शशांकले त्यतिबेला मन्त्री बन्ने इच्छा राख्दै अरूका निम्ति त्याग नदेखाएको भए उनलाई गिरिजाप्रसाद कोइरालापछि प्रधानमन्त्री बन्न र पार्टी सभापति बन्न कुनै शक्तिले रोक्न सक्दैनथ्यो । देउवा र सुशील कोइराला भन्दा पहिले नै शशांक कांग्रेसको सभापति र मुलुकको प्रधानमन्त्री बनिसक्ने थिए । तर उनले त्याग गरे । तर त्याग गरेकै कारण शशांक जुनियर र पद पड्काएकै कारण आफू सिनियर हुँ भनेर कांग्रेसका अरू नेताहरूले भन्नु धृष्टता मात्रै हो ।
१४औँ महाधिवेशनको सरगर्मी बढ्दै गर्दा नेपाली कांग्रेसभित्र को सिनियर को जुनियर ? भन्ने प्रश्न घनिभूत रूपमा उठिरहेको छ । यही प्रश्नका कारण इतर पक्षले सभापतिको उम्मेदवार अझै टुंगो लगाउन सकेको छैन । त्यसो त संस्थापन पक्षभित्र पनि सिनियर र जुनियरको मुद्दा नउठेको होइन । सभापति शेरबहादुर देउवाको विकल्पमा उपसभापति विमलेन्द्र निधिले सभापति पदमा दावी गर्नासाथ गोपालमान श्रेष्ठले निधिभन्दा आफू सिनियर भएको अभिव्यक्ति मात्रै दिएनन्, उनले भने, ‘देउवा पछि सिनियारिटीको नाताले संस्थापन पक्षबाट सभापति पदमा उम्मेदवार हुने म हो, निधि होइन ।’
जो व्यक्ति पहिले माथिल्लो पदमा पुग्यो उही व्यक्तिलाई सिनियर कायम गर्ने परिपाटी ब्युरोक्रेसीमा हुन्छ । तर, यही परिपाटी नेपालका राजनीतिकदलमा पनि हावी भएको देखिन्छ । कुन व्यक्ति पहिले माथिल्लो पदमा पुग्यो ? भन्ने मापदण्डलाई आधार मान्दा सभापतिका आकांक्षीहरूमध्ये देउवा पछि सबैभन्दा सिनियर गोपालमान श्रेष्ठ हुन् । उनी ०६२ सालमा नेपाली कांग्रेस ( प्रजातान्त्रिक) को कार्याबहाक सभापति बनेका थिए । श्रेष्ठपछि रामचन्द्र पौडेल सिनियर हुन्, उनी सुशील कोइरालाको निधनपछि ०७२ सालमा नेपाली कांग्रेसको कार्यबहाक सभापति बनेका थिए । पौडेल पछिका सिनियर प्रकाशमान सिंह हुन्, उनी ०६२ सालमा उपसभापति बनेका थिए । प्रकाशमान पछि मात्रै विमलेन्द्र निधि हुन् । को व्यक्ति माथिल्लो पदमा पहिले पुग्यो ? भन्ने मापदण्डका आधारमा हेर्ने हो भने सभापतिका आकांक्षीहरूमध्ये डा. शशांक कोइराला र डा. शेखर कोइराला सबैभन्दा जुनियर हुन् ।
नेपाली कांग्रेसमा देखिएका समस्याहरू मध्ये एउटा समस्या हो, ‘राजनीतिक भूमिका, त्याग र क्षमताका आधारमा भन्दा पनि कसले पहिले माथिल्लो पद पड्कायो ? भन्ने आधारमा सिनियारिटीको निर्धारण गरिनु ।’ जसका कारण त्याग गर्नेहरू सधँै जुनियर भइरहने परिपाटी बस्यो । जो पदलोलुप छ, पाएसम्म कुनै पद छाड्दैन, पदका लागि मरिहत्ते गर्छ, ऊ सिनियर हुँदै जाने, जो पदलोलुप छैन, जसले अरूका लागि त्याग गर्छ ऊ जुनियर हुँदै जाने परिपाटी नेपाली कांग्रेसमा बसेको छ । यो परिपाटीको चेपेटाका कोइराला परिवारका तेस्रो पुस्ताका नेताहरू डा.शशांक कोइराला र डा.शेखर कोइराला परेका छन् ।
