डेउडा सुदूरपश्चिमको संस्कृति र सभ्यता हो : प्रतीक

गायक/संगीतकार बिक्रम कुँवर ‘प्रतीक’ ले झुपडीका आवाज, पुर्चौंडी घुमौँला, मान्छे, मान्छे बिचको भेदभाव, काँछै मेरी मैना चणी, लिपुलेक हाम्रै हो, जाउँ है साथी लगायतका गीत तथा एल्बम ल्याएका छन् । पुर्चौंडी नगरपालिका ५, कुवाकोट, बैतडीमा जन्मिएका ३६ वर्षीय गायक प्रतीक दुई दशकभन्दा लामो समयदेखि राजनीति तथा सांस्कृतिक क्षेत्रमा क्रियाशील छन् । समाजशास्त्रमा स्नातकोत्तर गरेका उनी जनसांस्कृतिक महासंघ नेपालको केन्द्रीय उपाध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) सुदुरपश्चिम प्रदेश समिति सदस्यसमेत हुन् । नेपालमा ठुल–ठुला राजनीति आन्दोलन भए पनि त्यसको मर्म अनुसारको संस्कृति निर्माण हुन नसक्दा बारम्बार जनताले दुःख पाइरहेको बताउने प्रतीकले राजनीतिक नेतृत्वले यसमा सचेत हुनुपर्ने धारणा राख्छन् । नेपालको भौगोलिक, सांस्कृतिक, क्षेत्रीय, जातीय तथा बहुआयामलाई आत्मसात् गर्दै राज्य र राजनीतिक दलले विभेदरहित राज्यप्रणाली बनाउनु पर्नेमा जोड दिँदै उनले समाज रुपान्तरणका निम्ति सांस्कृतिक पक्षमा ध्यान दिनुपर्ने बताउँछन् । सुदूरपश्चिम प्रदेशमा रहेर राजनीति तथा संस्कृतिका क्षेत्रमा काम गरिरहेका जनवादी गायक प्रतीकसँग डेउडा संगीतका बारेमा गरिएको छोटो कुराकानीः

आधुनिकताको नाममा पश्चिमा संस्कृतिले नराम्रोसँग प्रभाव जमाएको देखिन्छ जसको कारण मौलिक संस्कृति र हाम्रा परम्परा बिस्तारै लोप हुनेतिर गइरहेको अवस्था छ । यसको मुख्य जिम्मेवारी त राज्यकै हो, तर राज्यलाई घचघच्याउने दायित्व हरेक तहका सांस्कृतिककर्मीको पनि हो

० डेउडा गीत संगीतको अवस्था कस्तो छ ?

– डेउडा गीत संगीतको अवस्था सामान्य नै रहेको छ, जुन स्तरमा देशभित्र र बाहिर यसको चर्चा र महत्व फैलिँदै जानुपर्ने हो खासै त्यो भने हुन सकिरहेको छैन ।

० खासगरी सुदूरपश्चिम तथा कर्णालीको मौलिक पहिचानको रुपमा स्थापित डेउडा लगायतका अन्य गीत संगीतको संरक्षण, विकास तथा प्रवद्र्धनका निम्ति के कस्ता अभ्यास भइरहेका छन् ?

–यहाँले भन्नुभएझैँ डेउडा खासगरी सुदूरपश्चिम र कर्णालीको मौलिक पहिचान र संस्कृति हो । यसको जगेर्ना, संरक्षण र थप विकासमा सम्बन्धित निकाय लाग्न जरुरी छ । यसको निम्ति विभिन्न क्षेत्रबाट पहल र कोसिसहरु झिनो रूपमा मात्रै भइरहेका छन् । खासगरी यो क्षेत्रमा लागेका संघ–संस्था र कलाकारहरुको आफ्नो प्रयास र योगदान रहिआएको छ । कलाकारको आफ्नो निजी प्रयासले मात्रै विकास र संरक्षण प्रयाप्त छैन । त्यसकारण सरकारी स्तरबाटै योजनाबद्ध ढंगले यसको विकास र महत्वबारे आवश्यक पहल चाल्न आवश्यक छ ।

० विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा समेत डेउडा लगायतका संस्कृतिका विषयलाई खासै समेटेको पाइँदैन’नि ?

–हो, सही कुरो भन्नुभयो । डेउडा केवल गीत मात्रै होइन यो सुदूरको संस्कृति र सभ्यता हो । यसलाई सरकारले पाठ्यक्रममा समावेश गर्नुपर्ने हो । यसमा कसैको ध्यान गएको देखिँदैन । अब विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा समावेश गर्नका लागि स्थानीय र प्रदेश स्तरको सरकारले सुरुवात् गर्न जरुरी छ ।

० केन्द्रिकृत सोचका कारण मौलिक संस्कृति लोप हुने अवस्थामा पुगेका छन् । यसको जिम्मेवारी कसले लिने ?

–आधुनिकताको नाममा पश्चिमा संस्कृतिले नराम्रोसँग प्रभाव जमाएको देखिन्छ जसको कारण मौलिक संस्कृति र हाम्रा परम्परा बिस्तारै लोप हुनेतिर गइरहेको अवस्था छ । यसको मुख्य जिम्मेवारी त राज्यकै हो, तर राज्यलाई घचघच्याउने दायित्व हरेक तहका सांस्कृतिककर्मीको पनि हो । जसको लागि हरेक क्षेत्रका सरकारले पहल चाल्न अति आवश्यक छ ।

० नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, स्थानीय, प्रदेश तथा संघीय सरकारले के कस्ता काम गर्नुपर्ला ?

–हाम्रो संस्कृति र मौलिकता जोगाउनलाई यहाँले माथि भन्नुभएका विभिन्न संघ–संस्था, प्रतिष्ठान र खासगरी तिनै तहको सरकारले बेला–बेलामा गोष्ठी, छलफल, भेला, अन्तक्र्रिया, प्रतियोगिता लगायतका विविध गतिविधिहरु गर्ने, सो क्षेत्रमा लागेका स्रष्टालाई सम्मान, पुरस्कार, सहयोग तथा प्रोत्साहन गर्नुपर्दछ ।

० यहाँ जनसांस्कृतिक महासंघ नेपालमा पनि आबद्ध हुनुहुन्छ, मौलिक संस्कृति जर्गेना गर्न राजनीतिक रुपमा के कस्ता कार्य गर्नुपर्ला ?

–राजनीतिक रुपमा पनि माथि भनेका कार्य गर्न हामीले तिनै तहको सरकारलाई आफ्ना कार्यक्रम र योजनासहित बेला–बेला खबरदारी गर्नुपर्ने देखिन्छ । ताकी तिनै तहको सरकारले यसलाई गम्भीरतापूर्वक लिँदै संरक्षण र जगेर्नाको लागि सकारात्मक भूमिका निर्वाह गरोस् ।

प्रतिक्रिया