खाँडाचक्रमा खानेपानीको समस्या टर्दै

कालिकोट । खाँडाचक्र नगरपालिकाले सुरक्षित खानेपानीयुक्त पालिका गर्ने तयारी गरेको छ । फिल्टर सहितको खानेपानीको धाराहरु प्रत्येक घरधुरीमा जडान गरी पालिका नै सुरक्षित खानेपानीयुक्त पालिका घोषणा गर्ने तयारी रहेको खाँडाचक्र नगरपालिका प्रमुख जसि प्रसाद पाण्डेले बताए ।

विभिन्न समस्याका बावजुत खानेपानीको चपेटामा परेको खाँडाचक्र नगरपालिकामा आर्थिक वर्ष २०७७–०७८ मा नगरपालिका भित्र रहेका सम्पूर्ण वडाहरुमा खानेपानीको सुविधा पुर्याएर कर्णाली प्रदेशकै दोस्रो सुरक्षित खानेपानी युक्त पालिका घोषणा गर्ने नगरप्रमुख पाण्डेले बताएका हुन । खाँडाचक्र नगरपालिका वडा नं. ७ पिलीका सम्पुर्ण घरधुरीमा फिल्टरसहितका धाराहरु जडानपछि वडालाई सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिसकेको छ ।

खाँडाचक्र नगरपालिका– ७ पिलीमा रहेको मेजरपाखा खानेपानी आयोजना र भेराखोला खानेपानी आयोजनाको काम सम्पन्न पश्चात वडा नं. ७ पिलीका नागरिकहरु खानेपानीको समस्याबाट मुक्त भएका छन् । ७१ लाख ५० हजार रुपैयाँको लगानीमा सम्पन्न भएका खानेपानीका दुर्इ बृहत आयोजनाको निर्माण कार्य सम्पन्न पश्चात गाउँमा पानी आएको हो ।

फर्न बोर्ड र मानवअधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटको सहयोग सहजिकरण एवं खाँडाचक्र नगरपालिकाको सहयोग समन्वयमा संचालित खानेपानी आयोजनाले खाँडाचक्र नगरपालिका वडा नं. ७ पिली, खाँडाचक्र नगरपालिका– ५ विहानी टोल र खाँडाचक्र नगरपालिका– ११ बरातुका बस्तीहरुमा फिल्टर सहितको खानेपानीका धारा जडान पछी नागरिकहरुले पानी खान कष्ट गर्नुपर्ने बाध्यता टरेको छ । सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्नका लागि सबै सुचकहरुपुरा गरेर वडा घोषणा भएका छन् ।

खाँडाचक्र नगरपालिका– ७ पिली निवासी जिनक बहादुर शाहीले परिवारलाई अहिले खानेपानीको लागि सहज बताए । सार्वजनिक धाराबाट घण्टौँ समय लगाएर खानेपानीको समस्या टार्नुपर्ने शाहीको परीवारले अहिले घरको आँगनमै खानेपानीको सुविधा पाएपछि हर्षित देखिएका छन् । गाउँको धारामा पानी लिन जाँदा खर्च हुने समय शाही परिवारले अन्य काममा लगाएका छन् ।

शाही मात्र नभइ वडा नं. ७ निवासी कलशा कामीले पनि हर्षित हुँदै भनिन्, ‘पहिला पानी लिन धारोमा जाँदा धेरै समय खर्चिनु पर्थ्यो, कामकाजका लागि समय हुँदैन थियो, अहिले घरमै धारा हुँदा सरफाई देखि लिएर धारामा बग्ने पानीले खेतियोग्य जमिन पनि भइरहेको छ ।’ उनका अनुसार घरछेउका बारीमा हरिया सागपात,फलफुल खेति पनि गर्ने सोच छ । यहाँका सम्पूर्ण नागरिकहरुले सजिलै खानेपानीको धारा पाउँदा स्थानीय सरकार आएको महसुस गरेका छन् ।

आफ्ना लागि तथा पशु चौपायाका लागि पानीको आवश्यकता पर्ने गरेको र उक्त पानीको जोहो गर्न धेरै समय लाग्ने पहिलाको समस्या सुनाउँदै अहिले भने आँगनमै धारा पुगेपछि पिठ्युमा डोको र गाग्री बोकेर पानी ल्याउनुपर्ने बाध्यता अन्त्य भएको स्थानीय गोर्ख कार्कीले बताए ।खाँडाचक्र नगरपालिका– ७ पिलीमा वि.स २०४५ सालमा विस्तार गरिएको पाईपलाईनबाट खानेपानीको समस्या टारिरहेका यहाँका नागरिकहरु खानेपानीको सुविधा हुँदा निकै हर्षित देखिएका छन् ।

युनिसेफ, फर्नबोर्ड र मानवअधिकार तथा वातावरण विकास केन्द (हुरेन्डेक) नेपालको सहयोगमा निर्माण भएका धाराहरुको काम दिगो टिकाउका हुने अनुगमन समितिले बताएको छ । खानेपानीको चपेटामा परेको खाँडाचक्र नगरपालिकाको सदमुकाम मान्म बजार क्षेत्रमै पानीको हहाकार छ ।

एक दिन आउने एक दिन नआउने पानीका कारण बजार क्षेत्रमा बसोवास गर्ने मानिसहरु तिलानदी, कर्णाली नदी र टाढाका धाराहरुमा गएर सरफाई गर्छन । खानेपानीको लागि पनि टाडाकै बाटो हिडेर पानी ल्याई खानुपर्ने बाध्यता सदमुकाम मान्ममा बसेका नागरिकहरुको पीडा छ । पालिका नै सुरक्षित युक्त खानेपानी पालिका घोषणा गर्ने तयारी भएपछि नागरिकहरुले विश्वास भने मानेका छैनन् । तर, आस भने मानिरहेका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया