पथिकको ‘छुई’

काठमाडौं । साहित्यकार घनश्याम पथिकको नयाँ उपन्यास ‘छुई’ बजारमा आएको छ । अनामनगरस्थित ण्डला थिएटरमा शनिबार आयोजित कार्यक्रममा हाँस्यकलाकार मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र पूर्वमिस नेपाल शृंखला खतिवडाले उक्त उपन्यासको विमोचन गरे । कार्यक्रममा गजुरेलले खतिवडा र शर्मासँग ‘छुई संवाद’ गरेका थिए ।

नेपाली समाजमा युवती÷महिलामा हुने रजस्वलालाई लिएर उपन्यास लेखिएको छ । रजस्वलालाई हेर्ने र महिनावारी भएका युवती÷महिलालाई गर्ने व्यवहारलाई अनेक कोणबाट प्रस्तुत गरिएको वक्ताहरूको भनाइ थियो ।

नेपाली चलचित्रमा कथाको खडेरी परिरहेको बेला अभिनेत्री शर्माले ‘छुई’ उपन्यासमा केन्द्रित रहेर चलचित्र बनाउन सकिने धारणा व्यक्त गरिन् । त्यस्तै कार्यक्रममा खतिवडाले महिलाको कुरा एक पुरुष लेखकले अत्यन्तै मिहिन ढंगले प्रस्तुत गरेको बताइन् । गजुरेलले रजस्वलालाई केन्द्र बनाएर लेखिएको उपन्यासमा यसको पीडा र चलनलाई केलाउने कोशिस गरिएको बताए ।

साहित्यकार पथिकले सामाजिक विकृतिको उक्त पाटोका कारण नेपाली महिलाले खेप्नुपरेको तनावलाई उपन्यासमा चित्रण गरेको जिकिर गरे । यो समस्या आमसमस्या भएकाले यसमा सुधारको खाँचो रहेको उनको भनाइ थियो ।

सामाजिक, सांस्कृतिक तथा धार्मिक रुपमा रजस्वलाप्रतिको धारणा र त्यसले निम्त्याएको परिवेशलाई उपन्यासमा प्रस्तुत गरिएको पथिकले बताए । पथिकको यसअघि ‘युनिका’ उपन्यास बजारमा आइसकेको छ । शिखा बुक्सले प्रकाशन गरेको ‘छुई’ को मूल्य ४२५ रुपैयाँ छ ।

प्रतिक्रिया