मत परिणाम कुर्दाकुर्दै हैरान बने ललितपुरका मतदाता

ललितपुर । धापाखेलका राजु महर्जन चार दिनयता दैनिक जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान आइपुग्ने गर्छन् । ललितपुर महानगरपालिकाको मतगणना भइरहेको सो प्रतिष्ठानको बाहिर बसेर भित्रको नतिजा थाहा पाउने तथा परिवार, आफन्त र साथीभाइलाई जानकारी दिनु उनको दिनचर्या बनेको छ । आफूले भोट हालेको पार्टीका समर्थकसँग दिनदिनै बसेर चिया खाँदै दिन कटाएको महर्जन बताउँछन् । स्नातकोत्तर अध्ययनरत उनी आफूले भोट दिएका व्यक्तिले जित्लान् कि नजित्लान् भन्ने चासोले गर्दा घरमा बस्न नसकेको सुनाउँछन् । मत परिणाम आउन ढिला हुँदा महर्जन र उनीजस्तै सरोकारवाला सबै हैरान छन् । कर्मचारी थपेर पनि चाँडो गणना सकाउनुपर्नेमा उनको जोड छ । अहिले २ र ३ वडाको मत गनिरहेकाले र आफ्नो वडा २४ नम्बरमा पुग्दा अझै धेरै दिन लाग्नसक्ने महर्जन बताउँछन् । उनी भन्छन्, ‘गर्भमा बसेको बच्चा १०÷११ महिनासम्म जन्मन नपाएको जस्तो भयो, भोट हालेको १०÷१५ दिन कुर्नुपर्ने भयो ।’

गाबहालकी सुनिता शाक्य पनि सन्तान बोकेरै जावलाखेल पुगेकी भेटिइन् । आफ्नो दिदी नै उम्मेदवार भएकाले चासो बढी लागेको उनी बताउँछिन् । चर्काे घाममा छाता ओढ्दै शाक्य मत परिणामको प्रतीक्षामा थिइन् । चाँडो नतिजा आए जे भए पनि ढुक्क हुने उनको भनाइ छ । देशभरका विभिन्न पालिकामा जस्तै ललितपुरका पालिकामा पनि मतगणना सुस्त हुँदा यहाँका मतदाता हैरान छन् । आफूले भोट हालेको चार दिन बित्दा पनि आफ्नो वडाको मतगणना सुरु नहुँदा उनीहरू दैनिक मतगणनास्थल आउने जाने गरेका छन् । सञ्चारमाध्यमबाट मत परिणाम घोषणा हुनास थाहा नहुने भएकाले आफू दैनिक मतगणनास्थल पुगेको यहाँ भेटिने मतदाता बताउँछन् ।

महालक्ष्मी नगरपालिकाको मतगणनास्थल इमाडोलमा भेटिए टीकाथलीका महेश अधिकारी । शनिबारदेखि नै बिहानै आएर साँझसम्म पनि मतपरिणाम के आउँछ भनी कुरेर बसिरहेको उनको पनि उस्तै भनाइ छ । आफूले मतदान गरेको पार्टीले जित्ने आधार देखिएकाले पनि कुरेर बसेको अधिकारी बताउँछन् । सिंगो पालिकाको अन्तिम परिणाम र आफू बस्ने वडाको परिणाम के आउला भन्ने चासो उनलाई छ । अधिकारी भन्छन्, ‘अब सबैले जितेपछि वा हार्ने निधो भएपछि मात्र आउन छोड्ने हो ।’

मतगणना सुस्त भएको र बाहिर परिणाम दिन अझै ढिलाइ भएको भन्दै अधिकारी निर्वाचन आयोगले त्यसमा सुधार गर्नुपर्नेमा जोड दिन्छन् । अहिलेसम्म जम्मा एउटा वडा मात्रै मत गणना सकिएकाले सबै सक्न अझै हप्तौँ लाग्नसक्ने देखिएको छ । आफूले हालेको मतको परिणाम थाहा पाउनका लागि धेरैजना घामपानी र दिनरात नभनी लागेको उनी बताउँछन् । उनी भन्छन्, ‘जसले जिते पनि अन्तिम रिजल्ट आए त हामी आआफ्नो काममा फर्कन पाउँथ्यौँ ।’

