काठमाडौं । नेपाल पौडी संघको आयोजनामा २४औं खुल्ला तथा उमेर समुह पौडी प्रतियोगिता अर्काे साता आयोजना हुने भएको छ । संघले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १९औं विश्व पौडी प्रतियोगिता जुन २०२२, बुढापेष्ट, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा र १९औं एशियाली खेलकुद प्रतियोगिता २०२२ चीनलाई मध्यनजर गरी प्रतियोगिता २२ र २३ वैशाखमा आयोजना गर्न लागिएको बताए ।
प्रतियोगिता अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटो ललितपुरमा हुनेछ । प्रतियोगितामा २३ विधा समावेश गरिएको छ । करिव ६ लाख रुपैयाको लागतमा हुने प्रतियोगितामा कुल १ सय ५० पुरुष तथा महिला खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगिताबाट ५ भन्दा बढी राष्ट्रिय कीर्तिमानको अपेक्षा गरिएको छ ।
संघका महासचिव जगतमान श्रेष्ठले प्रतियोगिता १९औं विश्व पौडी प्रतियोगिताको अन्तिम तथा १९औं एशियाली खेलकुद (एसियाड) को लागि प्रथम चरणको छनोट रहेको बताए । संघका अध्यक्ष अशोक बज्राचार्यले एसियाडका लागि दुई ओलम्पियनसहित १८ खेलाडीको नामावली पठाइसकेको र एसियाडका लागि नवौं राष्ट्रिय खेलकुद अनिवार्य खेल्नुपर्ने बताए । एसियाडका लागि सम्भावित इभेन्ट्समा फिनाको अंकको आधारमा खेलाडी छनोट हुने बताए । संघले कोभिड १९ महामारीको कारण बिगत २ बर्षदेखि नेपालमा पौडी प्रतियोगिताहरु हुन नसकिरहेको अवस्थामा पौडीलाई चलायमान बनाउन यो प्रतियोगिताको सुरुवात गरिएको बताए ।
प्रतिक्रिया