काठमाडौं : विगत दश वर्षदेखि दुबई जेलमा मृत्युदण्डको सजाय भोग्दै आएका दार्चुलाधारीका अमरबहादुर बमको विषयमा वृत्तचित्र निर्माण भएको छ । ‘सरकार आऊ, मलाई बचाऊ’ नामक वृत्तचित्रलाई राजेन्द्र कुँवरले निर्देशन गरेका छन् । नरेन्द्र बमको निर्माण रहेको यस वृत्तचित्रलाई शंकर चैसिरले छायांकन गरेका छन् । अमरका अलवा नेपालको गरिबी, अशिक्षा र बेरोजगारीका कारण वैदेशिक रोजगारीका लागि बिदेसिएका युवाले ती विदेशी मुलुकमा कसरी अनाहक दु:ख पाइरहेका छन् भन्ने वृत्तचित्रले देखाउन खोजेको निर्देशक कुँवरले बताए । वृत्तचित्रमा पीडित अमरबहादुर बम किन दिल्ली हुँदै दुबई गए र उनको घरको स्थिति कस्तो छ, उनका आफन्तको अवस्था कस्तो छ, घरपरिवारका सदस्य कसरी दिन बिताइराखेका छन् ? आदि विषय झल्काउनुका साथै जेलमा रहेका अमरको विषय सरकारले के पहल गर्यो भन्ने विषयमा पनि समेटिएको छ ।
दुई वर्षको अध्ययनपछि दार्चुलामा रहेको अमरकै गाउँ र दुबईमा छायांकन गरिएको छ । वृत्तचित्र देश तथा विदेशका विभिन्न भागमा प्रदर्शन गरिने भएको छ । वृत्तचित्रले अमरलाई फाँसी हुने अन्तिम समयसम्म रिहाइका निमित्त पहल गर्न सरकारलाई दबाब दिने माध्यम सिर्जना हुने निर्माण पक्षले जनाएको छ । (सौस)
प्रतिक्रिया