चलचित्रक्षेत्रले बौलाहा घोषणा गरेछ

यसरी छिरेँ चलचित्रमा

सानैदेखि स्कुलमा गीत गाउने, नाटक खेल्ले गर्थे । रेडियो नेपाल पनि आइपुग्थें कहिलेकाहीँ । विस्तारै यतैतिर लत बसेछ । एसएलसी पास गरेपछि साइन्स पढ्न काठमाडौं आएँ । पुतलीसडकमा बस्ने एमएस प्रधानाङ्गसँग भेट भयो । चलचित्रमा गीत लेख्नुहँुदो रहेछ । भेट बाक्लिदै जाँदा उहाँले एक दिन मलाई निर्देशक तुलसी घिमिरेसँग भेटाउनुभयो । तुलसी दाइले मलाई आफ्नो चलचित्रमा काम दिनुभयो । उहाँसँगै ‘लाहुरे’ को इडिटिङको लागि मुम्बई गएँ । त्यसपछि ‘कोसेली’ मा पनि काम दिनुभयो ।
भात खान किताब बेचें
म गाउँबाट आएको मान्छे । घरका सबै जना मैले सरकारी जागिर खाओस् भन्ने चाहन्थे । त्यति बेला जागिर खान सजिलो पनि थियो । तर म चलचित्रतिर लागेपछि बुबाआमादेखि आफन्तसमेत रिसाए । बोल्नै छाडे, मसँग कुनै हिमचिमै राखेनन् । चलचित्रमा लाग्दाका सुरुवाती दिनमा खाने, सुत्ने र बस्ने कुराकै समस्या भयो । न्युरोडमा प्रधानांग दाइको किताब बाइन्डिङ गर्ने अफिस थियो, त्यहीँ सुतें कति दिन त । अब भात खान पनि त पर्‍यो । मैले किताब बेचेर खर्च जुटाउने सुर कसें । होचा कलाकार लोकनाथ ढकाललाई पनि सँगै लिएर गएँ । बाटोमा म गीत बजाउँथें, लोकनाथ नाच्थे । वरिपरि झुम्मिएका मानिसहरूलाई मनोरञ्जन पनि गराउँदै किताब बेच्थ्यौं हामी । नत्र त मानिसलाई किताब किन्न के चासो र ? त्यो संघर्षले मलाई जीवनको अर्थ बुझायो, जीविकाको दु:खदायी संघर्ष ।
क्ल्याप ठोकेर कुलेलाम
‘कोसेली’मा छँदा क्ल्याप ठोक्ने काम गर्थें म । त्यसपछि ‘चिनो’ मा पनि त्यही काम पाएँ । क्ल्याप ठोक्नासाथ बेतोडले भागिहाल्नुपथ्र्यो । किनकि उति बेला नेगेटिभ निकै महँगो पथ्र्यो । मैले भाग्न ढिलो गरे केही नेगेटिभ त्यत्तिकै खेर जान्थ्यो । क्ल्यापब्वाइले त्यसमा पनि खुबी देखाउनुपर्ने ।
एउटा सट काठेपुलको बीचमा थियो । क्यामेरा सेटअप भयो । कलाकार पनि रेडी भए । म पनि क्ल्याप समाएर ठोक्न ठिक परें । यसो हेरें, क्ल्याप हानेपछि भाग्ने ठाउँ नै रहेनछ । यता फर्किउँ, क्यामेराले पूरै ढाकेको । उता जाऊँ, पुल निकै लामो, क्यामेरामा आफू पनि देखिहालिने । सोच्दासोच्दै तुलसी दाइले एक्सन भनिहाल्नुभो । म त के गर्नु,गर्नु † झ्याम्म खोलामै पो हाम फालेछु । धन्न, बालुवाको ढिस्कोमा परेर केही भएनछ ।
शिव दाइले आपत्मा पार्नुभो
