रिजालले ल्याए ‘पूर्वीय दर्शन मीमांसा’

काठमाडौं । लेखक कमल रिजालद्वारा लिखित ‘पूर्वीय दर्शन मीमांसा’ पुस्तक बजारमा आएको छ । पूर्वीय दर्शनसँग सम्बन्धित ४५ वटा निबन्ध समावेश गरिएको पुस्तकमा पूर्वीय दर्शनका विविध पक्षलाई केलाइएको छ । पाञ्चायन, संस्कृति, जीवन, दृष्टान्त र विविध दर्शनसित सम्बन्धित पाँच खण्ड पुस्तकमा रहेका छन् । लेखक रिजालले पुस्तकमा पूर्वीय दर्शनसम्बन्धी धर्म, दर्शन, संस्कृति, संस्कार तथा षड्दर्शनका विभिन्न पाटालाई केलाउने कोशिस गरिएको बताए ।

गोरखापत्रका पूर्वप्रधानसम्पादक रिजालको बाह्रौं कृतिको रुपमा यो पुस्तक आएको हो । यसअघि उनका ‘सुकर्म’, ‘सुदर्शन’, ‘दर्शनभित्रको दर्शन’, ‘दृष्टिभ्रम’, ‘सत्यवती’, ‘विश्वविख्यात वैदिक वैज्ञानिक’, ‘पौराणिकपात्र र मिथकहरू’ तथा ‘रत्न नीतिकथा संग्रह’ भाग एक, दुई र तीन प्रकाशित भइसकेका छन् । विद्यार्थी पुस्तक भण्डारले प्रकाशन गरेको यस पुस्तकले पूर्वीय दर्शनलाई सहज ढंगले बुझ्न सकिन्छ । लेखक रिजालले वेद, उपनिषद्, रामायण, महाभारत, ब्राह्मण, आरण्यक, गीता, ब्रह्मसूत्र, तथा पुराण र बौद्ध ग्रन्थको समेत अध्ययन, अन्वेषण गरी निष्कर्षका रुपमा पुस्तक लेखिएका सुनाए । पुस्तकमा रहेका सबै निबन्ध अनुसन्धानमूलक रहेका छन् ।

रिजालले पुस्तकमा पूर्वीय वैदिक दर्शनका विशेषता बुझ्न चाहने पाठकको तिर्खा मेट्न हरसम्भव प्रयास गरिएको बताए । पुस्तकमा लेखक प्रा.डा.लक्ष्मणप्रसाद गौतमले पुस्तक पूर्वीय दर्शनका मान्यता बुझ्न सघाउने जिकिर गरेका छन् । उनले भूमिकामा लेखेका छन्, ‘रिजालजीको प्रस्तुत कृति पूर्वीय वैदिक दर्शनका अतिरिक्त ती दार्शनिक मान्यताहरूका अभिव्यञ्जनासँग सम्बन्धित दार्शनिक पक्षबारे विविध किसिमले विश्लेषण गर्दै पूर्वीय दर्शनलाई व्यावहारिक तथा व्यावहारोपगी बनाएर लेखिएको कृति हो ।’ उनले कतिपय प्रसंगमा ज्ञानको पुनर्निर्माण भएकाले प्रस्तुत कृतिले अनौपचारिक अनुसन्धानमूलक कृति हुने अधिकार राखेको लेखेका छन् ।

प्रतिक्रिया