कविता माइनस समाज इक्वेलस् टु जिरो

 

 

 

 

टंक उप्रेतीका कविता फूलजस्ता कोमल विम्बले ओतप्रोत हुन्छन् । हाम्रा गामबेँसीका गीतजत्तिकै जीवन्त हुन्छन् । गह्रौँ दर्शनका भारी क्लिष्ट शब्दले पाठकलाई बोकाउनुमा भन्दा सरल शब्दले गह्रौँ दर्शन पाठकलाई बुझाउन उनका कविता रुचाउँछन् । टेलिभिजन, प्राध्यापन र लेखनलाई सँगसँगै हिँडाएका उनले यी तीनवटै पेसालाई न्यंग्य गरेका छन् । उनका ‘अनुभूतिका अक्षरहरू’
(०५४, कवितासंग्रह), ‘शब्दहरूको नेपथ्य’ (०५६, संयुक्त कवितासंग्रह),
‘गजुर पग्लिएर’ (०५७, लामो कविता),
‘निगुरोको खरानी’ (०६४, लामा कवितासंग्रह) र
’खण्डित सपनाको गीत’ (०६८, निबन्धसंग्रह)
प्रकाशित छन् ।

टंक उप्रेती साहित्य किन लेख्छ ?
आºना अनुभूति र विचारहरूको अभिव्यक्तिका लागि साहित्य लेख्छ टंक उप्रेती । आफू बाँचेको समाजमा भएका घटना, गतिविधि र मु्द्दाहरूसँग आºना सरोकारहरूको अन्तक्र्रिया र आºना निष्कर्षलाई समाजमाझ राख्न ऊ निर्भिकतापूर्वक कलम चलाउँछ । आफूमा अन्तर्निहित आलोचनात्मक चेतबाट ऊ सामाजिक परिघटनालाई विश्लेषण गर्छ र त्यसको सारलाई कलात्मक ढंगबाट अभिव्यक्ति लिन्छ ।
तपाईं पत्रकार पनि हुनुहुन्छ । पत्रकारलाई त मिडियामा आफ्ना रचना छपाउन वा आफ्नो प्रचार पाउन सजिलो हुन्छ भन्छन् । तपाईंले  मिडियाको कत्तिको फाइदा लिनुभएको छ ?
नेपालमा प्रचारप्रसारका लागि व्यक्तिगत सम्पर्कको ठूलो अर्थ छ । मूलप्रवाहकै संचारमाध्यममा एक चौथाइभन्दा बढी खबर समाचार मूल्यभन्दा व्यक्तिगत सम्पर्कबाट छापिन्छन् । साहित्यिक पृष्ठहरू पनि अपवाद छैनन् । नयाँ किताब निस्कदा वा अन्य साहित्यिक गतिविधिहरू हुँदा मैले पनि पत्रकार साथीहरूलाई अनुरोध गर्ने गरेको छु । र, म सम्बद्ध सामग्रीहरूले मिडियामा स्वभाविक ठाउँ पनि पाएका छन् ।
जहाँसम्म मिडियाले लेखनको गुणस्तर र निष्पक्षतालाई आधार बनाउने कुरा छ, तिनले आफ्नो विश्वासनीयता र साखलाई कायम राख्न सकेका छैनन् । सम्बन्धित पृष्ठ संयोजक वा त्यसमा काम गर्ने पत्रकारहरूले नियतवश निकटका केहीलाई अस्वाभाविक रूपमा पटक–पटक ठाउँ दिई धरहरा बनाउने र बाँकीलाई स्थान नदिने, कम स्थान दिने वा अन्यायपूर्ण चित्रण गरी जमिनबाट उठ्न असहयोग गरेका कैयौँ उदाहरणहरू तपाईं पाउनु हुन्छ । यो गलत छ ।
तपाईंका कविता र निबन्धबाट समाजले के पाएको छ ?
मैले आफ्ना रचनाहरू प्रकाशन गरेर समाजलाई उपलब्ध गराएको छु । आफ्ना रचनाका माध्यमबाट समाजका विकृति विसंगति औँल्याएको छु । आफ्ना विचार र विश्लेषण पनि प्रस्तुत गरेको छु । मेरा अनुभूति, विचार, विश्लेषण र मैले सिर्जना गरेका कला पाठकहरूका लागि पनि समान, उपयोगी र महत्त्वका हुनेछन् भन्ने मेरो विश्वास हो । नेपाली सभ्यतालाई अझ उन्नत पार्न यी रचनाहरूले सानो भए पनि योगदान गर्नेछन् भन्ने मलाई लाग्छ ।