‘चिनो’ मै होला सायद, वेगनाश तालमाथिको डाँडोमा सेट लगाइएको थियो । आकाशमा बादल लागेकाले लाइट पुगेन । अहिलेजस्तो खिचे पनि लाइट पछि मिलाउन त्यति बेला कहाँ मिल्थ्यो र ? केही बेरलाई सुटिङ ब्रेक भयो । नायक शिव श्रेष्ठ दाइले मलाई ताल किनारबाट बोलाउनु भयो । तुलसी दाइसँग सोधेर गएँ । शिव दाइले मलाई डुङ्गामा बसाएर तालको बीचमा लानु भयो । त्यति नै बेला सुटिङबाट बोलाए । शिव दाइलाई मलाई किनारमा पुर्‍याइ दिनु न भनेँ । तर उहाँ त लुगा खोलेर तालमा डाइभ पो हान्न थाल्नुभो । म डुङ्गामा एक्लै परें । न पौडी खेल्न आउँथ्यो न डुंगा चलाउन । अब डुंगा पल्टिहाल्छ, म डुबिहाल्छु भनेजस्तो लाग्यो । यति आत्तिएँ नि अहिले पनि जिउ सिरिङ्ङ हुन्छ । धन्न पछि उहाँ फेरि आएर सम्हाल्नुभयो ।
पाठ सिकियो
चिनोकै लागि देउघाटछेउको त्रिशूली किनारमा ‘बतासैले उडाइल्यायो’ गीतको छायांकन थियो । आर्टिस्ट कृष्टि र शिव दाइ । गर्मी महिना थियो, बालुवा तातेर ज्यानै रापिलो हुने । त्यति बेला लाइटम्यान रहेका दिपक बान्तवा र प्रेमा पौडीमा परफेक्ट रहेछन् । पौडी खेलेर त्रिशूली वारपार गर्न थाले । त्यही क्रममा प्रेमा ढुंगामा अड्किएछ । हात दिएर कराउन लाग्यो । त्यो देखेपछि आवेगमा आएर युनिटकै एउटा मान्छे उसलाई बचाउन हाम फालेछ । तर, उसलाई पौडी नै खेल्न नआउने, डुब्न लागेपछि हात दिएर कराउन थाल्यो । बचाउन जाने जोस त मलाई पनि आइरहेको थियो, तर पौडी खेल्नै नआउने भएकाले आँट गरिनँ ।
सुटिङमा राफ्ट पनि लगिएको थियो । त्यही चढेर हामी त्यो डुब्दै गरेको मान्छेको पछि लाग्यौँ । नजिकै पुगेका मात्रै के थियौं ऊ झ्याप्पै डुबिहाल्यो । त्यसपछि हराएको हरायै भयो, भेटिएन । यो घटनाले मलाई छिट्टै आवेगमा पनि आउनुहुँदो रहेनछ भन्ने सिकायो ।
अविस्मरणीय यात्रा
म कहिल्यै बम्बई गएको थिइनँ । ‘कोसेली’ चलचित्रको नेगेटिभ डेभलप गर्न जानुपर्ने भयो । रेलमा लैजान बन्देज थियो । काठमाडौंबाट झापा गएँ । चोर बाटोबाट नेगेटिभ लिएर सिलगुढी पुगेँ । कञ्चनजंघा एक्सप्रेसको टिकट काटेर कलकत्ता जाने ट्रेनमा चढें । रिजर्भेसन टिकट भए पनि मलाई सबै जना बस्ने ठाउँमा पो राखिदियो । सँगैको एउटा मान्छेलाई आफूलाई सहयोग गरिदिन भनें । उसले टिटीसँग सल्लाह गरेर मलाई अर्को रेलमा रिजर्भेसनमै बस्ने व्यवस्था गराइदियो । अब टिकटचाहिँ जनरल परेछ फेरि । चार–पाँच घन्टामै अर्को टिटी आएछ । उसले ‘जनरल टिकट लिएर रिर्जभेसनमा किन, ओर्ली नत्र पुलिस बोलाएर पठाउँछु’ भनेर थर्कायो । हजारी भन्ने ठाउँमा झरें, बिहानको तीन बजेको थियो ।
त्यहाँ एउटा ब्रोकर भेट भयो । उसले छाप लगाएर टिकट मिलाइदियो अनि स्टेसन म्यानेजरसँग भेट्टाइदियो । उसले सोध्यो– ‘तिमी नेपाली हौ ?’ मैले आफूले चलचित्रको नेगेटिभ ल्याएको कुरा जानकारी गराएँ । भन्यो– ‘धन्न, रेलबाट झरेछौ । पुलिसले समातेको भए ९ महिना जेल हुन्थ्यो ।’ मंगलसरामा ओह्रालिदिनू भनेर मलाई ट्रेनमा हालिदियो । मंगलसरा पुगेपछि त्यो टिटीले अब तिम्रो अर्को रेल यहीँ आउँछ भनेर गयो । त्यहाँ ब्रोकरले मलाई दुई सय ठग्यो । बिहान ८ बजे आउनुपर्ने रेल बेलुका ८ बजे मात्र आयो । भोकै र प्यासै बाह्र घन्टा बिताएँ। बल्लबल्ल आइपुगेको रेल चढें । इलाहाबाद पुग्दा बिग्रिएपछि चार घन्टा फेरि त्यत्तिकै थन्किनुपर्‍यो । बन्न त बन्यो तर मलाई पुग्नुपर्ने ठाउँभन्दा पचास किलोमिटर वरै ओह्रालिदियो । त्यसपछि अर्काे रेल, ट्याम्पु हुँदै बल्लबल्ल बम्बई पुगेँ । यो मेरा लागि अविस्मरणीय यात्रा हो ।