यस सन्दर्भमा छोटो चर्चा डा.शशांक कोइरालाको नै गरौँ । शशांकले चाहेको भए कृष्णप्रसाद भट्टराई नेतृत्वमा बनेको ०४७ सालको अन्तरिम सरकारमै मन्त्री बन्न सक्थे । स्वास्थ्य मन्त्रीका लागि उनलाई अफर पनि गरिएको हो । तर, त्यतिबेला रामचन्द्र पौडेलको त मन्त्रीका लागि कुनै चर्चासम्म थिएन । शेरबहादुर देउवा त आन्दोलनमै थिएनन् । ०४६ सालको जनआन्दोलनका बेला देउवा वैदेशिक रोजगारीका लागि बेलायतमा थिए ।
यतिबेला नेपाली कांग्रेसको माथिल्लो तहमा हावी भएको र नेतृत्वका लागि प्रतिस्पर्धा गरेको पुस्ता भनेको पञ्चायती व्यवस्था समाप्तीका लागि सक्रिय भएको पुस्ता हो । पञ्चायती व्यवस्था सुरु हुनुभन्दा अघि राजनीतिमा सक्रिय भएको पुस्ताका नेताहरू प्रायः सबै दिवंगत भइसकेका छन् । पञ्चायति व्यवस्था सुरु भए पछिको पुस्ताका नेताहरूको योगदान तथा जनअपेक्षाको हिसाबले को सिनियर को जुनियर ? भन्ने खुट्याउने आधार भनेको जनआन्दोलन ०४६ नै हो । ०४६ फागुन ७ देखि सुरु भएको जनआन्दोलन एक महिना बित्दानबित्दै चैतको पहिलो सातासम्ममा करिबकरिब सिथिल भइसकेको थियो । आन्दोलन स्थगित गर्नुपर्ने विषयमा चर्चा चल्न थालेकै बेला चिकित्सकहरूले विद्रोह गरे । यो विद्रोको नेतृत्व डा.शशांक कोइरालाले गरेका थिए । जनआन्दोलनका घाइतेहरूको उपचारका लागि छुट्टै शिविर सञ्चालन गरेर चिकित्सकहरू विद्रोहका उत्रेपछि जनआन्दोलनले विश्वव्यापी चर्चा पायो । आन्दोलनकारीको मनोबल एक्कासि बढ्यो । चिकित्सकहरूले विद्रोह गरेको १५ दिन बित्दानबित्दै आन्दोलनले निर्णायक मोड लियो । यस हिसाबले त्यतिबेला डा.शशांक कोइराला सर्वोच्च कमान्डर गणेशमान सिंह पछिको दोस्रो हिरो थिए ।
०४६ सालको आन्दोलन सफल भए पनि काठमाडौंको खुलामञ्चमा आयोजित पहिलो संयुक्त आमसभामा नेपाली कांग्रेसका तर्फबाट तीन जना वक्ता थिए, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला र डा.शशांक कोइराला । आमसभाममा गिरिजाप्रसाद कोइरालाले ‘प्रजातन्त्र प्राप्ति हुनु भनेको सबै नेपालीको जीत हो, पञ्चहरूले पनि यसलाई जितको रूपमा लिनुपर्छ’ भनेपछि धेरै ठूलो हंगामा भयो । पञ्चहरूले दिएको याताना आलै रहेका कारण गिरिजाप्रसाद माथि हुटिङ हुन थाल्यो । उनले थप बोल्न त पाएनन् नै, हुटिङ साम्य गर्न पनि हम्मेहम्मे प¥यो । त्यसपछि गणेशमान सिंह आफैं माइकको अघि उभिएर अनुरोध गरे । हुटिङ केही मत्थर भयो, तर पूरै साम्य भएन । त्यसपछि उद्घोषकले भने, ‘साथीहरू बिपीपुत्र डा.