“म आफैँजस्तो बन्न चाहन्छु”

तपाइंको बुझाइमा संगीत के हो ? 

मेरा लागि संगीत एउटा दिनचर्या हो । प्रकृतिले दिएको क्षमताअनुसार भावनालाई आ–आफ्नै किसिमले उतार्ने माध्यम हो । यसले मौलिक सामाजिक संस्कृतिलाई पनि जोगाइरहेको हुन्छ । धनी–गरिबको विभेदबाट टाढा रहेको आपसी भावना नै संगीत हो जस्तो लाग्छ ।
तपाईंले पहिलोचोटि सुनेको गीत कुन हो ?
याद भएअनुसार स्व. तारादेवीको स्वरमा सजिएको शुभकामना भरी बोलको गीत थियो । पाँच वर्षको उमेरमा ०३५ सालतिर सुनेको थिएँ ।
तपाईंको जीवनसित मेल खाने कुनै गीत छ ?
दिनेश अधिकारीको रचना र यम बरालको स्वर रहेको आपैँmलाई बोलको गीत मलाई त्यस्तो लाग्छ । त्यो गीत पूरै सुन्नेले मेरो जीवन बुझ्छन् ।
तपाईंलाई सबैभन्दा मन पर्ने गीत ?
स्वरसम्राट् नारायणगोपालको प्रेयसीका यादहरू । यो गीतले नेपाली सांगीतिक क्षेत्रमा नयाँ ट्रेन्ड ल्याएको थियो । यो गीत अन्तर्राष्ट्रिय स्तरको छ ।
सांगीतिक क्षेत्रमा लाग्नुको कारण ?
मेरो रगत–रगतमा संगीत बगिरहेको छ । जुन रगतलाई म मरेर गए पनि नेपाली सांगीतिक क्षेत्रले आवश्यकता ठानोस् भन्ने चाहनाले नै संगीतमा लागेको हुँ ।
तपाइंले अहिलेसम्म कति गीतमा संगीत दिनुभयो ?
सांगीतिक क्षेत्रमा लागेदेखि अहिलेसम्म लगभग ६ सय गीतमा संगीत दिएको छु । लोक, आधुनिक र चलचित्रका गीतमा संगीत भरेको छु ।
तपाइंलाई मन पर्ने गीतकार, संगीतकार र गायक ?
मलाई मन पर्ने गायक नारायणगोपाल, रामकृष्ण ढकाल र यम बराल र पछिल्लो समयमा शिव परियार, प्रमोद खरेल हुन् । दिनेश अधिकारी, योगेन्द्रमणि दाहाल र वसन्त वित्यासी मन पर्ने गीतकार हुन् । नातिकाजी र गोपाल योञ्जन मन पर्ने संगीतकार हुन् ।
तपाईंलाई मन नपरेको कुनै हिट गीत ?
केही गीत त्यस्ता पनि छन् । श्रोताले अत्यधिक मन पराइदिएपछि केही भन्न नसकिने रहेछ । ती गीतमा कमजोरी निकै हुन्छन् तर श्रोताले त्यसको ट्युन मन पराइदिन्छन् । यस्ता गीत तोकेरै त भन्न सक्दिनँ तर मेरा आफ्नै रचना पनि केही त्यस्तै भए । मैले अपेक्षा नगरेका गीत श्रोताले निकै रुचाइदिएका छन् ।
आफूले संगीत भरेमध्ये चित्त बुझेका र नबुझेका गीत पनि छन् ?
मलाई अहिलेसम्म आफ्ना कुनै गीत चित्त बुझेका छैनन् । यो गीतचाहिँ धेरै राम्रो बनाएँ भन्ने लाग्दैन । त्यसै कारण त म अझै पनि राम्रो सिर्जना गर्ने सपना देखिरहन्छु । आफूलाई कहिल्यै पूर्ण मान्दिनँ, सधैँभरि संगीतको एउटा विद्यार्थी मात्रै ठान्छु ।
तपाईंलाई मन परेको शब्द–रचना ?
यात्रा–२ एल्बमको आज भने भोलि भने झुलाइरहेछु यो मनलाई, मिठा–मिठा सपना देखाई भुलाइरहेछु यो मनलाई गीतको शब्द निकै मन पर्छ । दीप श्रेष्ठले गाउनुभएको यो गीत योगेन्द्रमणि दाहालले रचना गर्नुभएको हो ।
तपाईं कोजस्तो बन्न चाहनुहुन्छ ?
संगीतकार राजु सिंहजस्तै बन्न चाहन्छु । बरु अरू जोकोही पनि मजस्तो बनोस् भन्न चाहन्छु ।
सांगीतिक क्षेत्रबाट अलग्गिनुपर्‍यो भने ?
त्यस्तो स्थिति सपनामा पनि नआओस् । संगीतविना बाँच्ने कल्पना पनि गर्न सक्दिनँ । त्यस्तो भयो भने बाँचे पनि मरेतुल्य अवस्था हुनेछ मेरा लागि ।

प्रस्तुति : विशाल राई

प्रतिक्रिया