दुबई : अभिनेता शिव श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । शुक्रबार राति दुबईमा सम्पन्न ‘बक्स अफिस फिल्म अवार्ड ०६९’ मा श्रेष्ठलाई यो अवार्ड प्रदान गरिएको हो । सोही कार्यक्रममा अभिनेता राजेश हमाल भने सर्वाधिक मन पारिएका नायक घोषित भए । दर्शकको मतका आधारमा यो अवार्ड बाँडिएको थियो ।
बक्स अफिस नेपाल र सन हिल्स फिल्म्स प्रोडक्सन दुबईको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा विभिन्न ३१ विधामा अवार्ड बाँडिएको थियो । उत्कृष्ट चलचित्रको अवार्ड ‘बाटोमुनिको फुल’ले जित्यो भने उत्कृष्ट निर्देशक सुरज सुब्बा नाल्बोले र उत्कृष्ट नायकको अवार्ड आर्यन सिग्देलले हात पारे ।
बाटोमुनिको फुलबाट यशकुमारले नवनायक, सुरेश अधिकारीले उत्कृष्ट संगीतकार, दीपक लिम्बूले उत्कृष्ट गायक र अन्जु पन्तले उत्कृष्ट गायिका अवार्ड हात पारे । उत्कृष्ट निर्माता ‘फस्ट लभ’ र ‘लुट’ निर्माण गरेका माधव वाग्लेले आफ्नो पोल्टामा पारे भने उत्कृष्ट वितरकमा नरेन्द्र महर्जन घोषित भए ।
कार्यक्रममा पुगेका अभिनेता भुवन केसीले राजेश हमाल र शिव श्रेष्ठसँगै नृत्य प्रस्तुत गरे । पछिल्लो समय हट बन्दै गएकी पूजना स्त्रीले सुरु गरेको सांस्कृतिक कार्यक्रमलाई निशा सुनुवार, सुमन सिंह, शंकर बिसी रेखा घिमिरे हुँदै राजेश, शिव र भुवनले अन्त्यसम्मै सांगीतिक माहोल तताइरहे । अवार्ड आगामी वर्ष पनि दुबईमै प्रदान गरिने भएको छ । (सौस)
प्रतिक्रिया