मूर्दा पोलेको हेरेर बसें
०४९/०५० तिर होला । मैले पहिलोचोटि दाइजो चलचित्र निर्देशनको अवसर पाएँ । निर्देशनमा हात हालेदेखि नै कहिले के मिलेन कहिले के ? १०–१२ दिन सुटिङ भएपछि रोकियो । बुझें– निर्माताहरूसँग पैसै रहेनछ । आफ्नो पैसा पनि केही फस्यो । मेरा लागि त यो करियरको कुरा पनि थियो ।
निर्देशनको पहिलो चलचित्रै अधुरो रहेपछि म केही अपसेट भएँ । कसैले त दयाराम दाहाल बहुलाएछ पनि भने । पत्रपत्रिकाले पनि नराम्रो लेखे । पैसा पनि सकियो । परिवारसँग बोलचालै बन्द भो, आफन्तहरूले पनि मद्दत गर्ने अवस्था देखिनँ । तनाबैतनाबले गर्दा झन्डै पागलै भएछु । बिहान उठेपछि पाए खाना खायो, नपाए पशुपतिमा मूर्दा पोलेको हेरेर बस्न थालें । तीन महिनाजति बित्यो ।
एक दिन न्युरोडस्थित फोटो कन्सर्नमा जाँदै थिएँ । त्यहाँ फोटोग्राफर माधव थापालाई देखेर बोलाएँ । ऊ त मलाई देखेपछि भाग्यो पो † त्यस दिन भेटिएका अरू चार–पाँच जनाले पनि त्यस्तै व्यवहार देखाए । लाग्यो– चलचित्र क्षेत्रले मलाई साँच्चै पागल घोषणा गरिसकेछ । मुक्त हुने बाटो खोज्न थाले ।
यत्तिकैमा राजन शाही, सञ्जय थापा र सञ्जयबाबु ढकालसँग पशुपतिमा भेट भयो । मलाई चलचित्र निर्देशन दिन लागेका रहेछन् । प्रस्ताव गरे, मैले स्वीकारें । यसरी बनाएको ‘भरिया’ चलचित्रले राम्रो व्यवसाय गर्‍यो । यसको डिस्ट्रिब्युसन मनोज राठीलाई दिइयो । नायक राजेश हमालले पनि उनैलाई दिन फोर्स गरेका थिए । राठी दुई चलचित्र डुबेपछि झापा फर्किएका थिए । भरियाले काठमाडौबाहिर एकदमै राम्रो व्यापार गर्‍यो । रिपोर्ट आएपछि सबै जना खुसी भए । हिजो मलाई पागल भन्नेहरूको भाषा नै फेरियो । भन्न थाले– ‘हामीलाई थाहा थियो, यो मान्छेले केही गर्छ ।’ सुख र दु:खमा मानिसहरूले आफूलाई हेर्ने दृष्टिकोणबारे अर्को राम्रो पाठ सिकें मैले ।
ठूल्दाइको सफलता
०५४ तिर होला, म ठूल्दाइ चलचित्र बनाउने तयारीमा थिएँ । शिव श्रेष्ठको भ्याल्यु घटिसकेको थियो । सबैले राजेशलाई हिरो लिन्थे । मैले पनि उनैसँग कुरा गरे तर एक वर्षपछि मात्रै समय दिन सकिने बताए । यसरी कुर्दा त हातमुखै बाँधेर बस्नुपर्ने अवस्था हुन्थ्यो । मैले शिवलाई लिने कुरा उठाएँ । डिस्ट्रिब्युटर राठीले भने– ‘चल्दैन, डब्बा हुन्छ ।’ उनीहरू पनि नयाँभन्दा बिकाउलाई नै बेच्ने न परे । नेपालका डिस्ट्रिब्युटरहरूमा नयाँ कुरा बेचौं, मार्केट बढाऊँ भन्ने सोच अहिले पनि छैन । ।
