सौर्या सिमेन्टका चालकको शंकास्पद मृत्यु

सिरहा । सिरहाको मिर्चैयास्थित सौर्या सिमेन्ट फ्याक्ट्रीका एक सवारी चालकको शंकास्पद मृत्यु भएको छ । मिर्चैया नगरपालिका –२ मा रहेको सौर्या सिमेन्ट उद्योग हाताभित्र बुधबार अपराह्न गर्मीको समयमा ट्रकको तल सुतिरहेको अवस्थामा चालक मिर्चैया – ३ का २४ वर्षीय सन्तोष उराउको ट्रकले किचेर मृत्यु भएको भनिए पनि परिवारले हत्या भएको आरोप लगाएका छन् ।

गर्मी छल्न ट्रक तल सुतिरहेका बेला ट्रक चलाएपछि किचिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले बताए । अरुले चलाउने ट्रकको तल गर्मी छल्न सुतिरहेको बेला चालकले ट्रक चलाएपछि किचेर घाइते भएपछि उपचारको क्रममा स्थानीय मंगलम हेल्थ केयर सेन्टरमा मृत्यु भएको डिएसपी श्रेष्ठको भनाइ छ । प्रहरीले घटनामा संलग्न चालक र ट्रकको विवरण खोजीकार्य भइरहेको जनाएको छ ।

मंगलम अस्पतालका सञ्चालक चन्देश्वर साहकै ट्रकले किचेर घाइते भएकाले अस्पतालले नियतवश आफ्नो भतिजाको हत्या गरेको मृतकका काकी सूफलदेवी उराउले आरोप लगाइन् ।

परिवारले उपचारमा धेरै खर्च लाग्न सक्ने डरका कारण हत्या गरेको आरोप लगाएका छन् । मृतक चालक दुई महिनाअघिदेखि उनकै अर्को ट्रक चलाउँदै आएका थिए ।

सन्तोषका परिवारले छातीमा टायरको डाम देखिए पनि पिडुँलामा धारिलो हतियारले काटिएको जस्तो देखिएको भन्दै घटना रहस्यमय भएको बताएको छ ।

अस्पतालमा ल्याइसकेपछि कुन कुन औषधि चलाए, कुन चिकित्सकले उपचार गरेको हो सोको लिखित जानकारी नदिएसम्म शव बाहिर निकाल्न नदिने भन्दै आफन्तहरू अस्पताल अगाडि धर्ना बसेका छन् । अस्पतालले घटनाबारे अझै आधिकारीक जानकारी गराएको छैन । शव पोष्टमार्टमका लागि लहान पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया