काठमाडौ । आगामी शुक्रबार २२ देखि २६ मंसिरसम्म राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा १० औँ काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव किम्फको आयोजना हुने भएको छ ।
आयोजक हिमाल एसोसियसनले बुधबार राजधानीमा पत्रकार सम्मेलनमा यो जानकारी सार्वजनिक गरेको हो ।
महोत्सवमा २८ देशका ६२ फिल्म
(डकुमेन्ट्री, फिक्सन, छोटो फिल्म, एनिमेसन र प्रयोगात्मक) समावेश छन् भने नेपालका प्यानोरमातर्फ १० फिल्म छानिएका छन् । केसाङ छेतेनको नयाँ डकुमेन्ट्री हु विल बि अ गोर्खाको प्रदर्शनीबाट महोत्सव सुरु हुनेछ ।
महोत्सवमा कथानक फिल्म सुनगाभा , डकुमेन्ट्री– हनी हन्टर्स र ओस्कर अवार्डमा मनोनित फिल्म क्याराभान डकुमेन्ट्री हिमालयन गोल्ड रस समापन समारोहमा विशेष प्रदर्शन गरिने आयोजकले बताए । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी १८ फिल्ममध्ये पहिलो हुनेलाई १५ सय अमेरिकी डलर, दोस्रो तथा तेस्रोलाई एक हजार र पाँच सय डलर दिइनेछ । नेपाल प्यानोरमातर्फ उत्कृष्ट डकुमेन्ट्रीलाई माउन्टेन पिपल नामक नर्वेली संस्थाले ५० हजार रुपियाँ र फिक्सनतर्फ उत्कृष्टलाई चलचित्र विकास बोर्डले ३० हजार रुपियाँ पुरस्कार दिनेछ ।
‘एजुकेटिङ नेपाल’ शीर्षकमा छोटो फिल्म प्रतियोगिताका उत्कृष्ट दस फिल्म पनि देखाइनेछ । प्रतियोगी फिल्ममध्ये सर्वोत्कृष्ट तीन फिल्मलाई ७५ हजार, ५० हजार र ३० हजार रुपियाँ प्रदान गरिनेछ ।
लेखक तथा पर्वतारोही जोन पोर्टरको ‘लर्निङ टु ब्रेथ–फिफ्टी इयर्स इन द माउन्टेन्स’ विषयक प्रवचन, ‘च्यालेन्ज एन्ड रिलेभेन्स अफ ग्रासरुट फिल्म मेकिङ’ विषयमा अन्तक्र्रिया, फोटोग्राफी, वैकल्पिक पुस्तक प्रदर्शनी तथा डकुमेन्ट्री कार्यशाला महोत्सवको आर्कषण हुने आयोजकको दाबी छ । (सौस)
प्रतिक्रिया