काभ्रे प्रहरीको १६ वटा आफ्नै भवन

काभ्रे । जिल्लावासीहरुको शान्ति सुरक्षाको लागि रात दिन नभनि खटिरहने प्रहरीहरुको आवासको समस्या अब भने सल्टँदै जान थालेको छ । काभ्रे जिल्लाभर रहेका २१ वटा प्रहरी चोकीमध्ये अझै ५ वटामा आफ्नो भवन नै छैन ।

उनीहरू कोही व्यक्तिको घर भाडामा लिएर वा सामुदायीक भवनहरूमा बस्न बाध्य रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक (डिएसपी) हरि खतिवडाले बताए । जिल्लाको निकै संवेदनशिल क्षेत्र मानिएको ईलाका प्रहरी कार्यालय (क) वर्गको बनेपामा प्रहरीहरू बस्न सकस छ, केही तत्कालै पक्राउ गरिएका अभियुक्त राख्न समेत पर्याप्त ठाउँ छैन ।

भवनको लागी जग्गा प्राप्त भएको छ । भवन बन्ने प्रक्रियामा छ भने यस्तै राजधानी जाने मुख्य नाका साँगाको प्रहरी चौकी सडक विभागले सडक विस्तार गर्ने भन्दै भत्काईदिएपछि प्रहरीहरु पाटीमा केही वर्ष बसे र पुरानै भत्काइएको संरचना टालटुल गरि बसिरहेका छन् । त्यहाँ पनि भवन बन्ने प्रक्रियामा पुगेको खतिवडाले बताए । उनका अनुसार भकुण्डे र फलामेटारमा पनि चौकी निर्माणको प्रक्रियामा छ र निर्माणधिन भवन केही समयमा नै सकिने बताए ।

दुई दिनमा ४ प्रहरी चौकीको उद्घाटन

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको आर्थिक सहयोगमा नव निर्मित प्रहररी भवनहरु मध्ये ४ वटा प्रहरी ईकाईहरुको उद्घाटन दुई दिनमा गरिएको छ ।

चैत्र २६ र २७ गते आयोजित बिशेष कार्यक्रमका विच बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायव महानिरिक्षक बसन्तकुमार लामाको प्रमुख आतिथ्यमा उक्त भवनहरुको उद्घाटन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक हरि खतिवडाले बताए ।

उद्घाटन भएका प्रहरी ईकाईहरुमध्ये पाँचखाल नगरपालिका– १३ मा अवस्थित चौकीलाई २ करोड २६ लाख ६० हजार ९ सय ३९.०७ को लागतमा निर्मित भएको थियो भने प्रहरी चौकी तिमालबेशी, जिल्लाको दुर–दराज महाभारत गाउँपालिका वडा नं. ०४ मा अवस्थित नवनिर्मित प्रहरी चौकीको लागत २ करोड २८ लाख ३१ हजार सात सय २८.८७ रुपैयाँको लागतमा निर्मित प्रहरी चौकी फोक्सिङ्गटार, र सोही गाउँपालिकाको वडा नं. १ मा अवस्थित भवन पनि २ करोड ३४ लाख २४ हजार ९ सय ३३.६२ को लागतमा निर्मित ईलाका प्रहरी कार्यालय गोकुले र खानीखोला गाउँपालिका– ५ मा अवस्थित मु.अ.कर सहित रु. २ करोड २२ लाख ३७ हजार सात सय ८६.१३ को लागतमा निर्मित प्रहरी चौकी तालढुङ्गा रहेको बताइएको छ ।

यी सबै भवनहरुको ०७६ साल जेष्ठ १७ गते सम्झौता भई निमार्ण भएका ६ वटा प्रहरी ईकाईहरु मध्ये प्रहरी चौकी फलाटेको गत मंसिर १४ गते समुदघाटन सम्पन्न भइसकेको छ भने बिकट भौगोलिक बनावटका कारण प्रहरी चौकी फलामेटारको निमार्ण कार्य अन्तिम चरणमा रहेको छ ।

कार्यक्रममा बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय शान्ति सुरक्षा शाखा प्रमुख ज्ञानदिप राईले प्रहरीलाई क्रमश आधुनिकिकरण गर्दै जाने योजना अनुरुप पहिलो चरणमा यी ६ वटा प्रहरी ईकाई मध्ये ५ वटा समुदघाटन सम्पन्न भएको, दोश्रो चरणमा २ वटा ईलाका प्रहरी कार्यालय देबिटार र ईलाका प्रहरी कार्यालय बनेपाको भवनहरु निमार्णाधिन रहेको तथा तेस्रो चरणका लागि प्रहरी चौकी साँगा तथा प्रहरी चौकी भकुण्डेबेशीको टेण्डर प्रक्रियामा रही तुरुन्न निर्माण प्रारम्भ हुने चरणमा रहेको बताएका हुन् ।

सोही अवसरमा निर्माण सम्पन्न भएका प्रहरी ईकाईहरुको लागि निःशुल्क रुपमा जग्गा प्रदान गर्नुहुने जग्गादाताहरुलाई दोसल्लासहित कदर पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा सम्बन्धित पालिकाका प्रमूखहरु जनप्रतिनिधीहरु, बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय शान्ति सुरक्षा शाखा प्रमुख,जिल्ला स्थित सुरक्षा निकायका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनैतिक दलका स्थानिय प्रतिनिधि, नागरिक समाजतथा स्थानियहरु समेतको उपस्थितीमा उद्घाटन गरिएको छ ।

अझै पनि प्रहरीको केही चौकीहरु कुनै ठाउँमा अस्थाई रुपमा गाउँपालिकाहरूले बस्ने व्यवस्था गरेको छ । केही अझै व्यक्तिको घर भाडामा लिएर प्रहरी चौकी सञ्चलनमा रहँदै आएको छ ।

यस्तै अहिले स्थानिय तहका केन्द्रहरूमा सुरक्षा अवस्थालाई ध्यानमा राख्दै केही अस्थाई प्रहरी पोष्ट को स्थापना भए पनि भवन छैन । काभ्रेको तेमाल नारायण स्थान, काभ्रे भञ्जयाङ,प्रहरी चौकी ढाँडखर्क, भट्टेडाँडा लगायतमा अस्थाई प्रहरी पोष्ट स्थापना भए पनि भवन छैन ।

प्रतिक्रिया