वर्तमान कवितामा महिला, दलित, मधेसी, जनजातिमध्ये जनजातिका स्वर शक्तिशाली रूपमा आइरहे पनि अन्य सीमान्त वर्गका स्वर किन कवितामा स्पष्टरूपमा नआएको होला ?
पछिल्लो समयमा नेपाली साहित्य व्यापक हुँदै आएको छ । विविध सांस्किृतिक सभ्यताका अन्तर्वस्तुको सुवासले नेपाली साहित्य अझ उन्नत बन्दै छ । जहाँसम्म कुन समुदायको कति स्वर आयो भन्ने कुरा छ, त्यो सम्बधित समुदायको चेतनाको स्तर, अवसर, कार्यतत्परता, सिर्जनशील क्षमता र सक्रियतामा निर्भर गर्छ । यदि, अवस्था तपाईंले भनेजस्तो हो भने त्यसका कारणहरू यिनै हुन सक्दछन् ।
अहिले साहित्यमा नियोमाक्र्सिजम् र उत्तरआधुनिकता चर्चामा छ, यसको बारेमा तपाईंको बुझाई के छ ?
उन्नाइसौँ शताब्दीको उत्तरार्धदेखि नै माक्र्सवाद अत्यन्त प्रभावशाली दर्शनका रूपमा संसारभरि नै चर्चामा छ । नियोमाक्र्सिजमले माक्र्सवादका आधारहरूमा टेकेर समाजको बदलिँदो गतिशीलतालाई सम्बोधन गर्दै ज्ञानका विविध क्षेत्रहरूमा महत्त्वपूर्ण योगदान गर्दै आएको छ । नियोमाक्र्सिजम संसारभरका विश्वविद्यालयहरूमा ज्ञान उत्पादनको आधारभूत दर्शन बनेको छ । उत्तरआधुनिकता पछिल्लो समयमा चर्चामा छ, सबै कुरा अटाउने छाताको रूपमा व्याख्या गरिएको यस विचारले गर्ने तर्क, विवेक र आधुनिकताका आधारभूत मान्यताहरूलाई अस्वीकार गर्ने कुरासँग सहमत हुन सकिन्न ।
अहिलेको कविताका केन्द्रीय स्वर के हो ?
मानवता । मानवीय सिर्जनात्मक क्षमताको अन्वेषण । पछौटे समाजको गुणात्मक रूपान्तरण ।
भनिन्छ, ‘कविताले संकटको क्षणमा समाजको साथ दिन्छ ।’ नेपालको सन्दर्भमा यो समयमा कविताले समाजको साथ कत्तिको दिइरहेजस्तो लाग्छ ?
कविता विशिष्ट सिर्जना हो । अभिव्यक्तिमा कविताको शक्तिलाई प्रतिस्थापित गर्ने अर्को कुनै विधा हालसम्म विकसित भएको छैन । कविता ग्रहणयोग्य अवस्था पाठकको विशेष अवस्था हो । यस्तो अवस्थामा कविताले अवश्यै समाजको साथ दिन्छ । कविता माइनस समाज इक्वेलस् टु जिरो । मानिस र कविता दुवै समाजका अभिन्न अंग हुन् । मानिसका दु:ख, सुख, विद्रोह र क्रान्ति सबैमा कविताले साथ दिएकै छ । तर, नेपालमा कविताको साथ लिएर लाभान्वित हुने जनसंख्याको हिस्सा भने तुलानात्मक रूपमा सानो भएको बताइन्छ ।
आफ्नै लेखाइप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
जति लेखेको छु, इमानदारीपूर्वक लेखेको छु । समाज र प्रकृतिसँगको अन्तक्र्रियाबाट नवीन कलाको उत्पादन गर्ने प्रयास गरेको छु । गर्न धेरै नै बाँकी छ ।
दुनियाँमा यति धेरै मान्छेले साहित्य लेखिरहेका छन्, तपाईंले नै किन लेख्नुपर्‍यो ?
