भजनी । कैलालीको टीकापुर नगरपालिका–२ का शंखर विश्वकर्माले आठ बिघा क्षेत्रफलमा केरा खेती गरेका छन् । चार वर्षदेखि केरा व्यवसाय गर्दै आएका शंखरको केरा बारी शनिबारको हावाहुरीले सोत्तर भएको छ । उत्पादनको अन्तिम चरणमा रहेको केरा सबै हावाहुरीले ढालेपछी शंखर छन् । जग्गा भाडामा लिएर केरा खेती गर्दै आएका उनी हावाहुरीले सबै केरा सखाप पारेपछि बारीमासमेत जान सकेका छैनन् ।
बैंकबाट ऋृण निकालेर व्यवसाय गरेका उनले हावाहुरीले व्यवसायबाट विस्थापित हुने अवस्था आएको गरेको बताए । ‘१ हजार २ सयभन्दा बढी केराका बोट कामै नलाग्ने गरी ढलेका छन्, त्यसमा पनि अधिकांश केरा घारी दिइसकेका थिए,’ शंखरले भने, ‘बारीमा गयो भने रुन मन लाग्छ, यसपालि त उत्पादन राम्रो होला भन्ने आशा थियो तर, त्यो आशा एकै दिनको हावाहुरीले उडाएर लग्यो ।’ कहिले दैवीप्रकोप त कहिले बजारीकरणका कारण मार खेप्दै आएको र यस्तै घटनाले काम गर्ने उत्साह मर्ने गरेको उनले बताए ।
यस्तै टीकापुरकै दिनेश सुनारले यस वर्षबाटै केरा खेती सुरु गरेका छन् । तीन बिघा क्षेत्रमा केरा खेती गरेका उनले पहिलो बालीसमेत भित्र्याउन नपाउलने भएका छन् । पहिलो उत्पादन दिइरहेको केरा हावाहुरीसँगै ढलेपछि दिनेशलाई पनि निकै पीडाबोध भएको छ । ‘एक महिनामा बजारका लागि तयार हुने केरा सबै हावाहुरीले सखाप पा¥यो, पहिलो उत्पादनबाट जग्गाको भाडा र बैंकको केही ऋृण कम गर्ने योजना थियो, सबै योजना चौपट्ट बनायो,’ दिनेशले भने, ‘कसरी जग्गाको भाडा तिर्ने अनि बैंकको ऋृण !’
दिनेशले केराको बीमा गरेका छन् । बीमाका लागि कागजात बनाउनै समस्या हुने भएपछि त्यसको औचित्य नभएको बताउँदै दिनेशले बीमाले उपलब्ध गराउने क्षतिको रकमभन्दा बढी कागजात बनाउनमै जाने भएकोले त्यसमा लाग्नु झन्झट भएको गुनासो गरे । किसानले बीमा बैंकको ऋृणको लागि मात्रै गर्ने गरेको उनले बताए ।
टीकापुरकै विनोद शाहले ०५८ सालदेखि केराखेती गर्दै आएका छन् । उनले अहिले पनि ५५ बिघा क्षेत्रफलमा केराखेती गरिराखेका छन् । टीकापुरमा व्यावसायिक केराखेती सिकाउने व्यक्तिमध्येको एक विनोदको २ हजार ५ सयभन्दा बढी केराका बोट हावाहुरीका कारण नष्ट भएका छन् । ‘मेरो केरा सानै भएका कारणले धेरै क्षति भएको छैन, जुन घारी तयार भएका थिए ती सबै ढलेका छन्,’ उनले भने, ‘अरू किसानको हेर्दा यसलाई मैले सामान्य लिएको छु तर, कतिपय किसानको ६० देखि ८० प्रतिशत केरा खेतीमा क्षति पुगेको छ ।’
केरा व्यवसायी टेकेन्द्र धामीलाई हावाहुरीले केराका बोट नष्ट गरेकोभन्दा बढी चिन्ता केराको बेर्ना नष्ट गरेकोमो छ । १२ बिघा क्षेत्रफलमा केरा खेती गर्दै आएका टेकेन्द्रले केही वर्षदेखि केराको बेर्ना उत्पादनलाई महत्व दिँदै आएका छन् । उनले ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बेर्ना उत्पादन गर्दै आएका छन् । तर, शनिबारको हावाहुरीले केराको बेर्ना उत्पादन गरेको टनेल उडाउँदा केराको बेर्ना नष्ट हुने चिन्ता बढेको उनले सुनाए ।
‘मैले दुई लाखभन्दा बढी बेर्ना उत्पादन गरेको थिए, अहिले पनि मसँग डेढ लाख बेर्ना छन्, हावाहुरीले टनेल उडाएपछि बेर्ना घामबाट जोगाउन मुस्किल भएको ।’ टेकेन्द्रले भने, ‘आजसम्म मैले टनेल बनाउन सकिनँ भने मैले एउटा केराको बेर्ना पनि जोगाउन सक्ने अवस्था नरहँदा मलाई लाखौंको क्षति पुग्छ ।’ उनले १२ बिघा क्षेत्रमा लगाएको केरा खेतीमा ६० देखि ७० प्रतिशत क्षति भएको बताए ।
उक्त सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख गोविन्दराज जोशीले हावाहुरीका कारण केरा खेतीमा भएको क्षतिको अनुगमन भइरहेको बताए । उनले अनुगमनपछि मात्रै केराको क्षतिबारे एकीन गर्न सकिने बताउँदै अनुगमनमा देखिएको अवस्थालाई प्रतिवेदनको रुमपा मातहतको मन्त्रालयमा पठाइने जानकारी दिए ।
‘किसानको भनाइअनुसार करोडौंको क्षति भएको भन्ने छ, हामी अनुगमन गर्दैछौँ, अनुगमनपछि क्षतिबारे थाहा हुन्छ,’ प्रमुख जोशीले भने, ‘त्यसपछि राहतको लागि मन्त्रालयलाई पत्राचार गर्ने र केराको बीमा गरेको किसानलाई बीमा कम्पनीसँग समन्वय गरेर क्षतिपूर्ति दिलाउने काममा समन्वय गर्नेछौँ ।’
प्रतिक्रिया