गीत राम्रा थिए, रेकर्डिङ भइसकेको थियो । शिव दाइलाई नै लिइयो । चलचित्र बनेपछि सबैले भयंकर बन्यो भने । तर पनि रिलिज नभएसम्म के थाहा हुन्थ्यो र ? सुरुमा दमक, नारायणघाट, पोखरा र बिर्तामोडमा रिलिज गरिने भयो । अघिल्लो दिन हामी बिर्तामोड पुग्यौं । भोलिपल्ट कस्तो व्यापार होला भन्ने डर थियो । बिहान चारै बजे साथीहरूलाई उठाएर हलमा जाऊँ भनेँ । सबैले भने, ‘यति चाँडै के जानु ?’ दमकचोकमा चिया खाएर ८ बजेतिर हलतिर लागें । पुग्दा त हलबाहिर खचाखच मानिस, भित्र छिर्नै सकिनँ । लगभग पाँच शो भरिने मान्छे देखिन्थे । विस्तारै भित्र छिरेर सोधें– यी सबै मान्छे ठूल्दाइ हेर्न आएका हुन् ? हो भन्ने सुनेपछि मलाई अचम्म त लाग्यो नै, खुसी पनि अति नै लाग्यो । झट्टपट्ट होटलमा फोन गरेर साथीहरूलाई बोलाएँ । उनीहरूले सोधे– दर्शक आएका छन् र ? मैले उत्साहित हुँदै भने– तिमीहरू छिरेर त देखाओ † पोखरा फोन गर्दा त्यहाँ पनि मारामार दर्शक आएको पाइयो । बुझें– इमानदारीसाथ गरिएको कामको परिणाम राम्रो हुँदो रहेछ ।
कस्सो ज्यान जोगियो
‘कहाँ छौ कहाँ’ को सुटिङका लागि जाँदै थियौं । म, गोबिन्द शाही, झरना थापालगायत भ्यानमा थियौं । अलि ढिलो हिँडेकाले नौबिसेमै खाना खायौँ । खाना खाएपछि ड्राइभरलाई भनें– ‘गर्मी छ, निन्द्रा लाग्न सक्छ, विस्तारै चलाउनस् है, आतिनु पर्दैन । आज नपुगे भोलि पुगिन्छ ।’
तर गुडेको दश मिनेटमै सलाईको बट्टा उफ्रेर थचारिएजसरी पल्टियो गाडी । हतारहतार सिसा फोरेर म र अर्का एक जना बाहिर निस्कियौँ । अनि अरूलाई पनि निकाल्यौं । अर्को गाडीमा राखेर मलेखुको सामुदायिक अस्पताल पुर्‍यायौं । म मुखसुख धोएर त्यत्तिकै बाहिरै बसिरहेको थिएँ । तर, एक्कासि गाह्रो पो हुन थाल्यो, जिउ दुख्न थाल्यो । नृत्यनिर्देशक कविराज गहतराजलाई भनेँ– ‘लौ मलाई पनि अस्पताल लैजाऊ †’ एक्स रे गरेर हेर्दा त सबैभन्दा घाइते मै पो भएको रहेछु । डाक्टरले केस सिरियस छ भने ।
दशैं आउन लागेको थियो । सुटिङबाट आएको पैसाले दशैं मान्ने योजना बनाइरहेकाहरूको मुख निन्याउरो भयो । क्यामेराम्यानले भने– ‘यी केटाहरूका लागि पनि सुटिङ त गरौं क्यारे †’
सुटिङमा मलाई तीन जनाले सीधा परेर राख्ने र बसाउने गर्थे । सुटिङ सकियो । फर्केर आउँदा नेपालगन्जमा फेरि डाक्टर देखाइयो । उनले भने– ‘तपाईं लक्की हुनुहुँदो रहेछ, तपाईको हड्डी मुटुलाई छेक्ने हाडमा अड्किएको रहेछ ।’ मान्छे मृत्यृको मुखमा पुग्ने बेला केही थाहा पाउँदो रहेनछ । किनकि गाडी जब उड्यो, भुइँमा नझरुन्जेल मैले अँध्यारो देखेको थिए । कहाँकहाँ ठोक्कियो थाहै भएन ।
प्रस्तुति : कुबेर गिरी

प्रतिक्रिया