शशांक कोइरालाले पनि बोल्दै हुनुहुन्छ, कृपया धैर्य गर्नोस् ।’ डा.शशांकको नाम लिनासाथ त्यत्रो भिडसमेत पिन खसेको आवाज सुनिएला जस्तो गरी चुपचाप बस्यो । शशांकलाई हेर्न र उनको भनाइ सुन्न साँझसम्म नै त्यत्रोमास चुप चाप बस्यो । त्यतिबेला शशांकले भाषणको औपचारिकता पूरा गर्न सकेनन् । उनले जनआन्दोलनमा दिवंगत भएकाहरूको फोटोतर्फ देखाएर भक्कानिँदै भने, ‘बास्तवमा बिपीका पुत्र भनेका त उहाँहरू हुनुहुन्छ, म त शशांक मात्रै हुँ ।’ त्यतिबेला देउवा त विदेशमा थिए, तर स्वदेशमै रहेका रामचन्द्र पौडेल र सुशील कोइरालाले त्यो आमसभामा मञ्च किन पाएनन् ? शशांकले किन पाए त ? किनकी जनआन्दोलन ०४६ मा शशांकको योगदान र भूमिका नेता त्रय (सिंह, भट्टराई र कोइराला) पछि मुख्य थियो ।
बास्तवमा त्यतिबेला आपूmलाई प्रधानमन्त्री बन्नका लागि आएको अफर त्याग गर्दै कृष्णप्रसाद भट्टराईको नाम दिएका कारण गणेशमान सिंहको त्यागलाई अमर मानिएको हो । त्यतिबेला बाम घटकका नेता तथा नागरिक समाजले समेत शशांकलाई स्वास्थ्यमन्त्रीका लागि अफर गरेको थियो, तर उनले म होइन डा.मथुरा श्रेष्ठलाई बनाउनुपर्छ भन्ने प्रस्ताव राखे । आफूले चिकित्सा पेसालाई नै सक्रियताका साथ निरन्तरता दिए । शशांकले त्यतिबेला मन्त्री बन्न इच्छा राख्दै अरूका निम्ति त्याग नदेखाएको भए उनलाई गिरिजाप्रसाद कोइरालापछि प्रधानमन्त्री बन्न र पार्टी सभापति बन्न कुनै शक्तिले रोक्न सक्दैनथ्यो । देउवा र सुशील कोइरालाभन्दा पहिले नै शशांक कांग्रेसको सभापति र मुलुकको प्रधानमन्त्री बनिसक्ने थिए । तर, उनले त्याग गरे । तर, त्याग गरेकै कारण शशांक जुनियर र पद पड्काएकै कारण आफू सिनियर हुँ भनेर कांग्रेसका अरू नेताहरूले भन्नु धृष्टता मात्रै हो । अरूका निम्ति गरेको त्यागलाई कमजोरी ठान्नु हुन्न । कृष्णप्रसाद भट्टराई तथा गिरिजाप्रसाद कोइराला पटकपटक पार्टी सभापति र प्रधानमन्त्री बने । गणेशमान सिंह न पार्टी सभापति बने त प्रधानमन्त्री । तर कोइराला र भट्टराईले ‘गणेशमान सिंहभन्दा म सिनियर’ भन्ने धृष्टता कहिल्यै गरेनन् ।
