घिमिरे र लावती पुरस्कृत

इलाम । पत्रकारिता क्षेत्रमा योगदान दिएको भन्दै पत्रकारद्वय गणेश घिमिरे र सुमन लावती पुरस्कृत हुने भएका छन् । ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ २०७७ र २०७८ घिमिरे र लावतीलाई प्रदान गरिन लागिएको हो । नेपाल पत्रकार महासंघ इलाम शाखाका नवनिर्वाचित अध्यक्ष विप्लव भट्टराईको अध्यक्षतामा बसेको पहिलो बैठकले प्रत्येक नयाँ वर्ष प्रदान गरिँदै आएको १० हजार राशीकोे उक्त पुरस्कार घिमिरे र लावतीलाई प्रदान गर्ने निर्णय गरेको हो ।

साविक मेचीका ४ जिल्लालाई कार्यक्षेत्र बनाएर क्रियाशील पत्रकारलाई प्रदान गर्ने गरी इलामका पत्रकारले स्थापना गरेको सो पुरस्कार यसअघिको कार्यसमितिले गत १० माघको साधारण सभामा नै वितरण गर्ने निर्णय गरे पनि अन्तिम समयमा स्थगित गरिएको घिमिरेलाई र यसपटकको लावतीलाई गरी दुवैजनालाई नयाँ वर्षको अवसरमा प्रदान गरिने जनाइएको छ ।

डेढ दशकदेखि पत्रकारितामा क्रियाशील घिमिरे हाल नेपाल समाचारपत्र दैनिकका इलाम समाचारदाता एवं रेडियो नेपालवाणी एफएम इलामका समाचार सम्पादकसमेत हुन् । यस्तै विगत डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील लावती हाल ग्रामीण क्षेत्र इलामको माङसेबुङबाट प्रसारण भइरहेको रेडियो माङेबुङका स्टेसन प्रमुख हुन् ।

सेइङ बेलिपुञ्ज साहित्यिक पत्रिकाको सम्पादक भएर पत्रकारितामा प्रवेश गरेका लावती छहारा साहित्यिक पत्रिका, हाम्रो बुलन्द आवाज पाक्षिक पत्रिका, सनसाइस पोस्टमा आबद्ध हुँदै माङेन्ना मासिक पत्रिकाको सम्पादक भएरसमेत काम गरिसकेका छन् । उनी २०७२ सालदेखि रेडियो माङसेबुङको स्टेसन प्रमुखका रुपमा कार्यरत् छन् । उनी माङसेबुङ गाउँपालिका–५ का स्थायी बासिन्दा हुन् ।

यसपटक दुवै वर्षको पुरस्कार एकैदिन प्रदान गरिने महासंघले जनाएको छ । अघिल्लो नयाँ वर्षमा कोरोनाका कारण सो पुरस्कार प्रदान गरिएको थिएन । रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता आशिष राईको २०५९ साल नयाँ वर्षको दिन इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर निधन भएको थियो ।

सन्दकपुर गाउँपालिकाको सुलुबुङमा जन्मेका राईको मृत्युपछि इलामका सक्रिय पत्रकारले ‘आषिश स्मृति पत्रकारिता पुरस्कार’ कोष स्थापना गरी एक क्रियाशील पत्रकारलाई पुरस्कृत गर्दै आएका छन् । युवा पत्रकार स्व.आशिष राईको स्मृतिमा २०६० सालमा पुरस्कार कोष स्थापना गरिएको थियो ।

सो पुरस्कारबाट यसअघि इलामका पत्रकार बेनुप भट्टराई, राजु शिवा, तोयानाथ भट्टराई, राजकुमार दाहाल, युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, भीम चापागाईं, नमीन ढकाल, पाँचथरका गणेश साङ्पाङ, झापाका मोहन काजी, रमेश समदर्शी, ताप्लेजुङका आनन्द गौतम, सीता निरौला, चन्द्र पन्दाक पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रिया