काठमाडौँ । गत १५ चैतमा राजावादीहरूको हिंसात्मक प्रदर्शनको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ५७ दिनमा अनुसन्धान सकेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको हो ।
समय अभावका कारण उक्त प्रतिवेदन आइतबारमात्रै दर्ता गर्ने तयारी रहेको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । उक्त घटनामा १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने राय प्रहरीको छ । पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राजद्रोहको कसुर, आपराधिक उपद्रव, संगठित अपराधलगायत मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित ८ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाउनुपर्ने राय प्रहरीको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रसाईंलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राजद्रोह, आपराधिक उपद्रव तथा संगठित अपराधसम्बन्धी ५ वटा कसुरमा मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ ।
त्यस्तै, आगजनीमा संलग्न रामेछापका सरोज गौतम र अछाममा गोकर्ण शाहीलाई पनि हत्या मुद्दामा अभियोजन गर्नुपर्ने प्रहरीको राय छ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई राजद्रोह र आपराधिक उपद्रवमा मुद्दा चलाउन राय दिइएको छ ।
तिनकुने घटनामा राप्रपका उपाध्यक्ष मिश्र, राप्रपाकै महामन्त्री तथा सांसद राणा तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत प्रतिवादी छन् । गत चैत १५ गते नवराज सुवेदीको नेतृत्वमा गठित संयुक्त जनआन्दोलन परिचालन समितिले काठमाडौँको तिनकुनेमा प्रदर्शन गरेको थियो । उक्त समितिले आन्दोलनको मुख्य कमान्डर दुर्गा प्रसाईँलाई बनाएको थियो । घटनापछि फरार भएका प्रसाईंलाई भारतबाट पक्राउ गरेर ल्याइएको थियो ।
आन्दोलनका क्रममा ५५ जना नेपाल प्रहरी, ५४ जना प्रदर्शनकारी र २५ जना सशस्त्र प्रहरी घाइते भएका थिए । साथै २ जनाको मृत्युसमेत भएको थियो । प्रदर्शनका क्रममा १८ वटा भवनमा तोडफोड, १२ वटा भवनमा आगजनी र ३९ वटा सवारीसाधनमा आगजनी भएको थियो । उक्त घटनापछि प्रहरीले १८६ जनालाई पक्राउ गरेको थियो । जसमध्ये ९६ जना केही दिनमै रिहा भएका थिए । प्रहरीले ३७ जनालाई हाजिरी जमानीमा छाडेको छ ।
प्रहरीको हिरासतमा अहिले ५३ जना छन् भने ९ जना फरार छन् । राप्रपाका मिश्र सर्वोच्च अदालतको आदेशमा र जबरालाई उपचार गर्ने सर्तमा रिहा गरिएको छ । साथै, भाटभटेनी लुटपाटमा संलग्न केहीलाई भने हाजिरी जमानीमा हिरासत बाहिरै राखेर अनुसन्धान गरिएको छ ।
१५ जेठमा सुरक्षा व्यवस्था कडा
१५ जेठमा गणतन्त्र दिवसकै दिनदेखि राजसंस्था पुनस्र्थापनाका लागि भन्दै जनआन्दोलन घोषणा गरिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले राजसंस्था पुनस्र्थापनाका लागि अनिश्चितकालीन आन्दोलन घोषणा गरेको छ । यसतर्फ सचेत हुँदै प्रशासनले उच्च सतर्कता अपनाएको हो ।
१५ चैतमा जस्तो हिंसात्मक घटना हुन नदिन सुरक्षा निकायहरूले आवश्यक सतर्कता र तयारी गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले बताए । ‘अराजक गतिविधि हुन दिइनेछैन । सम्भावित चुनौती आकलन गर्दै आवश्यक सुरक्षा तयारी गरिएको छ । सुरक्षा व्यवस्था कडा हुन्छ,’ उनले भने ।
प्रतिक्रिया