका थिए ।

नेपाली कांग्रेस म्याग्दीको दोस्रो कार्यकालका सभापति रहेका गर्बुजा बेलायती सेनाबाट सेवानिवृत्त भएपछि करिब २० वर्षदेखि राजनीतिमा सक्रिय छन् । ०७२ सालअघि एक कार्यकाल कांग्रेसको जिल्ला उपसभापति गर्बुजा ०६४ को चुनावमा कांग्रेसको समानुपातिक उम्मेद्वार थिए । दुई वटा चुनावमा पराजित भए पनि विचलित नभएर राजनीतिमा निरन्तरता दिएको तथा यसपालि गठबन्धनको पनि साथ रहेकाले चुनाव जित्ने गर्बुजाको भनाइ छ ।
गर्बुजाले भने, ‘दुईपटक चुनाव हारे पनि म्याग्देलीको सेवामा लागिरहेको छु । विचलित भएको छैन । यसपालि म जीतका लागि प्रतिस्पर्धामा आएको हो ।’ गर्बुजा बेलायती सेनामा हुँदा बास्केटबल, भलिबल र सुटिङ खेलाडी थिए ।

गठबन्धनको चुनाव परिचालन समितिका संयोजक कांग्रेसका जिल्ला उपसभापति कर्णबहादुर भण्डारी (केबी)ले तीक्तता र असन्तुष्टि मेटाएर टोलस्तरसम्म गठबन्धनलाई कसिलो बनाएर संयुक्त चुनाव प्रचारमा केन्द्रित भएको बताउँदै गठबन्धनको मतले चुनाव जित्ने दाबी गर्छन् ।
६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ मतदानस्थल र १ सय १९ वटा मतदान केन्द्र छन् । उम्मेद्वारहरू ग्रामीण क्षेत्रमा पुगेर घरदैलो गरी मतदाता भेटघाट र कार्यकर्ता भेला तथा प्रशिक्षण गरिरहेका छन् । सडक कालोपत्र गर्ने, भवन बनाउने, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार, विद्युत्, पर्यटन, कृषि, जलविद्युत् र जडीबुटीको क्षेत्रमा आयआर्जन र रोजगारीको अवसर सिर्जना गराउने उम्मेद्वारहरूको प्रतिबद्धता छ ।

कोहलपुरमा ६५ लाख लागतमा किरियापुत्री भवन

एसके विश्वकर्मा

बाँके । जिल्लाको कोहलपुर नगरपालिका–११ स्थित डुडुवा नाला नजिकै किरिया पुत्री भवन निर्माण भइरहेको छ । हालसम्म मृत्यु संस्कारका लागि कुनै पनि सुरक्षित क्षेत्र नभएको कोहलपुरमा अत्याधुनिक भवन निर्माण भइरहेको छ । कोहलपुर नगर विकास समितिको लगानीमा ठेक्का प्रक्रियामार्फत किरियापुत्री भवन निर्माण भइरहेको छ । कुल ७७ लाख लागत रहेको उक्त भवनको जय गणेश निर्माण सेवाले ५५ लाख निर्माण जिम्मा लिएको छ ।
भवन निर्माणको काम गत भदौ महिनादेखि सुरु भएको हो । फागुन मसान्तसम्म निर्माण समयावधि रहेको उक्त भवनको अहिले निर्माण कार्य भइरहेको छ । निर्माण व्यवसायी नैनबहादुर वलीले गत भदौदेखि निर्माण कार्य सुरु गरिएको बताए ।

उनका अनुसार दसैँ, तिहारको समयमा अत्यधिक वर्षाका कारण काम छिटो हुन सकेन । अहिले भने भवनको पहिलो तलाको काम सुरु भएको उनले बताए । दुई तले भवन र एउटा शौचालय निर्माणको जिम्मा आफूले लिएको उनको भनाइ छ । ‘काम सुरु भइसकेको छ । अहिले दुर्तगतिमा काम भइरहेको छ । समय मै सम्पन्न गर्ने गरेर हामी लागि परेका छौँ’, उनले भने ।

उक्त क्षेत्रमा एउटा अर्को किरियापुत्री भवन निर्माण सम्पन्न भइसकेको छ । कोहलपुर नगरपालिकाका निवर्तमान प्रमुख लूटबहादुर रावतले शिलान्यास गरेका थिए । किरिया प्रक्रियाका लागि एउटा भवन त्यहाँ निर्माण सम्पन्न भएको छ । उक्त भवन किरियापुत्री भवन निर्माण समिति र ब्रह्माण समाज कोहलपुर नगर कमिटीले निर्माण गरेका हुन् । यस भवनको कुल लागत १० लाख रहेको समाजका सचिव बालाराम खनालले बताए । उक्त भवन पनि कोहलपुर नगर विकास समितिको संरक्षणमा रहनेछ । समाजले त्यसको व्यवस्थापन गर्ने उनले बताए ।

उक्त भवन निर्माणका लागि लूटबहादुर रावत प्रमुख रहेको बेला गत आर्थिक वर्षमा नगरपालिकाबाट ७ लाख ६५ हजार रुपैयाँ सहयोग प्राप्त भएको उनले बताए । बाँकी तीन लाख रुपैयाँ समाजले चन्दा र दान प्रक्रियाबाट जुटाएर भवन निर्माण गरेको उनले बताएका हुन् । ‘एउटा भवन हामीले निर्माण गरिसकेका छौँ । फेरि पनि सुविधा सम्पन्न भवन निर्माणको लागि आग्रह गरेका थियौँ’, उनले भने ।

नगर विकास समितिले आफ्नै इन्जिनियर प्रयोग गरेर ठेक्कामार्फत नयाँ भवन निर्माण गरिरहेको छ । अब कोहलपुरवासीलाई सहज हुने अपेक्षा गरेका छौँ’, सचिव खनालले भने । कोहलपुर अहिलेसम्म आफ्नै दाहसंस्कार गर्ने स्थल छैन । यहाँ मानिस मर्दा राप्ती सोनारीको अगैया जानुपर्ने समस्या छ ।

प्रतिक्रिया