टेलिभिजन र अनलाइनमा अरू जिल्लाका पालिकाको नतिजा हेरे पनि आफ्नो पालिकामा एउटा वडाको नतिजा आउनै दुई दिन लाग्दा महानगरवासी हैरान छन् । महानगरको मतगणनास्थल जावलाखेल, गोदावरी नगरपालिकाको गणना भइरहेको बज्रबारही, महालक्ष्मीको इमाडोललगायत तीनवटै गाउँपालिकाको केन्द्रमा अहिले मतदाताको भिड छ । आफूले मतदान गरेको उम्मेदवारले जितेपछि खुसीयाली मनाउन बसेकाको प्रतीक्षाको अवधि लम्बिरहेको छ । कतिपयत आफ्नो काम छाडेर पनि यहाँ आइपुगेको बताउँछन् ।

जिल्लाका ६ पालिकामध्ये तीन वटै गाउँपालिकामा कम मतदाता भएकाले पनि धेरै समय नलाग्ने देखिएको छ भने नगरमा मत गणना सुस्त छ । शनिबार मत गणना सुरु भएकामा मंगलबारसम्म पनि कतिपय पालिकाको थोरै कम मात्रै मत गणना भएको छ । खासगरी ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकामा मतगणना सुस्त छ । दुवै पालिकामा हालसम्म एकएक वडाको मात्रै मत गणना भएको छ । यही गतिमा मत गणना हुने हो भने दुवै पालिकामा अझै एक साताभन्दा बढी लाग्ने देखिएको छ ।

मतगणनामा कर्मचारी पुगेनन् वा ठाउँको अभाव भयो भने व्यवस्थापन गर्ने जिम्मेवारी जिल्ला निर्वाचन कार्यालयको भएको जिल्ला निर्वाचन अधिकृत गोमा धमला घिमिरे बताउँछिन् । जिल्ला जनशक्ति व्यवस्थापन समितिले आवश्यक पर्दा जनशक्ति थप गर्नसक्ने भए पनि अहिलेसम्म कुनै पनि पालिकामा कर्मचारी पुगेनन् भनेर माग नभएको उनको भनाइ छ । ललितपुर महानगरपालिकामा शनिबार दुई ठाउँमा मात्रै गणना भएकामा आइतबारदेखि दुई ठाउँ थपेर अहिले चार ठाउँमा गणना भइरहेको र महानगरको बढी मतदाता भएका वडामा बढी समय लागेको निर्वाचन अधिकृत घिमिरेको भनाइ छ ।

महालक्ष्मी नगरपालिकामा धेरै विवाद हुँदा मतगणनामा ढिलाइ भइरहेको उनी उल्लेख गर्छिन् । वडा–१ र १० गरी दुई ठाउँमा मतगणना सुरु गरिएकामा १० मा मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र भेटिएको भनी विवाद भएको थियो । नगरमा गोदावरी नगरपालिकामा अरू नगरपालिकाको भन्दा छिटो मतगणना भएको पाइएको छ । तीन ठाउँमा मत गणना भइरहेकाले अबको एक÷दुई दिनमा सकिने अधिकृत घिमिरे जोड दिन्छन् । गाउँपालिकामध्ये कोञ्ज्येसोम गाउँपालिकामा एउटा वडामा थोरै मत मात्रै गणना गर्न बाँकी भएकाले आजै परिणाम आउन सक्ने देखिएको छ । अहिलेको गतिमा हुँदा बागमती गाउँपालिकामा चाँडै परिणाम आउनसक्ने देखिएको छ ।

सुरुमा भन्दा अहिले कार्यरत कर्मचारीको पनि गति बढेको अधिकृत घिमिरे बताउँछन् । सुरुका दिनमा सात÷आठ घण्टाको एक सिफ्टमा पाँच सय मतपत्र गनिने गरेकामा अहिले सात÷आठ सय मत गणना भइरहेको छ । ७१ वडा रहेको ललितपुरमा अहिलेसम्म झण्डै आधाको मत परिणाम आउन बाँकी छ । महानगरपालिकामा चार र महालक्ष्मी नगरपालिकामा एक वडा र गोदावरी नगरपालिकामा नौ वडाको गणना सकिएको छ । दक्षिण ललितपुरका गाउँपालिकामध्ये कोञ्ज्येसोम र महाङ्काल गाउँपालिकाकै मत परिणाम आइसकेको छ भने बागमती गाउँपालिकामा दुई वडाको परिणाम आउन बाँकी छ ।

प्रतिक्रिया