काठमाडौ : नेपाली गायनमा विशिष्ट स्थान बनाएका अद्वितीय स्वरका धनी स्व.नारायणगोपाल गुर्वाचार्यको २२ औँ स्मृति दिवस राजधानीमा मंगलबार मनाइयो ।
काठमाडौंको किलागलमा जन्मिएका नारायणगोपालको विसं ०४७ मंसिर १९ गते निधन भएको थियो । उनको सुमधुर गीत–संगीतले लोकप्रियताको कीर्तिमान स्थापित गरेको छ ।
नेपाली सांगीतिक क्षेत्रमा नितान्त मौलिक स्वर र विशेष रागात्मक पहिचान बनाएर स्वरसम्राटको जनउपाधि पाउन सफल नारायणगोपालको समकक्षमा आजसम्म अन्य कुनै गायक पुग्न सकेका छैनन् । उनले गाएका सबै गीत कर्णप्रिय र हृदय झंकृत पार्ने किसिमका छन् ।
नारायणगोपाल संगीत कोषद्वारा आयोजित कार्यक्रममा वक्ताहरूले गीतका शब्द र भावनालाई संगीतमा ढाल्न उनी खप्पिस रहेको चर्चा गरे । उनका– प्रेयसीका यादहरू…, मन्दिरमा छ कि मूर्तिमा माया…, मलाई छोडी मेरो छायाँ कतै गएछ…, पर्खि बसेँ आउला भनी…, एउटा मान्छेको मायाले… जस्ता अनगिन्ती गीत अहिले पनि जनजिब्रोमा झुन्डिरहेकै छन् ।
प्रतिक्रिया