रोल्पा । रोल्पा नगरपालिका–२ रेउघाका ६२ वर्षीय गोपाल सुनार, ५९ वर्षीया आसार सुनार र ५७ वर्षीय प्रसाद सुनार बोल्न सक्दैनन् । जन्मजात नबोल्ने यो परिवार रोल्पा अस्पताल नजिक सरकारले बनाइदिएको घरमा बस्छन् । गरिबी निवारण र समृद्धिको नारा लिएर नेता कार्यकर्ता धेरैपटक उनको घर हुँदै चुनाव प्रचारमा ओहोरदोहोर गरिरहन्छन् । तैपनि कसैको दृष्टिमा उनीहरू पर्न सकेका छैनन् । बोल्न नसक्ने उनीहरू हातको इसाराले मात्र कुरा गर्छन् । उनीहरू घरमा खाना नभएपछि कैयौँ रात त भोकभोकै सुत्न पनि बाध्य हुन्छन् । राजनीति नजानेको यो परिवार पनि धेरैपटक सशस्त्र द्वन्द्वको सिकारसमेत भयो ।
घरमा न लत्ताकपडा छन् न त अन्नपात नै । मागेर पेट पाल्ने तीन दाजुबहिनीले हातको सारले कुरा गर्छन् । वृद्धावस्थाका कारण राम्रोसँग आँखा नदेखे पनि उनीहरूले दाम्ला, डोरी आदि बाटेर जीविका धान्ने गरेका छन् । जाडो होस् या गर्मी एक सरो कपडामा रहन्छन् उनीहरू । उनीहरूको खुट्टाले अहिलेसम्म जुत्ता चप्पल देख्न पाएको छैन । हिउँद होस् वा वर्षा खाली खुट्टा हिँड्नुको विकल्प छैन । बस्ने घर नहुँदा लामो समय नातेदारको घरमा बसेका उनीहरू पछिल्लोपटक सरकारले निर्माण गरेको घरमा बस्दै आएका छन् ।
दाजु गोपाल र भाइ प्रसादले गाउँलेको दाम्लो र डोरी बुन्छन् । दाम्लो र डोरी बुने वापत दिने दुई÷चार माना अन्न र सय÷पचास रुपैयाँ पाउँछन् र बाच्ने आधार यसैलाई बनाएका छन् । गाउँमा हुने विवाह तथा शुद्ध कार्यमा गएर कैयौँ दिनको छाक टार्ने गर्दछन् । वडा कार्यालयले गोपाललाई ज्येष्ठ दलित भत्ता वापत मासिक एक हजार र प्रसादलाई मासिक ६ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ । आसारा भने विवाह गरेर अन्यत्र गएको र पछि फर्केर आएको भनेर भत्ता दिइएको छैन ।
रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँ पारिवाङकी लालसरी घर्तीमगर बिरामी भएर थला परेको आठ वर्ष भयो । नौ वर्षको उमेरमै दुवै खुट्टा चल्न छाडेपछि कक्षा ३ मा पढ्दै गरेकी उनको पढाइमा विश्राम लाग्यो । अहिले उनी १७ वर्षकी भइन् । आमा भीमकुमारी घर्तीमगरको मृत्यु भएको चार वर्ष भयो । बुबा पनि अपांग छन् । बुबाको दुवै खुट्टाले राम्रोसँग काम गर्दैनन् । घरमा १४ वर्षकी विपना, नौ वर्षकी दीपा र ८१ वर्षीय हजुरआमा नौला घर्तीमगर मात्रै छन् । दुवै खुट्टा नचल्ने भएकी उनको अचेल कम्मर मुनीको भाग पनि चल्दैन । दायाँ खुट्टामा ठूला घाउ छन् । घाउ पाकेर पिप मात्र होइन उनको २४ सै घण्टा पिसाब पनि चुहिन्छ ।
उनलाई आमा हुँदा आमाले र आमाको मृत्युपछि सानी आमाले उपचारका लागि दाङ, काठमाडौं र काभ्रे पु¥याए तर घरको आर्थिक अवस्था कमजोर भएकी उनलाई पैसा अभावले राम्रो उपचार हुन पाएन । अस्पतालको शुल्क चर्काे छ सहयोग उठाएको दुई÷चार पैसा र ऋण गरेको रकमले सधैँ धान्दैन । उपचारकै लागि ऋण बढ्दै गएपछि सात लाखमा खेत पनि बेच्नुप¥यो ।
घर अगाडि तीन महिना खान नपुग्ने पाखोबारीबाहेक उनको परिवारसँग अब अरू केही छैन । साँझ बिहानको हातमुख जोर्न समस्या छ । अहिलेसम्म सानीआमाले चामल, मकै, दालको जोहो गरिदिएकी छन् । अहिलेसम्म जसोतसो साँझ बिहान खाने जोहो गर्दै आएको र आफ्नै परिवार पाल्न हम्मेहम्मे परिरहेको सानीआमा विर्षना घर्तीमगरले बताइन् ।
रोल्पा नगरपालिका र माडी गाउँपालिकाका यी दुई÷दुई प्रतिनिधि घटना हुन् । यस्तै गरिबीको अवस्थामा यहाँका अरू पनि कैयौँ नागरिक छन् । रोल्पाको कुल जनसंख्याको आधा अझै गरिबीको रेखामुनि छ । नेपाल गरिबी लघुक्षेत्र अनुमानअनुसार रोल्पामा गरिबको संख्या ५७ हजार ५ सय ४ छ । यो जिल्लाको कुल जनसंख्याको करिब आधा हो । जिल्लामा गरिबको यति ठूलो संख्या रहे पनि यहाँका राजनीतिक दलको प्राथमिकतामा गरिबी परेको छैन ।
चुनावमा तयार गरिने घोषणापत्रमा गरिबी प्राथमिकतामा नपर्ने गरेको रोल्पा नगरपालिका–२ का समाजसेवी भीमसेन घर्तीमगर बताउँछन् । पूर्वाधार लगायतका क्षेत्र रोज्ने दलहरू घोषणापत्रमै यो क्षेत्रलाई छुटाउने गरेको घर्तीमगरले भने । यहाँका स्थानीय सरकार गरिबमुखी कार्यक्रममा कहिल्यै अग्रसर हुँदैनन् । उनीहरू भ्युटावर जस्ता देखासिकी विकासमा लाग्ने गर्दछन् ।
सामाजिक–आर्थिक तथा अन्य दृष्टिले पछि परेको रोल्पा समग्र विकास सूचकांकमा नेपालका ७७ जिल्लामध्ये ६८औँ स्थानमा छ । यहाँका राजनीतिक दल र स्थानीय सरकार भने विकासको नमूना पस्किदै यहाँका अग्ला डाँडामा भ्युटावर बनाउने प्रतिस्पर्धामा छन् । बितेको पाँच वर्षमा तीन वटा र त्यसअघि एक गरी यहाँ चार वटा भ्युटावर बनिसकेका छन् । महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष तीर्था आचार्य भन्छिन्, ‘गरिबी निवारण हरेक दलको प्राथमिकताको विषय हुनुपर्ने हो तर रोल्पामा यो लागू भएको छैन ।’
प्रतिक्रिया