‘जहाँ तिमी, त्यहाँ म हुन नपाउँदा, तिमी रुँदा तिमीसँगै रुन नपाउँदा …’ भन्ने गीतबाट उचाइ लिएकी लिलु गुरुङले आफ्नो नयाँ एल्बम बजारमा ल्याएकी छन् । अमेरिका बसाइका क्रममा कोरिएका शब्दलाई नै उनले ‘तरंग–२’ मार्फत श्रोतामाझ ल्याएकी हुन् ।
गोरखाको सिम्जुङ–१ मा जन्मिएर कर्मथलो अमेरिका बनाएकी लिलुले यसअघि ‘तरंग’ एल्बममार्फत राम्रै पहिचान बनाइन् । सिम्जुङको सांगीतिक माहोलमा हुर्केकी लिलु आफ्नो मनको बहलाई गीतिशब्दमार्फत सार्वजनिक गर्छिन् । ‘अमेरिकामा रुन मन लाग्दा पनि रुन पाउँदिन,’ उनले भनिन्, ‘रुनका लागि समय निकाल्नु पर्छ ।’ त्यस्तै/त्यस्तै भावना समेटेर यसपटक पनि उनले शब्द कोरेकी छन् ।
उनले गीत/संगीत क्षेत्रमा डेढदशक पारगरिसकेकी छन् । लोकदोहोरी हुँदै सुगम संगीतको यात्रामा कलम चलाएकी लिलुले ‘तरंग–२’ मा राष्ट्रियसहित वियोगान्त गीत लेखेकी छन् ।
बिबी अनुरागीको एकल संगीत रहेको एल्बममा उदय सोताङ, मनिला सोताङ, सत्यराज आचार्य, दीपक लिम्बू, अञ्जना गुरुङ, रेखा शाह, स्वरूपराज आचार्य र चन्दा देवीले स्वर दिएका छन् । लोकदोहोरीमा रमाउने लिलुलाई सुगम संगीतमा जान सञ्चारकर्मी नवराज लम्सालले सुझाएका हुन् ।
‘जहाँ तिमी त्यहाँ म हुन नपाउँदा, तिमी रुँदा तिमीसँगै रुन नपाउँदा …’ बोलको गीतले त राम्रै चर्चा पाएको छ । ‘यो गीतको शब्द, लय, संगीतको संयोजन र श्रोताको मन छुनेखालका गीत भएकाले चर्चा पाएको हो । यो गीतका कारण अन्य गीत लेख्न बाध्य भएँ,’ गुरुङले भनिन् । त्यसो त यसभन्दा अगाडि पनि उनका अन्य गीतले चर्चा नपाएको भने होइन् ‘चौतारीको बर, नसोधे हुने थियो मै दु:खीको घर…’ ‘के हुन्छ कुन्नी…?’ आदिले पनि राम्रै श्रोता पाएका थिए ।
उनले दुई सय हाराहारीमा गीत लेखिसकेकी छन् । यीमध्ये हाँसेर बोलन, चौतारीको बर, के हुन्छ कुन्नी, नाता तोडे नि, शंका बढ्यो झन्, झरी पर्यो चरी रुझेको लगायत धेरैले राम्रै चर्चा पनि पाए पनि ।
गीत/संगीतमा लागेर गुमाउनुभन्दा पनि श्रोता, साथीभाइ, इष्टमित्र कमाएको बताउने गुरुङको यात्राको क्रममा पनि गीत लेख्ने बानी छ । ‘गीत फुर्यो भने गाडी चलाउँदै गर्दा गाडी रोकेरै पनि लेख्छु,’ उनले गीतप्रतिको आफ्नो लगाब दर्शाइन् ।
पारिवारिक सहयोगले आफू यहाँसम्म आएको बताउने उनले आफ्नै गीतमा निर्माण भएको म्युजिक भिडियोमा छोरीलाई पनि खेलाएकी छन् । अञ्जु पन्तले गाएको ‘एकोहोरो तिम्रो मन फर्किन्छ कि भनि जहाँ तिम्ले छोडी गयौ त्यहीँ छु आज पनि…’ र ‘जस्ले तिम्लाई ज्यानै दियो उस्कै कुरा तिम्लाई तितो भयो, आँखी गर्ने दुनीयाँको जाली कुरा तिम्लाई मीठो भो…’ आदि आफैँले लेखेका गीत उनलाई बढी मन पर्ने गीत हुन् ।
बेलाबेलामा लीलुका बारेमा उनले गीत लेख्न जान्दिनन् भन्ने हल्ला नचलेको भने होइन । ‘मैले गीत नलेख्ने भए म कसरी यो क्षेत्रमा टिक्न सक्थे र ? आरोप लाग्दैमा मलाई असर पर्दैन,’ उनले प्रस्ट्याइन् ।
पहिला त गाउने भए पनि स्वरले साथ नदिएर लेखनमा हात हालेकी उनी सोखका कारणले गीतलेखनमा लागेकी हुन् । उपहार एल्बमको ‘माझिदाइले जुनीभरि ढुंगा तारिरहे, अरूलाई तार्दातार्दै आफू चाहीँ वारी रहे…’, भक्तराज आर्चायको ‘मुटु जलिरहे छ….’ र नारायण गोपालको ‘यति धेरै माया दिई मनभरि दु:ख नदेऊ…’ उनलाई रोजाइएका गीत हुन् ।
पहिलाका गीत सुन्दा आनन्द आउँथ्यो । अहिलेका सुन्नेभन्दा पनि भिजुअलमा हेर्ने खालका मात्रै हुन्छन् । दीर्घकालीन गीत छैनन्, भिडियो नबनाउने हो भने गीत चल्दै चल्दैनन्, अहिलेका गीतबारेमा उनको धारण हो यो ।
प्रतिक्रिया