मैले अनुभव गरेको अरूको भन्दा भिन्न छ । उस्तै अनुभव गरे पनि त्यसलाई भन्ने ढंग भिन्न छ । त्यसैले अरूको अनुभव र भनाईले मेरो अभिव्यक्ति दिन सक्दैनन् । अरूले फरक समय, फरक परिवेश, फरक दृष्टिकोणबाट जीवन भोगिरहेका छन्, मेरो आफ्ना कुरा समाजअघि राख्न नै म साहित्य लेख्छु ।
लेखनमा तपाईंको दु:ख के हो ?
नवीन कलाको सिर्जना गर्ने चुनौति । धारिला विचारलाई अझ प्रभावकारी पार्न मौलिक र नयाँ कला आवश्यक हुन्छ । लेखनमा भनाइको ढंग नयाँ हुनुपर्छ । प्रत्येक सर्जकको निजत्व यसैमा निहित हुन्छ । विचार र कलाको कुशल संयोजन र सन्तुलनले नै साहित्यलाई प्रभावकारी बनाउँछ ।
अहिलेको कविता लेखनको विकासमा माओवादी ‘जनयुद्ध’ र जनआन्दोलन भाग–२ ले कस्तो प्रभाव पारेको छ भन्ने लाग्छ ?
पछिल्लो समयमा कवितामा अन्तरसांस्कृतिक धडकन राम्रोसँग आएको छ । बहुसांस्कृतिक सम्पदाको प्रतिविम्बले नेपाली कविता धनी र व्यापक भएको छ ।
धर्म र ईश्वरबारे तपाईंको धारणा के छ ?
म दार्शनिक रूपमै यसबारे प्रष्ट छु । साथै सबैलाई प्रष्ट हुन आग्रह गर्छु । संसारको उत्पत्ति र जीवन र जगतको अस्तित्वका बारेमा दुईवटा मतहरू छन् । पहिलो, यो अदृश्य ईश्वरीय शक्तिले स्थापना गरेको हो । यसको सञ्चालन पनि उनैबाट भइरहेको छ भन्ने हो । र दोस्रो, जीवन र जगत्को उत्पत्ति र अस्तित्व लामो प्राकृतिक प्रक्रियाबाट स्थापित हो । यो प्राकृतिक नियमबाट चल्दछ भन्ने हो । मेरो पूर्ण विश्वास दोस्रो मतमा छ । यो विज्ञानसम्मत दर्शन हो र प्रमाणहरूबाट पनि पुष्टि पनि भएको छ ।
एक्काइसौँ शताब्दीमा सघन हँुदै आएका सांस्कृतिक साम्राज्यवाद, बजारवाद र  भूमण्डलीकरणले मानिस भ्रमित हुँदै बाँचेका छन् । यस्तो अवस्थामा कविता भ्रमित भएको छ कि छैन ?
भूमण्डलीकरणको जबर्जस्त प्रभाव संसारको जुनसुकै कुनामा बस्ने मानिसमा पनि परिरहेको छ । सांस्कृतिक प्रभाव, सांस्कृतिक अतिक्रमण, सांस्कृतिक साम्राज्यवाद र सांस्कृतिक तनाव यस अवस्थाका सहउत्पादनहरू हुन् । बलियाको संस्कृति विस्तार हुँदै जाने र कमजोरको संस्कृति खुम्चिँदै जाने क्रम बढ्दै छ । यसका बलिया जराहरू आर्थिक र राजनीतिक स्वार्थसँग पनि गाँसिएका छन् । तिनलाई चिन्नु, अवसरको उपयोग गर्नु र चुनौतीको प्रतिरोध गर्नु जरुरी छ ।
तपाईंका कविताको मूल आधार र आदर्श के हुन् ?
इमानदारी, आम मानिसहरूको पक्षधरता, नवीन कलाको अन्वेषण । म प्रतिरोध र आशाको कवि हुँ ।
तपाईंका प्रेम कविता प्रेम सफल भएपछि लेखिएका हुन् कि असफल भएपछि ?
प्रेम जीवनको निरन्तर प्रवाह हो । यही प्रवाहमा लेखिन्छन् कविताहरू । सफलता र असफलता त यसको परिभाषामा निर्भर हुन्छ । यो खहरेजस्तो होइन, नदीजस्तो हो सायद कुइनेटाहरूमा, हन्डरहरूमा, पहराहरूसँगको निरन्तरको संघर्षमा लेखिएका हुन्, प्रेम र जीवनका कविताहरू ।

प्रस्तुति : दीपक सापकोटा

प्रतिक्रिया