निर्वाचनभन्दा खाद्यान्न जोहोको चिन्ता

नेपालगञ्ज । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिँदै छ । आगामी मंसिर ४ गते हुने निर्वाचन आउन अब १८ दिन मात्र बाँकी छ । तर, निर्वाचनको मिति नजिकिए पनि बाँकेकोे नरैनापुरवासीमा भने चुनावको खासै रौनक देखिएको छैन ।

‘पाथी रोपेर मुरी फलाउने’ समयमा लामो खडेरी परेका कारण धान रोप्न नपाएका नरैनापुरवासीको भकारी यतिबेला रित्तिएको छ । खेतबारी पनि बाँभैm रहेको छ । अलिअलि रोपेको धान पनि गत असोजको अन्तिम साता भएको अविरल वर्षापछि आएको बाढीले बगाएको थियो ।
धानको बिउ रोप्ने समय असार, साउन र भदौ तीन महिना खडेरी परेको नरैनापुरमा असोजमा भएको बेमौसमी वर्षाले अधिकांश क्षेत्र डुबानमा परेको थियो । त्यसैले यतिबेला नरैनापुरवासी संघारमै आएको आमनिर्वाचनभन्दा पनि खाद्यान्न जोहोको चिन्तामा छन् ।

‘पानी चाहिएको बेला वर्षा नभएर खडेर पर्यो । त्यसैले धान रोप्न पाइएन । अलिअलि रोपेको धान पनि बेमौसमी वर्षाका कारण डुबानमा प¥यो,’ नरैनापुर–६ निवासी सोहनलाल यादवले आफ्नो दुःखेसो पोखे, ‘खडेरी र डुबानले पीडित नरैनापुरवासीलाई यतिबेला चुनावभन्दा पनि खाद्यान्नको जोहो कसरी गर्ने भन्ने चिन्ताले सताएको छ ।’
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि यस क्षेत्रबाट विभिन्न पार्टीका तर्फबाट उम्मेद्वार बनेका नेता तथा कार्यकर्ता नरैनापुरमा जाने गरे पनि स्थानीयले चुनावप्रति त्यति धेरै चासो नदेखाएको उनको भनाइ छ ।

नरैनापुर गाउँपालिका–१ कटकुइँया निवासी प्रमोद मिश्रा भने सुक्खाग्रस्त नरैनापुरमा खाद्यान्नको व्यवस्था र सिँचाइ तथा डुबानमुक्त गराउने नेतालाई भोट दिने बताउँछन् । आफूहरू खडेरी र बाढीको डुबानमा परेका नरैनापुरवासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने योजनासहित अगाडि बढेको नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वार बनेका सूर्य ढकालले बताए ।

बाँके क्षेत्र नं १ प्रदेश (१) मा पर्ने नरैनापुरमा सत्ता गठबन्धनबाट नेकपा माआवादी केन्द्रका नेता तथा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज उम्मेद्वार रहेका छन् । सत्ता गठबन्धनबाट प्रदेशसभा सदस्यमा माओवादी केन्द्रकी कृष्णा केसी उम्मेद्वार छिन् । एमाले–राप्रपा तालमेलबाट राप्रपाका नरेन्द्र पौडेल र जनता समाजवादी पार्टीबाट अमर खड्का उम्मेदवार छन् ।

समयमा पानी नपरेपछि धानबाली लगाउन नपाएर समस्या झेल्दै आएका नरैनापुरवासीलाई दैनिक छाक टार्न समस्या भएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । धान रोप्ने समयमा लामो खडेरी परेका कारण धान रोप्न नपाएपछि नरैनापुर गाउँपालिकालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न गाउँपालिकाले माग गरेको छ ।

प्रतिक्रिया