०४७ सालको अन्तरिम सरकारका बेला स्वास्थ्यमन्त्रीका लागि आएको अफर शशांकले त्यागेको कुरा त धेरैले बिर्सिसकेका छन् । दोस्रो जनआन्दोलन ०६२/६३ पछिको कुरा गरौँ । त्यस यता भएका तीन वटै आमनिर्वाचनमा आफ्नो जन्मस्थल तथा कर्मस्थलभन्दा धेरै टाढाको निर्वाचन क्षेत्र नवलपरासीबाट डा.शशांकले निरन्तर चुनाव जित्दै आएका छन् । त्यस यता नेपाली कांग्रेसको संलग्नतामा सरकार बन्दै गर्दा हरेकपटक शशांकलाई उपप्रधानमन्त्री बन्नका लागि आग्रह गरिँदै आएको छ, तर उनले त्याग गर्दै आएका छन् । त्यसैले शशांकभन्दा म पहिले उपप्रधानमन्त्री बनेको भन्दै सभापति पदको उम्मेदवारीका लागि नम्बर जोड्न खोज्नेहरू मुर्ख हुन् । शशांकले त्याग गरेकैले आफूले उपप्रधानमन्त्री बन्ने मौका पाएको हुँ भन्ने यथार्थता भुल्नेहरूले कांग्रेस हाँक्न सक्दैनन् ।
शशांकभन्दा सिनियर दावी गर्ने रामचन्द्र पौडेल त पदका लागि यतिसम्म गिरेको देखियो कि नेपालको राजनीतिमा यस्तापात्रहरू कमै छन् । गैरराजनीतिक पद सभामुख बन्नका लागि पार्टीसँग सम्बन्ध विच्छेद गर्न तयार हुने, सभामुख भइसकेको व्यक्ति उपप्रधानमन्त्री बन्न तयार हुने, उपप्रधानमन्त्री भइसकेको व्यक्ति मन्त्री बन्न तयार हुने सम्मको अवस्था देखियो । पदका लागि जतिसुकै तल गिर्न तयार हुने व्यक्तिले नेपाली कांग्रेस कसरी हाँक्ला ? भन्ने प्रश्न उठ्दा पौडेलले चित्त दुखाउने ठाउँ छैन ।
शशांकभन्दा पौडेल पहिले नै उपसभापति भइसकेको कुरा पक्कै हो । केन्द्रीय सदस्यबाहेक सबै पद पौडेलले निर्वाचनद्वारा प्राप्त गरेका होइनन्, सभापतिले मनोनीत गरिदिएका कारण प्राप्त गरेका हुन् । निर्वाचनद्वारा केन्द्रीय सदस्य बन्ने मामिलामा पौडेलभन्दा शशांक १० वर्ष मात्रै पछि छन् । उनी चुनाव हारेका कारण पछि भएका होइनन्, त्याग गरकै कारण हो । जहाँसम्म मनोनीत केन्द्रीय सदस्य, मन्त्री, उपप्रधानमन्त्री र फेरी मन्त्री बन्ने कुरा हो, त्यसमा शशांकभन्दा पौडेल धेरै अघि छन् । शशांकले त्याग गरेको भएर नै पौडेल अघि भएका हुन् । त्यागलाई कमजोरी ठान्नेहरूले कांग्रेस पार्टीको सभापति बन्ने आकांक्षा नराखेकै राम्रो । महाधिवेशन प्रतिनिधिहरूले मज्जाले हिसाबकिताब गरेर बसकै छन् । गत महाधिवेशनका क्रममा पनि सभापतिका उम्मेदवार पौडेलले भन्दा महामन्त्रीका उम्मेदवार शशांकले निकै धेरै भोट प्राप्त गरेकै हुन् । जबकी त्यतिबेला पौडेलका प्रतिस्पर्धी देउवा र सिटौलाभन्दा शशांकका प्रतिस्पर्धी अर्जुननरसिंह केसी र गगन थापा निकै जब्बर र लोकप्रिय ठानिन्थे । यति भन्दै गर्दा पञ्चायति व्यवस्थाका तीन दशकमध्ये करिव आधा अवधि पौडेलले जेलमै बिताएको कुरा बिर्सन मिल्दैन । बिपी कोइरालाको योगदानलाई लिखितरूपमा लिपिवद्ध गर्न पौडेलले पुर्याएको योगदानलाई पनि बिर्सन मिल्दैन । पदमा रहँदा पौडेलले अरू नेताहरूको जस्तो गतिछाडा भ्रष्टाचार नगरेको कुरा पनि बिर्सन मिल्दैन ।
प्रतिक्रिया