राष्ट्रिय च्याम्पियन टीका श्रेष्ठलाई अग्रता

काठमाडौं, २३ असोज । राष्ट्रिय च्याम्पियन सुनसरीका टीकाराम श्रेष्ठले सोमबार ६ सय पूर्णांकमा ५ सय ६९ अंक प्राप्त गर्दै राष्ट्रव्यापी खुला सुटिङ प्रतियोगिताको पुरुष १० मिटर एयर राइफलमा अग्रता लिएका छन् । पहिलो दिन आइतबार ५ सय ५७ को प्रदर्शन गरेका नेपाल आर्मीका कृष्ण घोरासैनी समग्रमा दोस्रो स्थानमा छन् भने नेपाल प्रहरीका हरिबहादुर थापा ५ सय ५५ अंकसाथ तेस्रो स्थानमा छन् ।
नेपाल सुटिङ संघद्वारा आयोजित प्रतियोगिताको पुरुष १० मिटर एयर पेस्तोलको दोस्रो दिन ६ सय पूर्णांकमा काठमाडौंका विपेश खड्काले ५ सय २२, बाँकेका मोहम्मद असाद खानले ५ सय १८ तथा आर्मीका हेमबहादुर बुढाथोकीले ५ सय ९ अंक बटुले । समग्रमा विपेश तेस्रो स्थानमा छन् भने आर्मीका सुदन खड्का (५ सय ५१ अंक) पहिलो तथा बाग्लुङका केबी पुन (५ सय २४ अंक) दोस्रोमा छन् ।
महिला १० मिटर एयर राइफलको ४ सय पूर्णांकमा प्रहरीकी फूलमाया क्याप्छाकीले ३ सय ८०, प्रहरीकै मनिका राईले ३ सय ५६ तथा सप्तरीकी खुस्बु चौधरीले ३ सय ५३ अंकको प्रदर्शन गरे । दोस्रो दिनको खेल सकिँदा फूलमाया दोस्रोमा छिन् । रूपन्देहीकी स्नेहाराज्यलक्ष्मी राणा ३ सय ८६ अंकमा पहिलो तथा प्रहरीकी दुर्गा सिन्जाली ३ सय ७६ अंकमा तेस्रो स्थानमा छन् ।
सातदोबाटोस्थित सुटिङ रेन्जमा भएको महिला १० मिटर एयर पेस्तोलमा प्रहरीकी सरस्वती बानियाँले ४ सयमा ३ सय ६३ अंक बनाउँदै समग्रमा अग्रता बनाएकी छन् । पहिलो दिन समान ३ सय ४१ अंक बटुलेका प्रहरीकी सीमा तुलाधर दोस्रो तथा आर्मीकी सुनीता महर्जन तेस्रो स्थानमा छन् । सिरिज सटका आधारमा सीमाले सुनीतालाई उछिनेकी हुन् । दोस्रो दिन दाङकी विष्णुकुमारी पुनले ३ सय ३४ तथा ललितपुरकी रुबिना श्रेष्ठले ३ सय ३३ अंक बटुले ।
मंगलबार सबै चार स्पर्धामा शीर्ष ६ स्थानमा रहने खेलाडीको टुंगो लागेपछि पुन: उनीहरूबीच उपाधिका लागि भिडन्त हुनेछ । फाइनल बुधबार हुनेछ ।
प्रतियोगितामा पुरुषमा ४४ र महिलामा ३२ गरी कुल ७६ खेलाडी सहभागी छन् । व्यक्तिगत चार स्पर्धा समावेश प्रतियोगिताको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमश: १० हजार, ७ हजार र ५ हजार रुपियाँ नगद पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया