मकवानपुरबाट पचास भारतीय गाडी फिर्ता

हेटौंडा, ११ असोज । नेकपा–माओवादीका कार्यकर्ताले मकवानपुर जिल्ला प्रवेश गरेका भारतीय नम्वर प्लेटका सवारी साधनलाई फिर्ता पठाएका छन् ।
वीरगञ्ज भन्सार हुँदै नेपालका बिभिन्न भागमा जान हिडेका सवारी साधनलाई नेकपा–माओवादीका कार्यकर्ताले पूर्व पश्चिम महेन्द्र राजमार्गको हेटौंडा–९, पशुपतिनगरमा रोकेर फिर्ता पठाउने गरेका हुन् ।
सडकमा जम्मा भएका कार्यकर्ताले नेपाल प्रवेश गर्ने अस्थाई नम्वर प्लेटसहित आएका भारतीय सवारी साधनलाई पनि फिर्ता पठाई दिएको नेकपा–माओवादी मकवानपुरका सेक्रेटरी ईन्द्रबहादुर परियारले जानकारी दिए । परियारका अनुसार आज मात्रै मकवानपुरमा करिब ५० सवारी साधनलाई फिर्ता पठाईएको छ ।
खाना पकाउन एलपी ग्याँस तथा अन्य सामान लिएर आएका भारतीय नम्वर प्लेटका सवारीलाई नेकपा–माओवादीका कार्यकर्ताले अस्थायी नम्वर लिन पठाएका छन् । भारतीय नम्वर प्लेटका सवारी साधन निर्वाध नेपाल प्रवेश गर्न थाले पछि नेकपा–माओवादीले अनिर्वाय रुपमा अनुमति लिएर आउन माग गरेर आन्दोलन शुरु गरेको हो ।
उनीहरुले मकवानपुरमा सञ्चालीत केवल टेलिभिजनलाई पनि भारतीय भाषाका च्यानल बन्दगर्न समेत आग्रह गरेका छन् । नेकपा–माओवादीले पत्राचार गरेर चुरीयामाई र स्पेस केवललाई भारतीय च्यानलको प्रशारण रोक्न आग्रह गरेको छ ।

प्रतिक्रिया