काठमाडौ । चालु आर्थिक बर्ष २०७८/७९ मा कूल गार्हस्थ उत्पादन (जीडीपी) को बृद्धिदर आधारभूत मूल्यमा ५.४९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । चालु आर्थिक बर्षमा जीडीपी ४८ खर्ब पुग्ने केन्द्रीय तथ्याँक विभागको आकलन छ । बजार मूल्यमा आधारित अर्थतन्त्रको आकार ४८ खर्ब र उत्पादन मूल्यको आधारमा ४२ खर्ब ७७ पुग्ने पनि विभागले बिहिबार सार्वजनिक गरेको आर्थिक बर्ष २०७८/७९ को राष्ट्रिय लेखा तथ्याँकमा उल्लेख छ ।
चालु आर्थिक बर्षको जीडीपीमा प्राथमिक क्षेत्रले २४.५ प्रतिशत योगदान गर्ने विभागको अनुमान छ । अघिल्लो आर्थिक बर्ष २०७७/७८ को तुलनामा चालु आर्थिक बर्षमा प्राथमिक क्षेत्रको कुल मूल्य अभिवृद्धि दरस्थिर मूल्यमा २.४४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । चालु आर्थिक बर्षमा बेमौसमी बर्षाका कारण धानवालीको उत्पादनमा क्षति भएकाले जीडीपीमा यो क्षेत्रको योगदानको बृद्धि दर कम देखिएको हो । प्राथमिक क्षेत्रअन्तर्गत कृषि, वन, मत्स्य र खानी तथा उत्खनन क्षेत्र पर्छन् ।
त्यस्तै चालु आर्थिक बर्षमा द्वितिय क्षेत्रले १३.७ प्रतिशतले जीडीपीमा योगदान गर्ने बताइएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षमा द्वितिय क्षेत्रको कुल मूल्य अभिवृद्धि दर स्थिर मूल्यमा १०.२९ प्रतिशत बृद्धि हुने अनुमान गरिएको छ ।
चालु आर्थिक २०७८/७९ मा आयात २० खर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरीएको छ भने निर्यात ३ खर्ब २० अर्ब पुग्ने आकलन छ । जस्को कारण व्यापार घाटा १७ खर्ब पुग्न सक्ने केन्द्रीय तथ्यांक विभागको अनुमान छ । चैत मसान्त सम्ममा व्यापार घाटा १३ खर्बभन्दा माथि पुगीसकेको छ ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजना गत आर्थिक बर्षको अन्त्यदेखि विजुली उत्पादन गर्न सुरु गरेकाले निर्माण कार्यमा तथा औद्योगिक उत्पादनमा भएको बृद्धिले यो क्षेत्रको कुल मूल्य अभिवृद्धि बृद्धिदरमा साकारात्मक प्रभाव परेको विभागको भनाई छ । द्वितिय क्षेत्रमा उद्योग, बिद्युत, ग्यास, पानीको आपूर्ति र निर्माण क्षेत्र पर्छ । यस्तै चालु आर्थिक बर्षको जीडीपीमा सेवा क्षेत्रले ६.१८ प्रतिशतले योगदान दिने बताइएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षमा सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि बृद्धिदर स्थिर मूल्यमा ५.९३ प्रतिशत हुने अनुमान छ । कोभिड महामारीले ऋणात्मक भएको आबास तथा भोजन सेवा र यातायात क्षेत्रको आर्थिक गतिविधी र व्यापार तथा निर्माण क्षेत्रका आर्थिक क्रियाकलापमा बृद्धि भएको विभागको भनाई छ । चालु आवको जीडीपीमा कृषि क्षेत्रले २३.९५ र गैर कृषि क्षेत्रले ७६.०५ प्रतिशतले योगदान गर्ने अनुमान छ । यो अवधीमा कृषि क्षेत्र(कृषि, वन तथा मत्स्य) को कुल मूल्य अभिवृद्धि २.३ प्रतिशतले बृद्धि हुने अनुमान छ ।
५ खर्बले बढ्यो अर्थतन्त्रको आकार
नेपालको अर्थतन्त्रको आकार एक बर्षमै ५ खर्ब रुपैयाँले बृद्धि भएको छ । अर्थतन्त्रको आकार चालु मूल्यअनुसार आधारभूत मूल्यमा ४१ खर्ब ५ अर्ब रुपैयाँ बराबर पुगेको विभागले जनाएको हो । अघिल्लो आर्थिक बर्ष २०७७/७८ मा चालु मूल्यअनुसार आधारभूत मूल्यमा अर्थतन्त्रको आकार ३६ खर्ब ६२ अर्ब रुपैयाँ बराबर थियो । आर्थिक बर्ष २०७६/७७ मा ३४ खर्ब २९ अर्ब रुपैयाँ थियो । अघिल्लो बर्ष २ खर्ब रुपैयाँले मात्रै अर्थतन्त्रको आकार बृद्धि भएको थियो । कोभिड महामारीका कारण थोरै आकारमा बृद्धि भएको थियो ।
१७ खर्बको व्यापार घाटा हुने प्रक्षेपण
विभागले चालु आर्थिक २०७८/७९ मा आयात २० खर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । यस्तै निर्यात ३ खर्ब २० अर्ब पुग्ने अनुमान गरेको छ । विभागको अनुमान अनुसार वैदेशिक व्यापार भए व्यापार घाटा १७ खर्ब पुग्ने अवस्था सिर्जना हुनसक्छ । चालु आर्थिक बर्षको ९ महिनामा व्यापार घाटा १३ खर्बभन्दा माथि पुगेको छ । यो अवधीमा १ खर्ब ६० अर्ब ५७ करोडको निर्यात भएको थियो । कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.१३ र निर्यातको हिस्सा ९.८७ प्रतिशत छ ।
प्रतिक्रिया