अपरेसन’पछि अपराध घट्यो

काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंले ‘सिल एन्ड सर्च’ अपरेसन सुरु गरेपछि उपत्यकामा अपराध घटेको छ । अपरेसनपछि गत वर्षको तुलनामा २३ प्रतिशतले घटेको हो ।
परिसरले राजधानीमा अपरेसन सुरु गरेयता संकलन गरेको अपराध तथ्यांकले २३ प्रतिशतले अपराध घटेको परिसरले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडांै र परिसरको संयुक्त प्रयासमा गत १ भदौबाट राजधानीमा अपरेसन सुरु गरिएको थियो । अपरेसन गरेपछि १ भदौदेखि १ असोजसम्म राजधानीमा तीन सय ११ वटा अपराधका घटना भए । अघिल्लो वर्षको त्यही महिनामा राजधानीभित्र चार सय ७ वटा अपराधका घटना भएका थिए । गत वर्ष र अहिलेको अपराध तथ्यांकलाई तुलना गर्दा यो संख्या ९६ ले कमी छ ।
तथ्यांकअनुसार जघन्य प्रकृतिका अपराध गत वर्षको महिनामा भन्दा कम भएका छन् । यस्तै, ज्यान मार्ने उद्योग, खुन डाँका, चोरी, ठगी, सार्वजनिक अपराधलगायत घटनामा पनि कमी आएको छ । तर, मोटरसाइकल चोरी, साइबर अपराध, जबर्जस्ती करणी, मानव बेचबिखन, शैक्षिक अपराधका घटना भने विगतका वर्षमा भन्दा बढेको छ । परिसर प्रमुख एसएसपी जयबहादुर चन्दका अनुसार ‘पुलिस एक्टिभ’ र ‘क्रिमिलन प्यासिभ’ भएका कारण अपराध संख्या घटेको हो । उनले भने, ‘अपरेसनअन्तर्गत अहिले राजधानीभित्र दैनिक चेक जाँचका कार्य भइरहेका छन्, चेकजाँचका क्रममा भेटिएका चक्कुसम्म पनि बरामद गरका छौँ, तैपनि अपराधको संख्या घट्नुमा ‘पुलिस एक्टिभ’ र ‘क्रिमिलन प्यासिभ’ का कारण हो ।’ परिसरले एक महिनादेखि राजधानीलाई विभिन्न भागमा विभाजन गरी नियमित रूपमा अपरेसन सञ्चालन गर्दै आएको छ । (सौस)

प्रतिक्रिया