सीतापुरका महिला आत्मनिर्भर बन्दै

नेपालगन्ज, १० असोज । चाउमिन र सस उत्पादन गरेर बाँके सीतापुर–२ का महिला आत्मनिर्भर बन्न थालेका छन् । चाउमिन र सस उत्पादन गरेर बिक्री गर्न थालेपछि उनीहरूलाई पैसाको अभाव झेल्नु परेको छैन । नुनतेल किन्नदेखि छोराछोरीको पढाइ खर्च उनीहरूले सहजै जुटाइरहेका छन् ।
बाँकेमा सञ्चालित लद्युउद्यमी विकास कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगपछि यहाँका महिलाले गत वर्ष पुसदेखि चाउमिन र सस उत्पादन सुरु गरेका हुन् । अहिले दैनिक चालीस केजी चाउमिन बिक्री गरिरहेको खाद्य उद्योगकी सदस्य बिमला बिकले बताइन् । उनका अनुसार गाउँघरकै होटल र घरमा यस्ता चाउमिन बिक्री भइहरेको छ ।
आफ्नो उत्पादन खरिद गरी व्यवसाय प्रवद्र्धनमा सहयोग गर्न नेपालगन्जका होटल तथा रेस्टुराँ व्यवसायीले आग्रहसमेत गरेका छन् । होटल र रेस्टुराँ व्यवसायीले आफूहरूको उत्पादन खरिद गरे व्यवसाय फस्टाउने उनीहरूको आशा छ । आफूले उत्पादन गरेको चाउमिन र सस अहिले ग्रामीण क्षेत्रकै होटल र घरमा बिक्री भइरहेको विक बताउँछिन् । ‘नेपालगन्जका होटल र रेस्टुराँमध्ये २० प्रतिशतले मात्र स्थनीय स्तरमा उत्पादित चाउमिन र सस किन्ने गरेका छन,’ स्थानीय लालमती सुनारले भनिन् ।
नेपालगन्जदेखि करिब चार किलोमिटर टाडा रहेको गाउँमा स्थानीय छजना महिला मिलेर सञ्चालनमा ल्याएको सिर्जनशील खाद्यउद्योगमार्फत उनीहरूले चाउमिन र सस उत्पादन गरिरहेका छन् । लघुउद्यमी विकास कार्यक्रमको सहयोग र जिल्ला लद्युउद्यमी समूह संघको समन्वयमा उनीहरूले उद्योग सञ्चालन गरिरहेका छन् ।
नेपालगन्जमा अहिले दैनिक ८ केजी मात्र चाउमिन बिक्री भइरहेको खाद्य उद्योगकी अर्की सदस्य तुलसी सुनुवारले बताइन् । उनले भनिन, ‘हाम्रो सस र चाउमिन खाइरहेकाले राम्रो भनेका छन् । बिक्री गरेको ठाउँबाट कहिल्यै फर्काउनु परेको छैन ।’ खाद्यउद्योग सञ्चालन गर्नुअघि महिलाहरू चुलोचौकोमै व्यस्त हुने गरेकामा अहिले घरेलु उद्योगमा काम गर्न थालेपछि पैसाको अभाव कम हुन थालेको ती महिला बताउँछन् ।
खाद्यउद्योग चलाइरहेका महिला सबै उमेरले ५० भन्दा माथिका छन् । ती महिलाले मासिक एक हजार पाँच सय दिएर एकजना बजार सहायक पनि राखेका छन् । होटल र रेस्टुराँले भन्नेबित्तिकै सस र चाउमिन पठाउने गरेको तुलसाले बताइन् । चाउमिन र सस उत्पादन गर्न सिकाई महिलालाई आत्मनिर्भर बनाउन सहयोग गर्ने लद्युउद्यमी विकास कार्यक्रम बाँकेका कार्यक्रम संयोजक शालिग्राम डाँगीले महिला उद्यमीको उत्पादन होटल र रेस्टुराँले खरिद गरिदिए धेरै राम्रो हुने बताइन् । अब बजार विस्तार र प्रवद्र्धनमा उनीहरूले सहयोग पुर्‍याउनु पर्ने जिम्मेवारी आएको पनि डाँगी बताउँछिन् ।

प्रतिक्रिया