पुनः प्रधानमन्त्री हुने प्रचण्डको दाउ !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुनः एक पटक प्रधानमन्त्री बन्ने मनसाय रहेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले देशलाई नयाँ युगतिर लैजान आफूमा प्रधानमन्त्रीको सपना घुमिरहेको बताएका हुन् ।
नेपाल पर्वतारोहण संघले शुक्रबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले देशको नेतृत्व गर्न पाए विद्यमान सबैखाले विकृति हटाउन अघि बढ्ने दाबी गरे ।

‘तपाईंहरू(संघका पदाधिकारी)ले भनेको कुरा आशीर्वाद हो भने अर्कोपल्ट देशको नेतृत्व गर्ने अवसर पाए विकृतिमाथि प्रहार गर्दै एउटा नयाँ युगतिर देश लैजानुपर्छ भन्ने सपना मेरो मनभित्र छ । मेरै नेतृत्वमा हजारौं नेपालीको बलिदान भएको छ, परिवर्तन ल्याउन,’ दाहालले भने ।

दाहालले पहिलोपल्ट प्रधानमन्त्री सपना हो कि विपना हो भन्दाभन्दै गएको र दोस्रो प्रधानमन्त्रीको कार्यकाल गर्व गर्नलायक रहेको दाबी गरे । ‘पहिलोपल्ट प्रधानमन्त्री हुँदा झिलीमिलीमै बित्यो । यो सपना हो कि विपना हो भनेर विचार गर्दागर्दै ९ महिना बित्यो । दोस्रोपल्ट प्रधानमन्त्री हुँदा साँच्चिकै धेरै चीज सुधार्ने प्रयास गरेको हुँ’, उनले भने ।

समृद्धिको यात्रा सुरु गर्ने मनसायका साथ राजनीतिक स्थिरता, विकासको सपना बोकेर अबको जीवन बिताउने सोचे पनि त्यो सफल हुन नसकेको दाहालको स्वीकारोक्ति छ ।

उनले वामपन्थीबीच एकता गरेर स्थायित्व, विकास र सामाजिक न्याय दिने सपना सफल नभएको गुनासो गरे । मुलुकमा देखिएको आर्थिक संकटलाई टार्ने पर्यटन क्षेत्र एकमात्रै भरपर्दो माध्यम भएको दाहालले बताए ।

प्रतिक्रिया